बैशाख १६, २०८१, आइतबार
               

के हुन्छ वामदेवको राष्ट्रियसभा यात्रा ?

नेपाल फ्ल्यास
फागुन २८, २०७६

ADVERTISEMENT

काठमाडौँ । सत्तारुढ दल नेकपाभित्र वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने विषय बिस्तारै ओझेलमा परेको छ । प्रधानमन्त्री केपी शर्मा ओली मिर्गौला प्रत्यारोपणका लागि अस्पताल भर्ना भएसँगै गौतम राष्ट्रियसभा सदस्य बन्ने प्रक्रिया ओझेलमा परेका हो । गत बुधवार प्रधानमन्त्री ओली अस्पताल भर्ना भएपछि गौतमलाई राष्ट्रियसभामा लैजाने प्रक्रिया लम्बिएको हो । 

मिर्गौला प्रत्यारोपणको एक हप्ता अस्पताल बस्नुपर्ने तथा एक महिना आराम गर्नुपर्ने भएपछि मन्त्रिपरिषद् बैठक बस्न केही समय लाग्ने तथा सरकारले अत्यावश्यक बाहेक कुनै निर्णय नगर्ने भएकाले गौतमको राष्ट्रियसभा यात्रा अन्योल मात्र होइन अनिश्चित बन्दै गएको नेकपा स्रोतले जनाएको छ । यसअघि प्रधानमन्त्री आफै गौतमलाई राष्ट्रियसभामा लैजान नचाहेका कारण पनि सरकारले मनोनयन प्रक्रिया तत्काल अघि बढ्न सकेको थिएन ।

माधव नेपालले गौतमलाई मनोनयन गर्न र खतिवडालाई मन्त्री बनाउने मध्यमार्गी सुझाव दिएका थिए । तर प्रधानमन्त्री त्यो विषयमा अझै कन्भिन्स नभएको स्रोतले जनाएको छ । स्रोतका अनुसार प्रधानमन्त्री ओली स्वास्थ्यलाभ गरेर फर्के पनि उनले गौतमलाई मनोनयन गर्ने सम्भावना निकै न्यून रहेको स्रोतको दाबी छ । 

तीन हप्ताअघि बसेको नेकपा सचिवालय बैठकले गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने निर्णय गरेको थियो । राष्ट्रपतिबाट राष्ट्रियसभा सदस्यमा मनोनीत अर्थमन्त्री डा. युवराज खतिवडाको समय सकिएपछि सोही स्थानमा गौतमलाई लैजाने तयारी भएको थियो । खतिवडाको राष्ट्रियसभा सदस्यको कार्यकाल २० गतेबाट सकिएको थियो । आफ्नो कार्यकाल सकिएपछि खतिवडाले अर्थमन्त्रीबाट राजीनामा दिएर २१ गते नै पुनः नियुक्त भएका थिए । पुनः नियुक्तिपछि उनले अर्थ र सञ्चारमन्त्रीका रूपमा कार्यभार सम्हालिसकेका छन् ।   

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट मनोनयन हुने कोटामा पार्टीको सचिवालय बैठकले गौतमलाई पठाउने निर्णय गरेपछि अध्यक्ष समेत रहेका ओलीले त्यो अस्वीकार गरेका थिए । गौतमलाई सांसद बनाउन ओलीले अस्वीकार गरेका कारण तत्काल सरकारले मनोनयनको सिफारिस गर्न सकेको छैन । सिफारिस नहुँदै प्रधानमन्त्री ओली मिर्गौला प्रत्यारोपणका लागि अस्पताल भर्ना भए ।  उनको गत बुधवार मिर्गौला प्रत्यारोपण गरिएको छ । उनी अहिले अस्पतालमा स्वास्थ्यलाभ गरिरहेका छन् । 

प्रधानमन्त्री ओलीले सचिवालयको बैठकबाट भएको निर्णय नमान्ने बताएपछि पार्टीभित्र विवाद सुरु भएको थियो । ओलीले गौतमलाई अस्वीकार गरेपछि पार्टीभित्रको विवाद मिलाउन पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल सक्रिय भएका थिए । नेपालले गौतमलाई मनोनयन गर्न र खतिवडालाई मन्त्री बनाउने मध्यमार्गी सुझाव दिएका थिए । तर प्रधानमन्त्री त्यो विषयमा अझै कन्भिन्स नभएको स्रोतले जनाएको छ । स्रोतका अनुसार प्रधानमन्त्री ओली स्वास्थ्यलाभ गरेर फर्के पनि उनले गौतमलाई मनोनयन गर्ने सम्भावना निकै न्यून रहेको स्रोतको दाबी छ । 

पार्टीभित्र गौतमको विषयलाई लिएर विवाद भइरहेको बेला फागुन १८ गते बसेको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले आफू मिर्गौला प्रत्यारोपणका लागि अस्पताल भर्ना हुने जानकारी गराएका थिए । त्यसदिन करिब आधा घण्टा बसेको सचिवालय बैठकमा गौतमबारे कुनै छलफल भएन । त्यसै दिन अध्यक्ष पुष्पकमल दाहाल र गौतम बेग्लै बसेर छलफल गरी सचिवालय बैठकमा गए पनि त्यहाँ ओलीलाई स्वास्थ्य उपचारबारे शुभकामना दिने काममात्रै भएको थियो ।

ओली निकटका केन्द्रीय सदस्य खगराज अधिकारीले प्रधानमन्त्रीलाई अप्ठ्यारो पार्ने गरी कुनै पनि निर्णय गर्न नहुने धारणा राखेका छन् । नारायणकाजी श्रेष्ठ पनि राष्ट्रियसभा बैठकमा सहभागी भएपछि गौतम पनि छिटै राष्ट्रियसभा सदस्य हुने दाबी गरेका छन् । अहिले पार्टीभित्र गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने कि नबनाउने भन्ने विवाद चुलिएको छ । 

‘प्रधानमन्त्री मिर्गौला प्रत्यारोपणका लागि शिक्षण अस्पताल महाराजगन्जमा भर्ना भएपछि गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने प्रक्रिया रोकिएको छ’, नेकपाका एक सदस्यले भने ‘मलाई लाग्छ धेरै समय रोकिन्छ ।’

उनका अनुसार तत्काल राष्ट्रियसभा सदस्यमा कोही कसैको मनोनयन हुँदैन । प्रधानमन्त्री ओलीले राम्रोसँग काम गर्ने अवस्था नभइकन मनोनयनलगायतका विषयमा छलफल नहुने उनले बताए । नेकपा शीर्ष नेताहरू पनि यो विषयलाई तत्काल उठाउने पक्षमा छैनन् । सबैको ध्यान प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थामा केन्द्रित भएको छ । ‘मानवीय संवेदनाभन्दा ठुलो अन्य विषय हुँदैन। केही समय पार्टीगत विवाद हुने खालका कुनै पनि काम हुँदैनन्’, नेकपा स्रोतले भन्यो।

सुरुमा प्रधानमन्त्री ओलीले गौतमलाई राष्ट्रियसभामा लैजान चुनावमा भाग लिन आग्रह गरेका थिए । गौतमले संविधान संशोधन गरेर राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री बन्न सक्ने प्रावधान राखेमात्रै राष्ट्रियसभामा जाने सर्त राखेपछि त्यतिबेला सो प्रक्रिया अवरुद्ध भएको थियो । यतिबेला भने राष्ट्रपतिबाट मनोनयन भएर राष्ट्रियसभामा जान गौतम सहमत भएपछि सचिवालय बैठकबाट उनलाई सिफारिस गरिएको थियो । सचिवालयका सबै सदस्य सांसद भएको र गौतम मात्र छुटेकाले उनलाई जसरी पनि सांसद बनाउनुपर्छ भन्दै पार्टीका कार्यकारी अध्यक्ष दाहाल लागिपरेका थिए। त्यसमा महासचिव विष्णु पौडेलको पनि साथ रहेपछि गौतम सांसद हुन राजी भएका थिए । तर ईश्वर पोखरेलले यो विषयमा विरोध गर्दैआएका छन् । सरकारको निर्णयमा पार्टीको हस्तक्षेप हुन नहुने भन्दै राष्ट्रियसभामा सरकारको सिफारिस स्वतन्त्र हुने धारणा पोखरेलले राखेका थिए । त्यसैगरी सुवास नेम्वाङले पनि गौतमले चुनाव जितेर नै सांसद हुनुपर्ने धारणा सार्वजनिक गर्दै आएका छन् । तर सचिवालयमा रहेका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल अन्य सदस्यहरू माधव नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा भने गौतमलाई राष्ट्रियसभामा लैजानुपर्ने पक्षमा रहेका छन् ।

प्रधानमन्त्री ओली अस्पतालमै रहेका बेला गत शनिबर साँझ कार्यकारी अध्यक्ष दाहाल गौतम निवास पुगेका थिए । अढाइघण्टा त्यहाँ बसेर फर्केका दाहालले भोलिपल्ट आइतबार चितवन पुगेर गौतम राष्ट्रियसभा सदस्यमा मनोनयन हुने बताएका थिए ।


कस्तो लाग्यो ?

यो पनि