चैत १६, २०८०, शुक्रबार
               

'सिंगो देश र कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध बनाउँछौँ'

नेपाल फ्ल्यास
भदौ ०८, २०७८

ADVERTISEMENT

नेकपा एमालेबाट फुटेर नेकपा एकीकृत समाजवादी पार्टी गठन भएको छ । यसले निर्वाचन आयोगबाट विधिवत् मान्यता पाउन भने बाँकी नै छ । नेकपा एकीकृत समाजवादी पार्टीको चन्द्रागिरि रिसोर्टमा बसेको प्रस्तावित केन्द्रीय समितिको बैठकपछि नवगठित पार्टीका अध्यक्ष माधवकुमार नेपालले पत्रकारहरूसँग कुराकानी गरेका थिए । कुराकानीमा पत्रकारले सोधेको प्रश्न र अध्यक्ष नेपालको जवाफको सम्पादित अंश ।

तपाईँसँग रहेका धेरै नेताहरू एमाले अध्यक्ष केपी शर्मा ओलीसँग गए । उनीहरूलाई एकीकृत समाजवादीमा ल्याउने प्रयास गर्नुहुन्छ कि च्याप्टर क्लोज भइसक्यो ?

सिंगो देश र कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध बनाउने हो । हामी त्यसतर्फ अघि बढ्छौँ । कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध बनाउने भनेर अघि बढेपछि विचार मिल्नेहरूसँग एकता हुन्छ । विचार, सोच र धारणाहरू मिलेपछि एकता हुन्छ ।

ओलीजीसँग पनि एकता सम्भव छ ? 

विचार मिलेपछि पार्टी पनि एकताबद्ध हुन्छ । समयक्रममा हामीले एकता गर्दै आएका छौँ । दर्जनौँ समूहलाई एकता गराउँदै आएका थियौँ । यो क्रम जारी रहन्छ । भविष्यमा समग्र कम्युनिस्ट पार्टीलाई एकताबद्ध गराउने हो । केपी ओलीको पनि विचार र धारणामा परिवर्तन भए उहाँसँग पनि ढोका खुला छ । सिंगै देशलाई एकताबद्ध गराउने, कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध बनाउने हो । तर हामीलाई अहिले अलपत्र पार्ने षड्यन्त्र भइरहेको छ । घर न घाटको बनाउने षड्यन्त्र जारी छ ।

अष्टलक्ष्मी शाक्यले तपाईँसँग सल्लाह गरेरै मुख्यमन्त्री बनेको भन्नु भएको छ नि ?

हो । उहाँले मेरो सल्लाह लिनुभएको थियो । सहमति लिनुभएकै हो । तर अहिले पार्टी अलग बनिसकेको छ । उहाँले अब एउटा पार्टी रोज्नुपर्ने अवस्था आयो । नयाँ पार्टी बनिसकेपछि २१ दिनभित्र प्रदेशसभाका सदस्य र स्थानीय तहका प्रतिनिधिहरूले दल रोज्न पाउँछन् । त्यो समयमा उहाँले रोज्नु पर्नेछ ।

वार्ता गर्ने कार्यदलका सदस्यसहित ९ जना केपी ओलीतिरै जान लाग्नु भएको छ नि ! तेस्रो धार भनिएका तपाईँका सहयात्रीहरूको साथ पनि ओलीलाई नै भएको देखियो ?

उहाँहरू आउनेमा म विश्वस्त छु ।

तपाईँको दललाई प्रचण्डले खेलाएर सकिदिन्छन् भन्ने टिप्पणी सुनिएको छ नि । यसबारेमा के भन्नुहुन्छ ?

यो देशको ठूलो खेलाडी केपी ओली हो । केपी ओलीले खेलाउन नसकेको मलाई अरूले खेलाउन सम्भव छैन । म चाहन्छु केपी ओली सुध्रिनु होस् । उहाँमा सद्बुद्धि पलाओस् । सुसंस्कृत र सभ्य बनुन् । कसैलाई अपमान नगरुन् । मुखबाट सभ्य बोलुन् ।

पार्टीको नाम उचित भएन भन्ने पनि छ नि ?

पार्टीको नाम राख्न र निर्वाचन आयोगमा वैधानिकता पाउन निकै पक्षमा ध्यान दिनुपर्छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) राख्दा अदालतले हुन्न भनेको हामीलाई थाहा नै छ । कानुनी पक्ष र सबै पक्ष पनि हेर्नुपर्‍यो । सबै पक्षबाट यो नाम ठीक हुन्छ भनेर राखेको हो । वातावरणीय जनवाद, सामाजिक जनवाद के राख्नु त तपाईँ नै भन्नुस् न । संविधानमै समाजवादउन्मुख भनिसकेको छ । हाम्रो उद्देश्य पनि समाजवाद स्थापना नै हो । त्यसैले नेकपा एकीकृत समाजवादी राख्दा अरूसँग मिल्दैन र ठीक होला भन्ने लाग्यो ।

केन्द्रीय समिति वा संसदीय दलमध्ये एउटाबाट २० प्रतिशतले दल विभाजन गर्न सकिन्छ । कुन बाटोबाट नयाँ दल दर्ताको सनाखत गर्नु हुन्छ ?

हामी दुवैतर्फ संख्या पुग्छ । केन्द्रीय समितिमा पनि आवश्यक संख्या छ । सांसदहरूको पनि संख्या पुग्छ । दुइटामा एउटा भए त झन् सुनमा सुगन्ध नै भयो नि ।

यो पनि