बैशाख ३०, २०८१, आइतबार
               

पोर्चुगलमा तीन नेपाली मात्र सङ्क्रमित

रासस
चैत १०, २०७६

ADVERTISEMENT

पोर्चुगलस्थित गैरआवासीय नेपाली सङ्घका प्रतिनिधिले फारोस्थित क्वारेन्टाइनमा बसेका नेपालीलाई आवश्यक सहयोगसहित भेटघाट गरेका छन् । सहयोग समन्वय समितिका संयोजक एवं एनआरएनए पोर्चुगलका कोषाध्यक्ष विक्रमजङ्ग कुंँवरको टोलीले क्वारेन्टाइनमा बसेका तीन नेपालीसँग भेट गरेका हुन् । उनले आवश्यक सहयोग जुटाउन एनआरएनए पोर्चुगल तयार रहेकाले नआत्तिन आग्रह गरेका छन्  ।

यस्तै सङ्घका वरिष्ठ उपाध्यक्ष रोशनकाजी थापाले पनि क्वारेन्टाइनमा बस्दै आएका नेपालीसँग भेटी धैर्य गर्न अनुरोध गरेका छन् । 'हामी सङ्घका तर्फबाट उनीहरुलाई आवश्यक सहयोग जुटाउन कुनै पनि कसर बाँकी राख्दैनौंँ ।' उनले क्वारेन्टाइनमा राखिएका नेपालीमा सङ्क्रमण नदेखिएकाले उनीहरुलाई स्वास्थ्य जाँचपछि छिट्टै छाडिने बताए ।

सहयोग समन्वय समितिका उपसंयोजक दिनेश भण्डारीले कोरोनाको सङ्क्रमणबाट बच्न पोर्चुगलमा रहेका सबै नेपालीलाई घरबाट बाहिर नजान अनुरोध गरेका छन् । यस्तै क्षेत्रीय समिति अलगावका अध्यक्ष अनिल शर्माले पोर्चुगलको राजधानी लिस्बन बाहिर धेरै नेपाली कृषि क्षेत्रमा कार्यरत भएकाले सुरक्षामा ध्यान दिन आग्रह गरेका छन् । त्यस्तै कोरोनाबाट जोगिन  दूतावासले सबैमा  आग्रह गरेको छ ।

नेपालीमा सङ्क्रमण फैलिएपछि लिस्बनस्थित नेपाली वाणिज्य दूतावासले बिरामीको उपचार र क्वारेन्टाइनमा रहेका नेपालीहरुको खानपान, जाँच र सुरक्षामा आवश्यक ध्यान पुप्याइदिन सम्बन्धित निकायलाई पत्राचार र अन्य कूटनीतिक पहल गरिरहेको छ । वाणिज्यदूत मकरबहादुर हमालले सम्बन्धित क्षेत्रका सेफ र जेएनआरलाई सहयोगका लागि अनुरोध भइसकेको जानकारी दिएका छन्  । उनले पोर्चुगलमा रहेका सबै नेपाली समुदायमा आइपर्ने सबैखाले स्वास्थ्य समस्या तथा आकस्मिक विपत्मा सहयोग र परामर्शका लागि कन्सुलेट कार्यालयको मोबाइल नम्बर ९६९१९०९१९ मा सम्पर्क गर्न अनुरोध  गरेका छन्  । क्वारेन्टाइनमा रहेका नेपालीको अवस्था बुझ्न फारो पुगेका वाणिज्य दूतावासका प्रतिनिधि मोहनकुमार थापाले दूतावासले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

व्यवसायी एवं एनआरएनए पोर्चुगलका पूर्वउपाध्यक्ष कमलमान गुरुङले पहिलोपटक क्वारेन्टाइनमा रहेका नेपालीलाई राहत वितरण गरेका थिए। यो समाचार तयार पार्दासम्म पोर्चुगलमा १४ जनाको ज्यान गएको तथा एक हजार ६ सय जनामा सङ्क्रमण फैलिएको ‘वर्ल्डसमिटर’ ले जनाएको छ । सङ्क्रमणबाट बच्न पोर्चुगल सरकारले ‘आपत्कालीन’ घोषणा गरिसकेको छ ।

 

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि