कात्तिक १५, २०८१, बिहीबार
               

'मेलमिलापको नीति के र किन थियो ? अब कांग्रेसले सोच्नैपर्छ'

नेपाल फ्ल्यास
पुस १६, २०७७

ADVERTISEMENT

राजसंस्था पुनर्स्थापना र हिन्दु राष्ट्रको माग राखेर राष्ट्रिय प्रजातन्त्र पार्टी आन्दोलनमा होमिएको छ । देशभर अहिलेको संविधानको विरोधमा आवाजहरू उठ्न थालेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले जनादेश सम्हाल्न नसकी प्रतिनिधिसभा विघटन गरेसँगै नेपाली जनताले खोजेको बलियो र स्थिर सरकारको सपनामा तुसारापात भएको छ । नेपाली राजनीतिमा उत्तरको छिमेकी चीन पनि खुलेरै सक्रिय हुन थालेको छ । राप्रपाको आन्दोलन, बिपीको मेलमिलाप नीति र नेपालमा बढ्दो विदेशी चासोबारे राप्रपा अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीसँग नेपाल फ्ल्यासका लागि अर्जुन खड्काले गरेको वार्ताको सम्पादित अंश ।

राप्रपाको आन्दोलन के का लागि ?

मुख्यतया हाम्रो आन्दोलन पार्टीको एजेन्डा जनतामा पुर्‍याउन हो । अनि जनतासँग संवाद गर्न नै हो ।

नेपालको राष्ट्रिय एकतालाई बल दिने संस्थाहरूलाई पनि निरन्तरता दिनु पर्‍यो । बदलिँदो परिवेशमा नयाँ परिभाषा दिएर निरन्तरता दिनु पर्छ । 

कुन कुन एजेन्डा ?

नेपालमा संवैधानिक राजसंस्था आवश्यक छ । नेपालीको राष्ट्रिय एकता र नेपालको राष्ट्रिय पहिचान कायम गर्न विशेषतः अहिलेको भूराजनीतिक परिवेश जुन छ, त्यसले पनि राजसंस्थाको खाँचो देखिएको छ । शक्ति राष्ट्रहरूबीचको संघर्षको परिवेशमा नेपाललाई सन्तुलित राख्न राजसंस्था आवश्यक छ । त्यसलाई हामी नेपाली जनताका माझमा लैजान्छौँ ।

त्यस्तै नेपालको अर्को पहिचान भनेको धर्म थियो । नेपालमा ९४ प्रतिशत ओमकार परिवारका सदस्य  छन् । हामी सबै धर्मलाई सम्मान गर्छौँ । सबैलाई आदर गर्छौँ । तर नेपालको पहिचान चाहिँ वैदिक सनातन हिन्दु राष्ट्रको रूपमा रहँदा राम्रो हुन्छ । त्यसले नेपालको पहिचान देखाउने मात्र होइन, त्यो नेपालको सफ्ट पावर पनि हो । विश्वका १८० करोड मानिसको तीर्थस्थलका रूपमा नेपाललाई हामीले उभ्याउन सक्छौँ । त्यसको सकारात्मक प्रभाव धेरै क्षेत्रमा पर्न सक्छ ।

धर्म निरपेक्ष हुँदा के फरक परेको छ र ?

फरक छ नि । यहाँ कुनै धर्मलाई तलमाथि गर्ने भन्ने होइन । हामीले सबैलाई सम्मान गर्ने हो । तर नेपालको पहिचान हिन्दु राष्ट्रलाई बनाउनु पर्छ भन्ने हाम्रो मान्यता हो । नेपालको पहिचान मेटाएर आज विदेश धर्मको प्रभाव बढाइएको छ । विदेशीले पैसा खर्च गरेरै यहाँको सांस्कृतिक जगलाई खलबल्याउने प्रयास भएको छ । त्यसलाई रोक्नु पर्छ । 

पछिल्लो राजनीतिक घटनाक्रमबारे राप्रपाको दृष्टिकोण के छ ?

पछिल्लो चुनावयता शासनको नाममा अराजकता भएको छ । भ्रष्टाचार र आर्थिक अराजकता भएको छ । जनताको नाममा जनतालाई ठग्ने र सानो भुईँफुट्टा वर्गको उन्नतिका लागि राज्य लागिपरेको प्रष्ट देखिएको छ । त्यसबारे पनि हामी जनतालाई सचेत गराउँदै छौँ ।

राप्रपा र मुख्यतया तपाईँले भन्दै आएको सम्वर्द्धनवाद भनेको के हो ?

हामीले एकता महाधिवेशनमा पनि यसलाई परिभाषित गरिसकेका थियौँ । सम्वर्द्धनवाद भनेको निरन्तरतासहितको गतिशीलता हो । हाम्रो संस्कृति र सभ्यताका राम्रा कुरालाई निरन्तरता दिने भनेको हो । मानवतावादी पक्षलाई निरन्तरता दिने हो । त्यसलाई टेवा दिने संस्थाहरूलाई पनि निरन्तरता दिनु पर्छ । नेपालको राष्ट्रिय एकतालाई बल दिने संस्थाहरूलाई पनि निरन्तरता दिनु पर्‍यो । बदलिँदो परिवेशमा नयाँ परिभाषा दिएर निरन्तरता दिनु पर्छ । 

अबको चुनौती भनेको गुणस्तर विकास गर्ने हो । नेपाली जनताको आर्थिक विकास गर्ने हो । पहाड, हिमाल, तराई र मधेस सबै ठाउँका नेपाली जनताबीच समानता कायम गर्दै सशक्तीकरण गरेर लैजाने हो । समावेशी राज्य निर्माण गर्ने हो । पुराना राम्रा कुराको निरन्तरता र भोलिका दिनमा नेपाली जनतालाई माथि उठाउने गतिशीलता नै सम्वर्द्धनवाद हो । जुन दृष्टिकोण जनता केन्द्रित छ । आम जनताको हितको अवधारणा हो यो ।

तपाईँहरूले भनेजस्तै २०६२/६३ सालको परिवर्तनको औचित्य सकिएको हो र ? जनमत त अझै त्यस्तो देखिइसकेको छैन नि ?

त्यो राजनीतिक परिवर्तनका केही सकारात्मक पक्ष पनि छन् । केही राम्रा काम भएका छन् । जस्तो गाउँपालिकाहरूलाई अधिकार दिने कुरालाई म सकारात्मक रूपमा लिन्छु । गाउँपालिका सरकार नै गठन भयो, त्यो नराम्रो होइन । जनतालाई अधिकार दिइएकै हो । यद्यपि कसरी काम भइरहेको छ भनेर चेक एन्ड ब्यालेन्स भने हुनुपर्छ । हो, हामीले राम्रा कुराहरूलाई ग्रहण गर्नै पर्छ । ६२/६३ मा हामी अर्को एक्स्ट्रिममा गयौँ । उछालमा गयौँ हामी । अब त्यसलाई सन्तुलनमा ल्याउनु परेको छ । त्यो परिवर्तनपछि जनतालाई अधिकार दिने काम, मानवअधिकारका विषयलगायत समेटिएको छ । त्यस्ता पक्षलाई यथावत् राखेर नेपाल राष्ट्रको हितमा चाहिने संस्थाहरूलाई फेरि त्यसमा समावेश गर्नु पर्छ । यसको मतलब संवैधानिक राजसंस्था र हिन्दु राष्ट्रको पहिचानलाई समेट्नु पर्छ ।

म कांग्रेसका मित्रहरूलाई अनुरोध गर्दछु- बिपीले किन त्यसो भन्नु भयो भनेर एकपटक फेरि हेर्नुस्, पढ्नुस् र सोच्नुस् । बिपीले राजाको मायाले भनेको होइन, देशको मायाले भनेको हो । देशमा राष्ट्रिय एकता मजबुत होस् भनेर भनेको रहेछ ।

तपाईँहरूको यो माग र आज पुस १६ गते बिपीको राष्ट्रिय मेलमिलाप दिवसबीच कुनै तालमेल र तादाम्यता छ ?

बिपी कोइराला ४४ वर्षअघि आजैका दिने स्वदेश फर्किनु भएको थियो । उहाँले लेखेका किताबहरू हेर्दा मूलत त्यसमा दुइटा पक्ष पाइन्छ । पहिलो राजसंस्थाप्रति उहाँको आलोचना छैन । संस्था चाहिन्छ भन्नु हुन्छ उहाँ । राजसंस्था र प्रजातन्त्रको मिलन नै नेपाली राष्ट्रियताको आधार हो भन्ने बिपीको लाइन हो । राजतन्त्र होइन । शासन गर्ने राजा होइन । तर राजसंस्था चाहिँ हो । शासन गर्ने जनताले हो । प्रजातन्त्र र परम्परागत रूपमा आएको राजसंस्थाको मिलन नेपालको राष्ट्रियता र एकताको आधार हो । यस्तो नहुने हो भने नेपालमा विदेशीको हस्तक्षेप हुन्छ । राष्ट्रिय एकता कमजोर हुन्छ । त्यसकारण यी दुइटा संस्थालाई मिलाएर लैजानुपर्छ भन्ने बिपीको मुख्य चिन्तन थियो । 

कांग्रेसका बन्धुहरूले अहिले यो मान्यता छोड्नु भयो । अब उहाँहरूले विचार गर्नुपर्ने बेला आएको छ । त्यो लाइन भनेको वास्तवमा नेपालका लागि ठीक रहेछ भनेर बुझ्नु पर्ने भएको छ । अहिले नेपालमा विदेशी हस्तक्षेप बढेर गएको छ । नेपालका शासकहरूमा लम्पसारवादी प्रवृत्ति बढेर गएको छ । यसले नेपालको सुरक्षा र अस्तित्वलाई ठुलो धक्का पुग्ने सम्भावना देखिएको छ ।

त्यसकारण म कांग्रेसका मित्रहरूलाई अनुरोध गर्दछु- बिपीले किन त्यसो भन्नु भयो भनेर एकपटक फेरि हेर्नुस्, पढ्नुस् र सोच्नुस् । बिपीले राजाको मायाले भनेको होइन, देशको मायाले भनेको हो । देशमा राष्ट्रिय एकता मजबुत होस् भनेर भनेको रहेछ । प्रजातन्त्र र राजसंस्थाको संयोजन अहिले त्यत्तिकै जरुरी छ । विडम्बना भन्नुस् यो लाइन कांग्रेसले होइन, हामीले लिएर हिँडिरहेका छौँ । 

कांग्रेसले गम्भीर भएर आत्मसमीक्षा गर्ने बेला भएको छ । अहिले मुलुक कहाँ पुगिसक्यो । बाह्य हस्तक्षेप यति बढ्यो कि पार्टीको विवाद मिलाउन विदेशी दूतहरू आउन थालिसकेका छन् । पार्टी फुटाउन विदेशीको चलखेल, मिलाउन विदेशीसँग गुहार माग्ने अवस्थामा हामी पुगेका छौँ । प्रतिनिधिसभा ब्युँताउने कि नब्युँताउने भन्नेमा कुन विदेशीको भूमिका के होला भनेर मानिसहरू अनुमान र आकलन गरेर बस्न थालेका छन् । यो असहज र दुर्भाग्यपूर्ण अवस्था हो । विश्वको बदलिँदो शक्ति सन्तुलनको परिप्रेक्ष्यमा हामी क्रिडास्थल हुने डर भएको छ । हो, यो कुरा त्यही बेलामा बिपी कोइरालाले लेखेका हुन् । बुझेका हुन् । अनि प्रजातन्त्र र राजसंस्था सँगसँगै जान सकेन भने नेपाल विदेशीको क्रिडास्थल हुन सक्छ भनेर लेखेका छन् । त्यसैले यो मेलमिलाप दिवसको अवसरमा कांग्रेसका मित्रहरू आफूले एकपटक आफैँलाई हेर्नुहोस् । छातीमा हात राखेर सोच्नुहोस् र सही मार्गमा हिँड्नुहोस् । 

यो पनि