असोज ०६, २०८१, आइतबार
               

काठमाडौंमा कोरोनाकाे डरलाग्दो ग्राफ

विवश कुलुङ
भदौ ०९, २०७७

ADVERTISEMENT

काठमाडौं । पछिल्लो हप्ता काठमाडौं उपत्यकामा कोरोनाले विस्तारै डरलाग्दो रुप लिन थालेको छ । साउन महिनायता बढ्दै गएको संक्रमणदर हेर्दा स्थिति भयावह आउनसक्ने संकेत देखाएको छ । गत बुधबारदेखि काठमाडौंमा निषेधाज्ञा जारी रहे पनि संक्रमणदर घट्न सकेकाे छैन । 

गत बुधबार रातिदेखि काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी गरे पनि संक्रमणकाे दर बढ्दो छ । बुधबार काठमाडौं उपत्यकामा १५९ जना थिए भने बिहीबार बढेर २०० पुग्यो । त्यस्तै शुक्रबार २०८ जना, शनिबार २१६ जना, आइतबार १६६ जना र सोमबार २२४ जनामा काेराेना संक्रमण देखिएकाे छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार सबभन्दा धेरै २३२ जना संक्रमित थपिएका छन् । देशभर ८५५ संक्रमित थप हुँदा काठमाडौंमा मात्रै मंगलबार १९९ जना संक्रमित भेटिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्‍वर गौतमले बताए ।  उनका अनुसार मंगलबार काठमाडौं जिल्लामा १९९ जना, भक्तपुरमा १४ जना र ललितपुरमा १९ जना नयाँ संक्रमित भेटिएका छन् । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म काठमाडौंमा २ हजार ९५५ जना, ललितपुरमा ४६३ र भक्तपुरमा ३०० संक्रमित पुगेका छन् । योसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या ३ हजार ७१८ पुगेको छ ।

संक्रमणदर बढेसँगै सरकारले काठमाडौंमा पिसिआर परीक्षणकाे दायरा पनि बढाएकाे छ ।  काठमाडौं उपत्यकामा काेरोना संक्रमणदर उच्च रहेपछि काठमाडौं उपत्यकाले महानगरपालिकाले अहिले १० वटा टोली बनाएर कन्ट्याक्ट ट्रेसिङ गरिरहेको छ । साथै मंगलबार देशभर ८५५ नयाँ संक्रमित थपिएका छन् । देशभर हालसम्म संक्रमितकाे संख्या ३३ हजार ५३३ पुगेको छ । २४ घण्टामा ३१३ जनाले काेरोना जितेसँगै १९ हजार ११९ जना संक्रमणमुक्त भएका छन् ।

साथै गत बुधबारदेखि जारि निषेधाज्ञा पुन: थप गर्ने/नगर्ने भनेर आज निर्णय आउनेछ । संक्रामक रोग ऐन २०२० को दफा २ तथा स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३) बमोजिम काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी छ । निषेधाज्ञाका कारण सार्वजनिक तथा निजी सवारीसाधनसमेत निस्कन पाउने छैनन् ।

निषेधाज्ञामा खाद्यान्न, औषधीजन्यबाहेकका ढुवानीसमेत रोकिएको छ । अत्यावश्यक सेवा तथा वस्तुबाहेकका अन्य सबै प्रकारका व्यापार, व्यवसाय सञ्चालनमा रोक लगाइएको छ । अत्यावश्यक सामग्रीलगायतका मालबाहक ढुवानीका सवारीसाधन, स्वास्थ्यकर्मी तथा सुरक्षा निकायले प्रयोग गर्ने सवारी मात्रै सञ्चालनमा छन् ।

साथै विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) का नेपालस्थित कार्यालयका प्रतिनिधि डा.जोस भ्यानडिलिएरले नेपालमा हाल देखिएको कोरोना संक्रमणको संख्या सुरुवातमात्रै भएको बताएका छन् । मंगलबार भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका नियमित प्रेस ब्रिफिङमा यस्तो बताउदै सतर्क रहन आग्रह गरे ।

भ्यानडिलिएरले भने- ‘अहिले नेपालमा संक्रमितको संख्या बढ्दै छ। केही महिनाअघि आप्रवासीहरुमा बढी देखिएको थियो,’ उनले भने, ‘यो सुरुवातमात्रै हो। आगामी हप्ता, महिनामा निकै नै केस बढ्नेछन् । परिस्थिति अझ नराम्रो हुनेवाला छ।’  

 

कुलुङ नेपाल फ्ल्यासका डेस्क सम्पादक हुन् । उनी समसामयिक विषयमा कलम चलाउँछन् । विशेष गरी उनी पर्यटन एव‌‌‌म् खेलकुदसँग सम्बन्धित विषयमा रुचि राख्छन् ।

कस्तो लाग्यो ?

यो पनि