बैशाख १४, २०८१, शुक्रबार
               

एनआरएनएको अध्यक्षमा थापा र केसीको उम्मेदवारी, कसले मार्ला बाजी ?

नेपाल फ्ल्यास
फागुन २७, २०७८

ADVERTISEMENT

गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी नेतृत्वका लागि दुई जनाको उम्मेदवारी परेको छ।

अध्यक्षमा अमेरिकाबाट रविना थापा र रसियाबाट डा. बद्री केसीले उम्मेदवारी दर्ता गराएका हुन् ।  थापा र केसी दुवै वर्तमान कार्यसमितिमा उपाध्यक्ष हुन् ।

संघको निर्वाचन समितिका अनुसार शुक्रबार बेलुका ५ बजेबाट मनोनयन दर्ता सकिएको छ । नयाँ नेतृत्वका लागि निर्वाचन २१ र २२ मार्चमा अनलाइन प्रक्रियाबाट हुँदै छ ।

अमेरिकामा व्यवसाय गर्दै लामो समय एनआरएनएको अभियानमा सक्रिय थापा संघमा महिला नेतृत्वलाई स्थापित गर्ने अभियानमा छन् ।

थापा जमुना घलेपछि एनआरएनएको अध्यक्षमा उम्मेदवारी दिने पहिलो महिला हुन्  । विशेषतः महिला र युवाको पक्षमा आवाज बुलन्द पार्दै आएकी थापा पहिले सामाजिक संघसंस्थामा समेत सक्रिय थिइन् ।

नेपालमा हाइड्रोलगायत विभिन्न व्यवसायमा सक्रिय उनी अन्तर्राष्ट्रिय मानवअधिकार जस्ता संघसंस्थामा लामो अनुभव बोकेकी नेतृ पनि हुन् । एनआरएनएको उपाध्यक्षमा निर्वाचित भएपछि उनले संघको युवा तथा महिला विभागको संयोजक भएर काम गरेकी थिइन । थापालाई  प्रजातन्त्रवादी समूहको समर्थन छ।

अर्का प्रत्याशी केसी डा. केसी ३१ वर्षदेखि रसियामा बस्दै आएका छन् । केसी संघ अन्तर्गतको वैदेशिक रोजगार तथा कल्याणकारी विभागका प्रमुख हुन् । स्थापनाकालदेखि सक्रिय डा. केसीले संघको आगामी नेतृत्वका लागि आफू स्वाभाविक उम्मेदवार भएको बताए ।

डा. केसीले आफू नेतृत्वमा निर्वाचित भए संघले हालसम्म प्राप्त गरेको उपलब्धिलाई थप उचाइमा पुर्‍याउने दाबी गरे । आफू दलीय भागबन्डाभन्दा संस्थाको हितमा विश्वास राख्ने अभियन्ता भएको केसीको दाबी छ । सबैको साझा उम्मेदवार भनेर चिनिए पनि डा. केसी वामपन्थी निकट मानिन्छन् ।

अध्यक्षका अर्का आका‌ंक्षी कुल आचार्य भने चुनावी मैदानमा सहभागी भएनन् । प्रतिनिधि छनोटमा धाँधली भएको भन्दै  आचार्यसहितका केहीले मनोनयन नै दर्ता गराएनन् । आचार्य अघिल्लो निर्वाचनमा अध्यक्ष पदमै कुमार पन्तसँग पराजित भएका थिए । दोस्रो पटक नेतृत्वमा आउने चाहना राखेर तयारीमा जुटेका आचार्य अन्तिममा चुनावी प्रक्रियाबाट बाहिरिएका हुन् । 

उम्मेदवारी दर्तासँगै परिणामबारे पनि जोडघटाउ सुरु भएको छ । केसीको विश्वभर लोकप्रिय रहेको अनुमान भइरहँदा थापालाई पनि कमजोर मान्न सक्ने अवस्था छैन । प्रजातन्त्रवादीहरूको भोट समेटन सकेमा केसीको तुलनामा थापा बलियो रहेको अनुमान भइरहेको छ । तर थापालाई सबै प्रजातन्त्रवादीहरूलाई एक ठाउँमा ल्याउन सजिलो छैन । बामपन्थी दलहरूले नेपाली राजनीतिमा देखाएकाे भूमिकाको सबैतर्फ आलोचना भइरहेको फाइदा थापालाई हुने विश्लेषण पनि गरिएको छ । नेपालमा प्रजातान्त्रिक दलको नेतृत्वमा सरकार भएको फाइदा पनि उनले उठाउन सक्छिन् । दुवै उम्मेदवार आफैँमा सशक्त भएकोले प्रतिस्पर्धा कडा हुने अनुमान गरिएको छ ।

यो पनि