बैशाख २०, २०८१, बिहीबार
               

सर्वदलीय संयन्त्र बनाउन राप्रपाको माग

नेपाल फ्ल्यास
चैत २५, २०७६

ADVERTISEMENT

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले कोरोना भाइरसको संक्रमणविरुद्ध सरकारले लगाएको लकडाउनप्रति समर्थन जनाए पनि त्यसविरुद्धको अभियानमा सरकारले चालेको कदम प्रभावकारी नदेखिएको बताएको छ ।

राप्रपा सचिवालयले मंगलबार विज्ञप्ति जारी गरी कोरोना संक्रमणविरुद्ध लडन सर्वदलीय संयन्त्र बनाउन माग गरेको छ । त्यस्तो संयन्त्र प्रदेश र स्थानीय तहसम्म नै बनाउनुपर्ने राप्रपाको माग छ ।

यसअघि मंगलबार नै राप्रपा अध्यक्ष कमल थापाले कोरोना विरुद्धको लडाइँमा सरकारको काम प्रभावकारी नभएको जनाएका छन् ।  ट्वीट गर्दै थापाले सरकारको समन्वय र चेन अफ कमान्ड नमिलेको टिप्पणी गरेका थिए । उनले सरकारले राम्रो काम गरे जनताको साथ पाउने धारणा पनि राखेका थिए ।

त्यस्तै राप्रपा अर्का अध्यक्ष पशुपतिसम्सेर राणाले प्रधानमन्त्रीबाट भ्रष्टाचारविरुद्ध निर्मम भएर प्रस्तुत हुने भनी आएको प्रतिवद्धता व्यवहारमा लागू होस् भनेका छन् । स्वास्थ्य उपकरण खरिदमै सरकार विवादमा परिरहेकोबेला प्रधानमन्त्रीले विगतै प्रतिवद्धता दोहोर्‍याएको अध्यक्ष राणाले जनाएका छन् ।

बेलायती प्रधानमन्त्रीको स्वास्थ्यलाभको कामना

राप्रपा अध्यक्ष तथा पूर्वउपप्रधान एवं परराष्ट्रमन्त्री कमल थापाले बेलायतका प्रधानमन्त्री बोरिस जोनसनको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । नेपालस्थित बेलायती राजदूतमार्फत थापाले स्वास्थ्यलाभको कामना गरेका हुन् ।

 

कोरोना संक्रमण भएपछि प्रधानमन्त्री जोनसनको आइसियुमा राखेर उपचार भइरहेको बीबीसीले जनाएको छ ।

राप्रपा सचिवालयद्वारा कोरोना संक्रमण सन्दर्भमा जारी विज्ञप्तिको पूर्णपाठ

१. सिङ्गो विश्व नै कोरोना भाइरस (कोभिड– १९) को संक्रमणबाट अस्तव्यस्त र भयग्रस्त रहेको अवस्थामा यसको नियन्त्रण तथा सचेतनाका लागि नेपाल सरकारबाट भइरहेको कार्य र प्रयास सिद्धान्त ठिक भएता पनि कार्यान्वयन पक्ष निकै फितलो देखिएको छ। आफ्ना निर्णयहरू कार्यान्वयनको निमित्त सरकारले व्यवस्थापकीय कार्य क्षमता र कार्यशैलीमा सुधार दर्न राप्रपा सरकारसँग आग्रह गर्दछ। बन्दाबन्दी (लकडाउन) अवधि विस्तार आवश्यक थियो। लकडाउनको अवधि बढाउने सरकारको निर्णयलाई सकारात्मकरुपमा लिँदै लकडाउनलाई अनुशासित एवं मर्यादित ढङ्गले सफल तुल्याउन सम्पूर्ण नेपाली समक्ष राप्रपा अनुरोध गर्दछ ।

२. प्रकोप संक्रमणको नियन्त्रण तथा रोकथामका लागि प्रयास भइरहेता पनि दुर्भाग्यबस नेपाल प्रकोपको दोस्रो चरणमा प्रवेश गरेको छ । यो ज्यादै खतराको सङ्केत र गम्भीर चिन्ताको विषय हो । सकेसम्म यो परिस्थितिलाई आजको यही विन्दुमै रोक्न हामी सबै नेपालीको सामूहिक र सार्थक प्रयास अत्यावश्यक भएको छ।

३. प्रकोप नियन्त्रण र राहत व्यवस्थापन कार्यमा प्रदेश र स्थानीय तहका सरकारहरूलाई थप र स्पष्ट जिम्मेवारी दिन तथा आवश्यक साधन श्रोत उपलब्ध गराउन राप्रपा सरकारको ध्यान आकर्षित गर्दछ। साथै केन्द्र,प्रदेश र स्थानीय तहमा सर्वदलीय संयन्त्र बनाउनु उपयुक्त हुनेछ।

४. स्थितिलाई अनियन्त्रित एवं विस्फोटक हुनबाट रोक्न सरकारले अविलम्ब थप परीक्षण प्रयोगशाला खडा गरेर र आवश्यक दक्ष प्राविधिक जनशक्ति परिचालन गरेर  परीक्षणको दायरा व्यापक तुल्याउन आवश्यक भएको छ। विशेष गरी सुदूरपश्चिम प्रदेशलाई उच्च प्राथमिकतामा राख्न पनि राप्रपा आग्रह गर्दछ।

५. आवश्यक उपकरण तथा साधन श्रोतको व्यवस्था गरी भारत र अन्य मुलुकबाट स्वदेश  फर्किएका सबैको स्वास्थ्य परीक्षण पछिल्लोपटक विस्तार गरिएको लकडाउनको अवधि भित्रै सम्पन्न गर्न तथा आवश्यक क्वारेन्टाइनको व्यवस्था गर्न राप्रपा नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछ ।

६. यो चुनौतीपूर्ण र जोखिमयुक्त कार्यमा अग्रणी मोर्चामा रहेर काम गर्ने स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरुको मनोबल र उत्साह बढाउन आवश्यक कार्य र व्यवस्था अविलम्ब गर्न राप्रपा जोडदार माग गर्दछ ।

७. अस्ट्रेलिया लगायत विश्वको विभिन्न मुलुकमा अध्ययनरत नेपाली विद्यार्थी तथा अस्थायी रूपमा विश्वका विभिन्न मुलुकमा विविध पेसा–व्यवसायमा रहेका नेपालीको अवस्था बारे जानकारी लिई सम्बन्धित देशका नागरिक सरह स्वास्थ्य, सुरक्षा र अन्य सुविधा उपलब्ध गराउने व्यवस्था मिलाउन सम्बन्धित राष्ट्रहरूसँग अविलम्ब कुराकानी गरी सोको जानकारी सार्वजनिक गर्न गराउन नेपाल सरकारको ध्यानाकर्षण गर्दछ।

८. नेपाल र भारतमा बन्दबन्दि (लकडाउन) घोषित हुँदै गर्दा र तत्पश्चात् पनि भारतबाट स्वदेश फर्किएका हजारौँ हजार नेपाली नेपाल–भारत सीमा स्थित भारतीय भूमिमा विल्लिबाठ अवस्थामा रहेका छन् । यसरी दशगजा क्षेत्रमा शरणार्थीको अवस्थामा राखिएका सम्पूर्ण नेपाली नागरिकलाई अविलम्ब स्वदेशभित्र ल्याई आवश्यक जाँच, परीक्षण गरी जे जे गर्न आवश्यक हुन्छ सोही गरियोस् भनी नेपाल सरकार समक्ष जोडदार माग गर्दछ ।

९. कोभिड–१९ (कोरोना भाइरस) नियन्त्रण सम्बन्धी चीनबाट सामाग्री खरिद गर्दा एकातिर खरिदमा भ्रष्टाचार भएको र अर्कोतर्फ खरिद गरिएका सामाग्रीहरू गुणस्तरहीन रहेको चर्चासँगै अवउप्रान्तका दिनमा आवश्यक पर्ने उपचारजन्य सामाग्री नेपाली सेना मार्फत खरिद गरेर ल्याउने भन्ने चर्चा व्यापक छ । यदि प्रचारमा आएको कुरामा सत्यताको अंश छ भने यो भन्दा निकृष्ट कार्य एवं अपराध अरू हुनै सक्दैन । यस बारे सरकारले अविलम्ब श्वेतपत्र जारी गर्न र अपराध र भ्रष्टाचारमा संलग्न जो कसैमाथि कडा कानुनी कारबाही गर्न सरकारसमक्ष माग गर्दछौँ । भ्रष्टाचार र अनियमितताका यी र यस्तै अन्य संवेदनशील विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको समेत गम्भीर ध्यानाकर्षण गराइन्छ ।

१०. बन्दाबन्दी (लकडाउन) को कारण ज्याला मजदुरी गुमेर चरम जीविकाको संकटबाट गुज्रिएका  न्यून आय एवं आय विहिन अवस्थाका श्रमिकलाई राज्यको तर्फबाट दिइन थालिएको राहत र सहयोगमा पूर्ण राजनीतिकरण भइरहेको र सत्तासीन पार्टीका कार्यकर्ता, समर्थक र मतदातालाई मात्र छानिछानी वितरण गरिँदै रहेको गुनासो चौतर्फी रूपमा रहेको छ । राप्रपा यस विषयमा सम्माननीय प्रधानमन्त्रीज्यूको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छ।

११. कोभिड-१९ को महामारी नियन्त्रण गर्ने कार्यमा राप्रपाको सदैव रचनात्मक सहयोग रहने छ। यस कार्यमा विभिन्न तहका सरकारबाट चालिने कदममा सहयोग पुराउन पार्टीका सबै तहका निकाय र आम कार्यकर्तालाई आह्वान समेत गरिएको छ।

मिति: २०७६ चैत्र २५ गते

धुव्रबहादुर प्रधान       भास्कर भद्रा
प्रमुख       प्रमुख
केन्द्रीय सचिवालय केन्द्रीय सचिवालय

                       

यो पनि