काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आफ्ना सांसदलाई अविश्वासको प्रस्ताव फिर्ता लिन सात दिनको समय दिएका छन् ।
नेकपा एमाले पुनर्स्थापित भएपछि पहिलोपटक बुधबार बसेको नेकपा एमाले प्रदेश १ को संसदीय दलको बैठकमा मुख्यमन्त्री राईले अविश्वास प्रस्तावमा हस्ताक्षर गर्ने सांसदलाई हस्ताक्षर फिर्ता लिन सो म्याद दिएका हुन् ।
नेकपा एमाले पुनर्स्थापित भएपश्चात् बसेको पहिलो प्रदेशसभाको बैठकमा नेपाल समूहका दुई सांसदको पनि उपस्थिति थियो । संसदीय दलको बैठकमा उपस्थित उनीहरुले सामूहिक रुपमा अविश्वासको हस्ताक्षर फिर्ता लिने बताएका छन् ।
बैठकमा सहभागी माधव समूहका नेता लीलाबल्लभ अधिकारीले छलफलका क्रममा एकसाताको समय पर्याप्त हुने बताउँदै भने, ‘सामूहिकरुपमा अविश्वासको प्रस्तावको हस्ताक्षर फिर्ता हुनेछ ।’
यसअघि नेकपा एक छँदै मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरिएको थियो । सो समूहमा नेकपा एमाले अर्थात् माधव समूहका ३७ सांसद छन् ।
बुधबार बसेको एमाले संसदीय दलको बैठकले विधान पारित गर्नुका साथै बोर्ड गठन गरेको छ।
बोर्डमा माधव पक्षका तीनजना सदस्य छन् । दलको नेताको नेतृत्वमा गठन भएको बोर्डमा उपनेता, प्रमुख सचेतक र सचेतकसहित काजीमान कागते, आशारत्न जवेगु, लीलाबल्लभ अधिकारी, तुलसी न्यौपाने, विमल कार्की, यशोदा अधिकारी, जसमाया गजमेर, ज्ञानेश्वर राजवंशी, बिर्ख प्रधान, अम्बिका थापा र लिलम बस्नेत छन् । लिलाबल्लभ, तुलसी र यशोदा नेपाल पक्षका हुन् । बैठकमा मओवादी केन्द्र परित्याग गरेर एमाले प्रवेश गरेका टंक आङ्बुहाङ पनि सहभागी थिए ।