बैशाख १३, २०८१, बिहीबार
               

'नेपालीकै बलमा हिन्दु राष्ट्र फर्काउँछौँ'

नेपाल फ्ल्यास
कात्तिक १४, २०७८

ADVERTISEMENT

नेपाली कांग्रेसका पुराना र त्यागी नेता हुन् दामोदर गौतम । पूर्वीय दर्शन र हिन्दु संस्कारको ज्ञातासमेत रहेका गौतमलाई अहिलेको राजनीतिक अवस्थाप्रति रतिभर चित्त बुझेको छैन । राजनीतिमा निष्ठा र आदर्श हराउँदै गएकोमा उनी चिन्तित छन् । मुलुकलाई हिन्दु राष्ट्र बनाउनुपर्ने मान्यतामा उनी राख्दछन् । राजनीतिसँगै परोपकार एवं सामाजिक सेवाको क्षेत्रमा सक्रिय गौतम कांग्रेसले बिपीको बाटो भुलेकोले अब सच्चिनु पर्ने बताए । उनले हिन्दु राष्ट्रको मुद्दा नबोके कांग्रेस समाप्त हुने दाबीसमेत गरे । कांग्रेसको आगामी महाधिवेशनको सर्वाधिक पेचिलो मुद्दा नै हिन्दु राष्ट्र भएको दाबी उनले गरे । कांग्रेस महाधिवेशन, धर्मको मुद्दा र मुलुकको अवस्थाबारे कांग्रेस महासमिति सदस्य दामोदर गौतमसँग नेपाल फ्ल्यासले गरेको संक्षिप्त वार्ता ।

महाधिवेशनपछि कांग्रेसले कुन बाटो लिन्छ ?

कांग्रेसको बाटो भनेको बिपीको बाटो हो । तर अहिले बिपीको बाटोमा कांग्रेस छैन । त्यो अहिले मात्रै होइन २०३९ सालमै कांग्रेसले बिपीको बाटो भुलेको हो । २०३९ साल साउन ६ गते बिपीको देहावसान भएदेखि नै कांग्रेसले उहाँको बाटो भुलेको हो । 

के हो बिपीको बाटो ? के भुल्यो कांग्रेसले ?

बिपीको बाटो, २००७ सालदेखि नै संवैधानिक राजतन्त्रको नेतृत्वमा राष्ट्रको निर्माण गर्न समाजवादको बाटोमा जानुपर्छ भन्ने हो । उहाँको विशेष खालको थट थियो । उहाँको आदर्श चाहिँ राष्ट्रियता, प्रजातन्त्र र समाजवाद थियो । राष्ट्रियताका लागि पहिला राष्ट्र हुनु पर्‍यो । नेपाल भएन नेपाली हुने हो । राष्ट्र बलियो र स्थिर सँगसँगै प्रजातन्त्र पनि चाहिन्छ । प्रजातन्त्र नभई राष्ट्र निर्माण हुँदैन । प्रजातन्त्र फस्टाउन थालेपछि हाम्रो जस्तो गरिब तथा कृषि प्रधान देशमा समन्वयकारी भूमिका खेल्दै उन्नति खोज्ने हो । राजाले सोधेका बेला बिपीले भन्नुभएको थियो म बराबर सबै नागरिक बनाउन चाहन्छु । तपाईँ त पिएम हो सबै तपाईँ सरह हुन्छन् त भनेर राजाले फेरि सोधेका बेला बिपीले मसरहको आर्थिक स्तरमा पुर्‍याउने भन्नु भएको थियो । उहाँले मसरहको आर्थिक स्तर भनेको के थियो ? बिपीले भन्नुभएको थियो- मेरो फुसको भए पनि घर छ । म ओत लाग्न पाएको छु । त्यस्तै सबै नागरिकको ओत लाग्ने ठाउँ हुनुपर्छ । मेरो २-४ बिगाहा जग्गा छ । त्यसबाट खान पुग्छ र केही आम्दानी पनि हुन्छ । अरू नागरिकको पनि त्यो हुनु पर्छ । त्यसपछि आफ्नै उत्पादनको आम्दानीबाट लत्ताकपडा लगाउन पुग्छ । सबै नागरिकको त्यो स्तर होस् । यसबाहेक पनि आफ्नै आर्जनबाट स्वास्थ्य उपचार गर्न पुगोस् । आफ्नै उत्पादन बेचबिखन गरेर शिक्षाको प्रबन्ध गर्न सकियोस् भन्ने हो  । बिपीको सपना यही थियो गाँस, बास, कपास, स्वास्थ्य र शिक्षा ।

यी मुद्दाभन्दा पनि अरू नै मुद्दामा बढी बहस हुने गरेको छ नि कांग्रेसमा ?

हो । संघीयतामा मुलुक गएको छ । मैले त सुरुदेखि नै भन्दै आएको थिए । यो नेपालका लागि उपयुक्त नै होइन । २०६३ देखि नै मैले उठाएको हो नि । संघीयता हुन्न र धर्म निरपेक्षता चाहिएको छैन भनेर कांग्रेसमा सुरुदेखि उठाउने त मै हो नि । २०६३ तिर म एक्लै भए । २०६७ अलि भोलम बढ्यो । मैले ८ पेज लामो अपिल नै गरेँ । तर कसैले सुनेनन् । अनि २०६८-७० मा पुगेपछि खुमबहादुर खड्काजीहरू पनि आउनुभयो । अनि यो मुद्दा प्रधान बन्यो । २०६९ मा नवलपरासीमा भएको महासमिति बैठकमा मैले हिन्दु राष्ट्रको पक्षमा अगुवाइ गरेको थिए । त्यसमा ४०० भन्दा बढी महासमिति सदस्यले हिन्दु राष्ट्रको पक्षमा सहमति जनाउनु भयो । हस्ताक्षर गर्नुभयो । तीन वर्षअघिको महासमितिमा त ८ सयभन्दा बढीले हस्ताक्षर गरे । हिन्दु राष्ट्रको पक्षमा अधिकांश नेपाली छौँ । अब हिन्दु राष्ट्र फर्कनेमा शंका छैन ।

कांग्रेसले त्यो बाटो लिन्छ त ?

लिनै पर्छ । त्यो बाटो नलिए त कांग्रेस नै भएन नि । यो बाटोबाट त कांग्रेस समाप्त हुने हो । हिन्दुप्रतिको मेरो संकीर्णता पटक्कै होइन । हाम्रो देशमा तीन वटा कुरा युनिक छन् । एउटा सगरमाथा, जुन विश्वमा कहीँ छैन । गौतम बुद्ध जो नेपालमा जन्मिएका हुन् । अर्को हिन्दु राष्ट्र । यी तीन कुरा त हाम्रो पहिचान नै हो नै । 

हिन्दु राष्ट्र फर्किएला भन्नेमा विश्वास गर्ने आधार के छ त ?

फर्कन्छ । म विश्वस्त छु । नेपाली जनताले अब बुझिसकेका छन् नि । यहाँ डिजाइन त धेरै भइरहेको छ । महाशक्ति राष्ट्रहरूलाई हाम्रो धर्म निरपेक्षता सुट गरेको छ । उनीहरूले हाम्रो हिन्दु राष्ट्र पुनस्थापनाको अभियानलाई सफल हुन नदिने प्रयास गरिरहेका छन् । संविधान जारी गर्नुभन्दा अगाडि बेलायती राजदूतले संविधानमा धर्म परिवर्तन गर्न पाउने प्रावधान राख्नुपर्छ भनेर लेख नै लेखेका थिए । सुशील कोइराला नेतृत्वका सरकारले त्यसलाई प्रोटेस्ट पनि गरेको थियो । 

नेपालसँग जोडिएका छिमेकीहरूको चाहना के छ त ?

भारतमा कांग्रेस आइको सरकार हुँदाको अवस्था र त्यसपछिको अवस्था फरक छ । भारतीय जनता पार्टीको सरकार आएपछि नेपाल हिन्दु राष्ट्र हुनुपर्छ भन्नेमा उनीहरू सफ्ट मात्र होइन, स्ट्रङ छन् । तर मेरो चाहना त्यस्तो होइन । हिन्दु राष्ट्र ल्याउनु पर्छ । तर नेपाल र नेपालीले नै ल्याउनु पर्छ । म बिपीको नीति मान्ने मान्छे । बिपी भन्नु हुन्थ्यो जे गर्नुपर्छ, आफ्नै खुट्टामा उभिएर गर्नुपर्छ । हामीलाई चीन वा भारतले ल्याइदिएको हिन्दु राष्ट्र चाहिएको होइन । नेपालीले नै ल्याएको चाहिएको हो । हाम्रो विचारमा उनीहरूले साथ र समर्थन रहनु विरोध वा आपत्तिको विषय नभए पनि ल्याउने चाहिँ हामीले नै हो ।

अर्को यति सानो देशमा संघीयता कामै छैन । देखिइसकियो नै अहिले नै ७ प्रदेशको जात्रा । झन्डै १४ प्रदेश गर्न खोजिएको थियो । १४ प्रदेश भएको भए अहिलेसम्म हटिसक्ने थियो । यो टिक्नै नसक्ने कुरालाई किन बोकिरहनू ?

अहिले मुलुक कुन अवस्थामा छ ?

मुलुकको पहिचान सिद्ध्याउने काम भएको छ । २०२८ सालमा नयाँ शिक्षा लागू गर्दा नेविसंघको सभापति शेरबहादुर (देउवा)जी हुनुहुन्थ्यो । उहाँलाई जेल हालेकोले म कार्यवाहक सभापति थिएँ ।नयाँ शिक्षा लागू गरिएको भनेको वेद शास्त्रलाई समाप्त पारिएको थियो । त्यसयता चरणबद्ध रूपमा नेपालको धर्म संस्कृतिमाथि प्रहार भएको छ । धर्म संस्कृति सिद्ध्याएपछि राजसंस्था पनि समाप्त गर्न सकिने भन्ने डिजाइनबाट काम भयो । कतिले बुझेर गरे, कति अबुझमै नयाँ शिक्षाको पछि लागे होलान् । राजतन्त्रले आफूलाई ख्याल गर्न सकेन र बिपी कोइरालापछि नेताहरू कसैले पनि यसतर्फ हेका राख्न सकेनन् । त्यही कारण राष्ट्र अहिले कता कता डम्पको अवस्थामा पुगेको छ । बिपीको बाटोबाट कांग्रेस डिरेल भएको छ । म कांग्रेस फेरि सोही बाटोमा फर्कियोस् भन्ने चाहन्छु । 

कांग्रेस महाधिवेशन आउँदैछ । तपाईँको योजना के छ ?

हामी हिन्दु राष्ट्रको पक्ष र संघीयताको विपक्षमा उभिन्छौ । यो समावेशी भन्ने पनि विदेशीले लादेको हो । आफ्नो देशमा चाहिँ गर्न नपर्ने यहाँ ल्याएर थोपर्ने ? यो कथित समावेशी पनि हटाउनु पर्छ । युरोप अमेरिकामा समावेशी छ ? छैन नि । हाम्रोमा चाहिँ चाहियो उनीहरूलाई । संघीयता, धर्म, क्षेत्रीयता जस्ता विषयमा नेपाल र नेपालीलाई समाप्त पार्न प्रयोग गरिएका अस्त्र हुन् । नेपाललाई सोमालिया बनाउने खेल हो । त्यसमा हामी फस्नु हुँदैन । उनीहरूले ल्याएका प्लानमा अलर्ट हुनु पर्दथ्यो । बिपी कोइराला पछि कोही त्यस्तो नेता देखिएन । कांग्रेसका नेताहरूमा सद्बुद्धि पलाओस् । होइन भने साथीहरूको सल्लाहमा म पनि यी एजेन्डा लिएर नेतृत्वका लागि तयार हुनेछु । साथीहरूले कांग्रेस डुबिसक्यो । कांग्रेस डुब्दा देश नै संकटमा पर्छ, यस्तो अवस्थामा किन अघि नबढ्ने भनेर भन्ने गरेका छन् । सल्लाह भइरहेको छ । 


कस्तो लाग्यो ?

यो पनि