असोज २३, २०८१, बुधबार
               

'महासचिवभन्दा तल्लो पदमा उठ्दिँन'

नेपाल फ्ल्यास
मंसिर ०३, २०७८

ADVERTISEMENT

नेकपा एमाले १०औँ महाधिवेशनको संघारमा छ । यतिबेला यस दलका नेताहरू आफ्नो स्थान बनाउने जोडघटाउमा जुटेका छन् । स्थायी कमिटी सदस्य तथा चितवन १ बाट निर्वाचित प्रतिनिधिसभाका सांसद सुरेन्द्र पाण्डेलाई पार्टीको आसन्न महाधिवेशन व्यवस्थापनको चटारो छ । मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुन गइरहेको एमालेको दसौँ महाधिवेशन मूल व्यवस्थापन समितिको सह–संयोजक रहेका पाण्डेसँग महाधिवेशनको तयारी, पार्टीभित्रको चुनावी प्रतिस्पर्धा र एमालेले लिने भावी कार्यदिशाबारे गरिएको वार्ता:

एमालेको दसौँ महाधिवेशन मूल व्यवस्थापन समितिको सह–संयोजक हुनुहुन्छ, तयारी कस्तो  छ?

–२३ जनाको मूल व्यवस्थापन समिति छ । १२ वटा उपसमितिहरू छन् । यी सबै संयन्त्रहरूले आ–आफ्नो ढंगले काम गरिरहेका छन् । एउटा प्रतिनिधि व्यवस्थापन समिति छ, जसले देशभरका प्रतिनिधिहरूको रेकर्ड राख्नेदेखि परिचयपत्रलगायतको काम गरिरहेको छ ।

आंशिक रूपमा काठमाडौंमा कार्यालय हुने गरी हामी पुरै रूपमा चितवन सर्दै छौँ । यता र उता दुवै स्थानबाट काम हुन्छ । साथै, जनपरिचालनको काम पनि भइरहेको छ । हामीले पाँच लाख मानिसलाई नारायणी नदी किनारमा उपस्थित गराउने लक्ष्य लिएका छौँ । यसको तयारी पनि भइरहेको छ । चितवनभरि नै स्वागतद्वार बनाइने छ र चितवनका छिमेकी जिल्लाहरू नवलपुर, धादिङ, मकवानपुरमा पनि द्वार बनाइने छ । द्वार निर्माणका लागि स्थानको छनोट गरी विभिन्न संघसंस्थालाई जिम्मेवारी दिने  काम सुरु भएको छ । 

त्यस्तै, प्रचारप्रसारका सामग्री निर्माण गर्ने काम पनि सुरु भएको छ । नेपालमा नेकपा स्थापनाको ७२ वर्ष पुगेको सन्दर्भमा ७२ जना कलाकारले विभिन्न सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्ने विषयमा छलफल भएको छ । सबै जाति, भाषा र संस्कृतिको प्रतिनिधित्व हुने गरी कार्यक्रम हुनेछ । 

खाद्य र आवासको व्यवस्था गरिसकेका छौँ । करिब दुई हजार कोठा, ३ हजार ५ सयदेखि चार हजार बेडहरू बुक भएका छन् । पाँच छाकको खाना हामीले व्यवस्था गर्छौँ । सौराहामा हुने हाम्रो बन्द सत्रमा जो जुन होटेलमा बस्ने व्यवस्था छ, त्यसै होटेलमा ब्रेकफास्ट र बेलुकीको खानाको प्रबन्ध गरिएको छ । बिहानको खाना भने बन्दसत्रको हल भएको सेभेन स्टार होटेल परिसरमा हुन्छ । मंसिर ११ गते बेलुकी चाहिँ अध्यक्षको तर्फबाट सबै प्रतिनिधिलाई निम्ता गरेर रात्रिभोजको व्यवस्था गर्ने कि भन्ने विषयमा पनि कुराकानी भइरहेको छ । त्यसो भएमा बन्दसत्रको हलमै वा प्रतिनिधि बसेकै होटेलमा खानाको व्यवस्था गर्न सकिन्छ । अहिले सौराहामा हुने बन्द सत्रका लागि हल, डोम आदिको निर्माण काम पनि सुरु भएको छ ।

मंसिर ११ गते बिहान ८ बजेदेखि कार्यक्रम सुरु हुन्छ । एकदेखि डेढ घण्टा जति बन्दसत्रको आरम्भ कार्यक्रम रहेको छ । यसमा अध्यक्षको सम्बोधन र विभिन्न समिति तथा त्यसको अध्यक्ष मण्डल तोक्ने काम हुन्छ । अध्यक्ष मण्डल गठन भएपछि निर्वाचन प्रक्रिया अघि बढ्छ र नोमिनेसनको काम हुन्छ । सायद दुई बजेसम्म नोमिनेसनको काम सम्पन्न हुनेछ । त्यसपछि बेलुकी छ बजेसम्म नोमिनेसन फिर्ता लिने समय तोकिने छ ।

यसपटक मेसिनबाट भोट गरिने भएकाले दिनभर भोटिङको विषयमा प्रतिनिधिहरूलाई तालिम पनि दिनेछौँ । साथसाथै विभिन्न सांस्कृतिक कार्यक्रम पनि निरन्तर चलिरहने छन् ।

मंसिर १२ गते बिहान ८ बजेदेखि भोटिङको काम सुरु हुन्छ, यसमा आठदेखि दस घण्टा लाग्ने अनुमान गरेका छौँ ।

उद्घाटन सत्रका लागि करिब पाँच हजार स्वयंसेवकको व्यवस्था गरेका छौँ भने भोटिङ हुने दिनका लागि तीन सय देखि पाँच सय हाराहारीमा स्वयंसेवक परिचालन हुनेछन्  । मंसिर १३ गते स्वयंसेवक र केही समितिका मान्छेहरूलाई बधाई तथा कदरपत्रसहित सानो कार्यक्रममार्फत बिदाइ गर्ने भन्ने योजना छ । 

२०७७ फागुन २८ पछि पुनःस्थापित एमालेभित्रको परिवेश अहिले अलि फरक छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) रहँदा ताकाको माओवादी केन्द्रको एउटा समूह एमालेभित्रै छ, त्यसो त पार्टीभित्रकै विचार समूह पहिलेदेखि नै क्रियाशील छ। यसपटक पार्टीभित्र महाधिवेशनमा वैचारिक मन्थन निक्कै चर्किएला जस्तो देखिन्छ नि?   

एमालेले नवौँ महाधिवेशनमा नै विधान महाधिवेशनमा विचार र विधिको टुङ्गो लगाउने तथा मूल महाधिवेशनमा चाहिँ नेतृत्व टुङ्गो लगाउने भनेर व्यवस्था गरिसकेको छ। यसमा कुनै फरक हुने छैन । हामीले व्यवस्था नै अर्कै गरिसक्यौँ । यसअघि भएको विधान महाधिवेशनमा हामीले विचार र  सैद्धान्तिक पक्षको टुङ्गो लगाइसकेका छौँ, यसपालिको महाधिवेशनमा चाहिँ नेतृत्व मात्र टुङ्गो लगाउन बाँकी छ । 

यसपालि तपाईँको उम्मेदवारी चाहिँ कुन पदमा रहने छ ?

यो विषयमा अहिलेसम्म टुङ्गो लागेको छैन । अघिल्लो महाधिवेशनमा महासचिवमा उठेको थिएँ, थोरै मतले पराजित भइयो । को–को कुन–कुन पदका लागि उम्मेदवार हुने हुन्, त्यो पनि थाहा छैन । तथापि, हिजो उठेको पदभन्दा तल्लो पदमा उठ्ने कुरा भएन । हेरौँ के हुन्छ ।

अघिल्लो महाधिवेशनमा प्यानल–प्यानलबीच प्रतिस्पर्धा भएको थियो, यसपालि के हुन्छ ?

यसपालि हामीले प्यानलरहित महाधिवेशन बनाएका छौँ । यसपालि सहमतिका आधारमा या व्यक्तिगत रूपमा उम्मेदवारी हुनेछ ।

भीम रावलले केपी ओलीविरुद्ध अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरिसक्नुभएको छ, यसलाई कसरी हेर्नुभएको छ ?

यो प्रश्न उहाँ (भीम रावल)लाई नै सोध्नु उपयुक्त होला ।

अब महाधिवेशनबाट आउने एमाले नेतृत्वले आगामी दिनमा पार्टीलाई नयाँ दिशामा लैजान के–कस्ता कदम चाल्नुपर्ला ? 

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजित भयो, नेकपाको एउटा भाग टुक्रिएर एमाले अलग भएको अवस्थामा हामीले अधिवेशन गर्दै छौँ ।  एमालेलाई कसरी सुदृढ र एकताबद्ध बनाउने तथा यही पार्टीलाई कम्युनिस्ट आन्दोलनको मूल प्रवाहका रूपमा कसरी बढाउने भन्ने कुरा अबको नीति, नेतृत्व र भूमिकामा निर्भर रहन्छ । यो सबैभन्दा ठूलो चुनौती पनि हो । 

अर्को कुरा, एमालेको विरुद्धमा पाँच दलीय गठबन्धन रहेको छ र, सम्मुखमा चुनाव आइरहेको छ । त्यसैले यी दुवै परिस्थितिसँग मुकाबिला गर्नुपर्ने अवस्थामा हामी छौँ । यो दुई चुनौतीलाई परास्त गर्न पहिलो त हामी एकताबद्ध हुनुपर्ने छ । दोस्रो, हामीविरुद्ध भएको गठबन्धनलाई परास्त गर्नु छ । यस्तो अवस्थाबीच हुन गइरहेको यो महाधिवेशन निकै महत्त्वपूर्ण र निर्णायक रहेको छ । साथै यी कुरालाई मध्यनजर गरेर नै यसपटकको महाधिवेशनले दिशानिर्देश गर्नेछ । 


कस्तो लाग्यो ?

यो पनि