बैशाख ०८, २०८१, शनिबार
               

गृहमा श्रेष्ठ, अर्थमा खड्का!

नेपाल फ्ल्यास
चैत १२, २०७९

ADVERTISEMENT

मन्त्रिपरिषद् विस्तारका लागि सत्ता गठबन्धनबीच घनिभूत छलफल चलिरहेको छ । 
सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्रले गृहमन्त्रालय नछाड्ने भएको छ । यता, अर्थमन्त्रालय भने कांग्रेसको भागमा पर्ने पक्कापक्की भएको छ । 

अहिलेसम्मको छलफलअनुसार गृहमा माओवादीबाट भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठलाई पठाइने भएको छ । 

यता, अर्थ मन्त्रालयमा भने कांग्रेसबाट सरकारको नेतृत्व गर्दै उपसभापति पूर्णबहादुर खड्का जाने सम्भावना बढी रहेको स्रोतहरूले जनाएका छन् । पदप्रति आशक्ति नदेखाउँदै आएका खड्का कांग्रेसभित्र स्वच्छ छवि भएका प्रभावशाली नेता हुन् । उनी सन्त नेता कृष्णप्रसाद भट्टराईको निष्ठाको राजनीतिबाट प्रभावित नेतासमेत हुन् ।

माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्डले चैत ६ मा विश्वासको मत लिएसँगै कांग्रेससहितका दललाई समेटेर मन्त्रिपरिषद् पुनर्गठन गर्न लागेका हुन् ।

१६ वटा मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीसँगै हुँदा सरकारको आलोचना तीव्र हुँदै गएको छ । 

गृहमा नेकपा एकीकृत समाजवादी पनि दाबी गरेको थियो । गठबन्धन दलमा मन्त्रालय संख्याको विषयमा मोटामोटी सहमति भइसकेको बताइएको छ ।

माओवादी र कांग्रेसको हिजो शनिबार बसेका आआफ्ना बैठकमा सोमबारभित्र मन्त्रिपरिषद् विस्तार गर्नेबारे छलफल भएको थियो । 

सत्ता गठबन्धनमा भएको पछिल्लो सहमति अनुसार कांग्रेसले ८ मन्त्रालय पाउने सहमति भएको छ भने माओवादीले ५ र जसपाका साथै नेकपा एकीकृत समाजवादीले २–२ वटा मन्त्रालय पाउने गरी छलफल अघि बढेको छ । 

साझेदार दलका अन्य साना दललाई १–१ मन्त्रालय दिने बताइएको छ । त्यसमा नेकपा एसलाई एक राज्यमन्त्री दिने सहमति बनेको पनि स्रोतको दाबी छ ।

 

यो पनि