बैशाख २७, २०८१, बिहीबार
               

जनसम्पर्क अस्ट्रेलियासँग काँग्रेसको अन्तर्क्रिया

नेपाल फ्ल्यास
बैशाख १६, २०७७

ADVERTISEMENT

सिड्नी । लाखभन्दा माथिको सङ्ख्यामा अस्ट्रेलियामा रहेका नेपालीहरूमा कोरोना भाइरसका कारण परेको प्रत्यक्ष-अप्रत्यक्ष प्रभावबारे नेपाली काँग्रेसले चासो व्यक्त गरेको छ ।

काँग्रेस जनसम्पर्क विभाग प्रमुख गोविन्द भट्टराईले अस्ट्रेलियामा रहेका आठ वटै राज्यका जनसम्पर्क समितिका अध्यक्षसहित विभिन्न सामाजिक व्यक्तित्वहरूसँग भिडियो अन्तर्क्रिया गरी त्यहाँको पछिल्लो अवस्थाबारे जानकारी लिएको सिड्नीबाट पत्रकार प्रकाश हुमागाईँले  जनाएका छन् ।

जनसम्पर्क समिति अस्ट्रेलिया एनएसडब्ल्यु राज्यका अध्यक्ष  इथान (थानु) शाक्यले संयोजन गरेको भेलामा एनआरएन अस्ट्रेलिया अध्यक्ष केशव कँडेल, नेपाल अस्ट्रेलिया प्रजातान्त्रिक मञ्च (एनएडिएफ) अध्यक्ष सुरेन्द्र सापकोटा, एनएडिएफका पूर्वअध्यक्ष विवेक थापा, एनआरएन ओसियाना पूर्व रिजनल कोडिनेटर महेन्द्र लम्साल र वर्तमान एनआरएन ओसियाना डेपुटी कोअर्डिनेटर नवीन कँडेल सहभागी भएका थिए । त्यसैगरी पत्रकार महासङ्घ अस्ट्रेलिया अध्यक्ष हेमन्त काफ्ले,  एनआरएन आइसीसी सदस्यद्वय नारायण काफ्ले  र दुर्गा आचार्य, नेपाली काँग्रेस महासमिति सदस्य कञ्चन पोख्रेललगायतका वक्ताहरूले कोरोनाविरुद्धको लडाइँमा एकजुट हुन आग्रह गरेका थिए ।

अन्तर्क्रियामा एनआरएनए अध्यक्ष कँडेलले पछिल्लो वस्तुस्थितिका बारेमा जानकारी दिनुका साथै जनसम्पर्क समिति अस्ट्रेलियाका सम्पूर्ण राज्य अध्यक्ष तथा प्रतिनिधिहरूले कोरोनाविरुद्धको लडाइँमा एनआरएन अस्ट्रेलियालाई सहयोग पुर्‍याएकोमा धन्यवाद दिएका थिए । अन्तर्क्रियामा एनएडिएफ अध्यक्ष सापकोटाले अप्ठेरो स्थितिमा रहेका नेपालीहरूको सहयोगका लागि एनएडिएफ सदा तत्पर रहेको बताए ।

त्यस्तै पत्रकार महासङ्घ अध्यक्ष काफ्लेले अस्ट्रेलियामा रहेका नेपालीहरूलाई सुसूचित गर्ने र उनीहरूका समस्यालाई सम्बन्धित निकायसम्म पुर्‍याउने प्रयास गरिरहेको जानकारी गराएका थिए ।

छलफलमा अस्ट्रेलियामा कोरोनाबाट पीडित र अन्य विषयबस्तु सम्बन्धी विवरण जनसम्पर्क समिति अस्ट्रेलिया कुइन्सल्याण्ड अध्यक्ष अभिमन्यु केसीले प्रस्तुत गरेका थिए । जनसम्पर्क समिति अस्ट्रेलियाका सम्पूर्ण राज्य अध्यक्षहरू विनीत शर्मा, सबिन बराल, अशोक सुवेदी, अर्जुन लम्साल, दीपक पराजुली तथा द्वारिका दवाडीले आ-आफ्नो राज्यको अवस्था प्रस्तुत गरेका थिए ।

साउथ अस्ट्रेलियाका प्रतिनिधि रविन्द्र गौतम, रमेश जोशी ,  क्यानवराका प्रतिनिधि भागिरथ सापकोटा तथा पर्थका प्रतिनिधिद्वय राजेश बुढाथोकी र मदन पौडेलले पनि आआफ्नो धारणा प्रस्तुत गरेका थिए । अन्तर्क्रियामा सहभागी अधिकांशले आगामी मे ६ तारिखमा नेपालबाट आउँदै गरेको नेपाल एयरलाइन्सको चार्टर विमानमा कसरी राजदूतावास तथा नेपाल सरकारसँग संयोजन गरी अस्ट्रेलियामा रहेका नेपाली नागरिकहरूलाई नेपाल लैजान सकिन्छ भन्नेमा विशेष छलफल गरेको जानकारी एनएडिडएफका सञ्चार संयोजक हुमागाईँले दिए ।

अन्तर्क्रियामा जनसम्पर्क विभाग प्रमुख भट्टराईले विश्वमै आक्रामक रूपमा फैलिरहेको कोरोना भाइरस पछिको दुखद परिस्थितिको सामना र आपदमा परेकाहरूलाई यथाशक्य सहयोग गर्न नेपाली जनसम्पर्क समिति अस्ट्रेलियाका सम्पूर्ण राज्य अध्यक्षहरूलाई निर्देशन दिएका थिए ।  यस्तो आपतकालीन परिस्थितिमा यो वा त्यो नभनीकन सबैसँग हातेमालो गर्दै यो महामारीविरुद्ध एकजुट हुनुपर्ने भट्टराईको कथन थियो । भिडियो कन्फेरेन्समा आठ वटै राज्य जनसम्पर्क समिति अस्ट्रेलियाका अध्यक्षहरूको सहभागिता थियो । जनसम्पर्क विभाग प्रमुख भट्टराईले एनआरएन अस्ट्रेलियासँग समन्वय गरेर काम गर्ने बताएका थिए ।


कस्तो लाग्यो ?

यो पनि