मंसिर ०१, २०८१, शनिबार
               

मान्छे कसरी क्रुर, अपराधी बन्छ  ?

ADVERTISEMENT
  • सोमबार मध्यरात रुपन्देही तिलोत्तमा पाँच जनाको सामूहिक हत्या भयो । हत्या गर्ने सोही फार्मका कामदार सुर्खेतका झपेन्द्र सिजापति रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । स्थानीयका अनुसार सिजापति मानसिक सन्तुलन गुमाएका व्यक्ति हुन । 
  • गत साल जेठमा पाँचथरको मिक्लाजुङमा दुई परिवारको ९ जनाको सामूहिक हत्या भयो । घटनाका दोषी ठहरिएका 'नाताले ज्वाइँ पर्ने' व्यक्तिले करिब दुई वर्षदेखि मानसिक रोगविरुद्धको औषधि सेवन गर्दै आएका थिए । उनी मानसिक रूपमा असन्तुलित भएकै कारण सामूहिक हत्या गरेको पुष्टि भयो ।
  • संकटकालको समय २०६३ मंसिर २८ गते कालीदेवीको मन्दिरमा मेलामा जम्मा भएका सहभागीलाई नेपाली सेनाका सिपाही वसुदेवले व्यक्तिगत दुस्मनीको प्रतिशोधका कारण गोली चलाए । गोली चलाउँदा ११ जना मारिए र सिपाही आफैले आत्महत्या गरे । घटनामा अरू धेरै घाइते भए ।
  • यही जेठ १५ गते  मोरङको बेलबारीमा ३० वर्षीय जीवनबहादुर लिम्बू नाम गरेका व्यक्तिले आमा देवीकुमारी लिम्बूको हत्या गरे । आफूले पनि आफ्नो घाँटी आफैले रेटेर विभत्स तरिकाले आत्महत्या गरे । आफैले आफ्नै घाँटी रेटेर आत्महत्या गरेको सो भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।
  • रुपन्देहीको तिलोत्तमामा पाँच जनाको ज्यान जाने गरी सामूहिक हत्याको घटना सेलाउन नपाउँदै मङ्गलवार राती रुपन्देहीकै कञ्चन गाउँपालिका–१ कुचेरामा एक बाबुले छोराको हत्या गरे । 

मुलुकभर हिंसाका यस्तै कुरूप घटनाहरू भइरहेका छन् । कतै आफ्नै छोराले आफूलाई जन्म दिने आमाको हत्या गरेको छ, कतै सिङ्गो परिवारलाई नै सखाप पारिएको छ । कतै आफ्नै श्रीमतीको घाँटी रेटिएको छ । कतै आफ्नै बाबुको गर्दनमा खुकुरी बजारिएको छ । यी घटना हेर्दा लाग्छ,  हाम्रो समाज अत्यन्तै निर्दयी, क्रूर र हिंस्रक बन्दै गइरहेको छ ।

घटनाको प्रकृति हेर्दा लाग्छ, समाजमा केही मान्छे यस्ता हुँदा रहेछन् जसलाई अरूको हिंसा गर्न मन लाग्छ । उनीहरूलाइ अरूको विभत्स दृश्य हेर्दा रमाइलो लाग्छ । जसलाई अरूको क्रन्दन, पीडा, छटपटी, चिच्याहट मधुर लाग्छ । सामान्यतः मान्छेको स्वभाव हिंस्रक होइन । सोही कारण मानिस अरूको चोट, रगत र विभत्स दृश्य देख्न सक्दैन । मानिस अत्तालिन्छ, डराउँछ, तर, त्यही मान्छे किन निर्ममतापूर्वक कसैको हत्या गर्न उक्सिन्छ ?

किन कोही त्यस्तो कोही हुन्छ ?

कुनै पनि अपराधको मुख्य दोषी स्वयम् अपराधी हुन् । तर, उनी मात्र त्यसका भागिदार नभई उनको सिङ्गो समाज रहेको मनोविद्हरूको तर्क छ । मनोविद् गोपाल ढकाल भन्छन्, ‘मान्छेले चाहेर आफूलाई कलंकित बनाउँदैन । मान्छेले चाहेर आफूलाई अपराधी बनाउँदैन । तर, कहिलेकाहीँ त्यस्तै परिस्थितिको निर्माण हुन्छ, जसले उसलाई अपराध कर्ममा उक्साउँछ ।’

रुपन्देही सामूहिक हत्या प्रकरणमा गाई फार्मका कामदार सुर्खेतका झपेन्द्र सिजापति रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । उनी हत्यारा हुन सक्ने सङ्केत मिलिसकेको छ । यसबारे थप अनुसन्धान जारी छ । तर, उनी कसरी यो अवस्थासम्म आइपुगे ? किन उनले आफूलाई कलंकित बनाए ? किन उनले यत्राे जघन्य काण्ड मच्याए ?

मनोविद् गोपाल ढकालका अनुसार कुनै पनि मान्छे तब यतिका हिंस्रक हुन्छन्, जब उनमा बदलाको भावना जाग्छ । उनी भन्छन् ‘बदलाको भावना र रिसले मान्छेलाई डरलाग्दो बनाउँछ । क्षणिक आवेगमा पनि मान्छे यस्तो कु–कर्म गर्न तम्सन्छन् ।’

के सबै मानसिक रोगीले हत्या गर्छन् ?

कतिपय मानसिक स्वास्थ्य अवस्था ठिक नभएको अवस्थामा समाजमा कहिलेकाहीँ यस्ता दु:खद घटना हुन पुग्ने मनोविद् ढकाल बताउँछन् । ‘मानसिक रोगीहरू हिंसात्मक र डरलाग्दा हुन्छन् । उनीहरूलाई घर-परिवार, समाजबाट ढाटा राख्नु पर्छ वा बाँधेर राख्नु पर्छ’ भन्ने धारण आम मानिसमा पाइन्छ’ ढकाल भन्छन् ‘मानसिक सन्तुलन गुमाएको व्यक्तिले कसैको हत्या गर्‍यो रे भन्ने समाचार सुन्दा वा देख्दा मानसिक रोगी हिंसात्मक नै हुन्छन् भन्ने हामीलाई लाग्न पनि सक्छ । तर सबै मानसिक रोगी हिंसात्मक हुँदैनन् ।’

नरम खालको मानसिक समस्या भएका व्यक्तिले हत्या, हिंसा गर्ने सम्भावना हुँदैन । कडा खालको मानसिक रोग लाग्दा भने शङ्का, अत्यधिक आवेग, सोँचाईमा हुने मतिभ्रम (Delusion), हेराई, सुनाईमा हुने मित्थावास (Hallucination) का कारण अन्जानवस यदाकदा यस्ता घटना हुने गरेको मनोविद्हरूको (अध्ययनको) निष्कर्ष छ । जाँड-रक्सी तथा लागूपदार्थको दुर्व्यसनी, अन्य मानसिक रोगहरू- सिजोफ्रेनिया, मेनिया, अति रिस उठ्ने रोग, डिलेरियम, डिमेन्सिया जस्ता रोगमा बिरामी कहिलेकाहीँ आवेगमा आएर हिंसात्मक व्यवहार देखाउन सक्ने मनोविद् ढकालको भनाई  छ ।

‘उनीहरूबाट यस्तो घटना हुनुको पछाडि कसैलाई दु:ख दिन्छु, बदला लिन्छु भनेर जानीबुझी गरेका हुँदैनन् । उनीहरूमा यस्तो सोच्ने क्षमता पनि हुँदैन । यसको अपवाद असामाजिक व्यक्तित्व भएका (Psychopath) हरुमा भने बदलाको भावना हुन्छ, उनीहरू सोचविचार गरिकन अपराध गर्ने गर्दछन् । अपराध गरेकोमा उनीहरूलाई कुनै पछुतो पनि हुँदैन,’ मनोविद् ढकाल भन्छन् ।

मानसिक समस्यामा परेको व्यक्तिबाट कुनै किसिमको अप्रिय घटना नहोस् भनेर घर परिवारका सदस्यहरूले विशेष ध्यान पुर्याउनुर्छ । नत्र बिरामीले आफूलाई मात्र नभई  अरूलाई पनि खतरामा पार्न सक्ने मनोविदहरुको सुझाव छ ।

के अपराधी हुनु गर्भदोष हो ?

हाम्रो समाजमा घटनाका दोषी, आरोपितलाई थुक्ने गर्छौँ । तर, उसमा आपराधिक मनोवृत्ति कसरी पलायो ? उसले हत्याको बाटो किन रोज्यो ? किन उ हिंसा गर्न उक्सियाे ? त्यो जान्न कोही उत्सुक हुँदैन । कुनै पनि व्यक्ति जन्मजात अपराधी हुँदैन । कुनै पनि व्यक्तिले जीवनमा ‘अपराधी’को कलंक बोक्न पनि चाहँदैन ।

कुनै पनि व्यक्तिलाई अपराधी बन्ने रहर हुँदैन । तर नचाहेरै मान्छे हिंस्रक बन्छ, किन ? भनिन्छ, रुपन्देही घटनाका आरोपित ती व्यक्ति मानसिक रोगी पनि थिए । वितेको पाँच वर्षयता उनले मानसिक रोगकै औषधी सेवन गरिरहेका थिए ।

पछिल्लो समयमा समाजमा भएका केही हिंसात्मक घटनामा यो कुरामा समानता देखिएको छ । जसमध्ये अधिकांश घटनाका दोषी ‘मानसिक रोगी’ थिए भनिएका छन् । मानसिक रोगी भएकै कारण उनीहरू हिंसात्मक गतिविधिमा उत्रिएका हुन् ?

कुन किसिमको मानसिक रोग हुन्छ, जसले मान्छेलाई अरूको हत्या गर्न उक्साउँछ ?  मनोविज्ञले नै यसको जवाफ खोज्लान् । गाई फार्मका कामदार सुर्खेतका झपेन्द्र सिजापति मानसिक रोगी थिए । उनी के कारणले मानसिक रोगी भए ? उनमा कसरी मानसिक आघात पुग्यो ?

आध्यात्मिक भए अपराध कम

हाम्रो समाजमा हुने गरेका अपराधको  गहन अध्ययन हुन ढिला भइसकेको जीवन विकास विशेषज्ञ एलपी भानु शर्मा बताउँछन् । उनी भन्छन् ‘हरेक व्यक्ति आध्यात्मिक हुन आवश्यक छ । अध्यात्मले मानिस भित्र भएका गलत इच्छालाई सदाका लागि समाप्त गर्छ । दुरुपयोग बन्द गर्छ अध्यात्मले प्रेमपूर्ण बनाउन सिकाउँछ । आध्यात्मिक व्यक्तिले अरूको अहित कहिल्यै पनि चिताउँदैन ।’

पत्रकार पुडासैनी राजनीति एवं समसामयिक क्षेत्रमा कलम चलाउँछन् ।

कस्तो लाग्यो ?

यो पनि