काठमाडौं । नेकपा एमाले नेपाल समूहले प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध प्रदेशसभामा दर्ता भएको अविश्वासको प्रस्ताव फिर्ता लिन सहमत भएपछि मुख्यमन्त्री राईको पद जोगिएको छ ।
एमाले संसदीय दलको बुधबार बसेको बैठकमा नेपाल समूहका प्रदेशसभा सदस्य सहभागी भई अविश्वासको प्रस्ताव फिर्ता लिने जानकारी गराएसँगै उनको पद जोगिने निश्चित भएको हो ।
‘अहिलेलाई अविश्वासको प्रस्ताव फिर्ता लिने निर्णय भएको छ,’ एक नेताले भने, ‘त्यहीँ विषयमा जानकारी गराउन हाम्रा दुई जना साथीहरु जानु भएको छ ।’ प्रदेश १ सभामा एमालेका ५१ सांसद छन्, जुन बहुमत हो ।
यसअघि नेकपा छँदै मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको थियो । जसका कारण प्रदेशसभा बस्न सकिरहेको थिएन । बसेका प्रदेश सभा बैठक पनि औपचारिकता पुर्याएर मात्र बस्ने गरेका थिए ।