बैशाख १३, २०८१, बिहीबार
               

कतारको राष्ट्रिय दिवससँगै सफल विश्वकपको बिदाइ

नेपाल फ्ल्यास
पुस ०४, २०७९

ADVERTISEMENT

कतार विश्वकप २०२२ भव्य ढंगले सकिएको छ। कतारको राष्ट्रिय दिवसकै दिन आफ्नो देशको आयोजना, व्यवस्थापन र आतिथ्यताको कौशलसहितको विश्वकप सकिएको हो।

कतार विश्वकपको उपाधि लियोनेल मेसीको अर्जेन्टिनाले जितेको छ भने साबिकको विजेता फ्रान्सले उपविजेता मै चित्त बुझाएको छ। खेलमा हारजित हुन्छ र परिणाम एउटाको पक्षमा जान्छ नै। तर खेल र आयोजना भने मानिसका लागि अविस्मरणीय बन्ने गर्दछन्।

पश्चिमा मिडियाहरूले लगातार कतारको आयोजना, मानवअधिकारलगायतका विषयहरू उठाइरहेका हुन्थे। तर कतारले आफ्नो लय छोडेन। अहिलेसम्मको विशाल र भव्य विश्वकप सफलतापूर्वक सञ्चालन गरेरै छोड्यो।

राष्ट्रिय दिवसमै समापन

राष्ट्रिय दिवसकै दिन फुटबल महासंग्रामको मैझारो हुनु एउटा अविश्मरणीय र सुखद संयोग हो। आइतबार (१८ डिसेम्बर) कतारले आफ्नो राष्ट्रिय दिवस पनि उल्लास र भव्यतासहित मनायो। राष्ट्रिय दिवसको अवसरमा लुसेल बुलेभार्डमा एयर शो गरिएको थियो।

कतारले आफ्नो देशको जग बसेको १८ डिसेम्बर १८७८ को सम्झनामा हरेक वर्ष राष्ट्रिय दिवस मनाउँदै आएको हो। त्यतिखेरका अमिर शेख जसिम बिन मोहम्मद बिन अल थानीले विभाजित समुदायलाई एकतामा बाँधेर कतारको जग बसाएका थिए।

कतार प्रायद्वीपमा मानव बसोबास लगभग ४ सय बीसीतिर सुरु भएको मानिन्छ। आधुनिक कतारका संस्थापक सेख जसिम बिन मोहम्मद अल थानी तमिम समूहका थिए। उनले आधुनिक कतारको नेतृत्व गर्दै विकासको गतिमा अगाडि बढाए। स्थानीयस्तरमा उनले स्वतन्त्र र एकीकृत कतारको पक्षमा वकालत गर्दै अभियान चलाए।

उनको नेतृत्वमा कतार स्थायित्वपूर्ण राष्ट्रका रूपमा उदय भयो। शेख जसिमले दुई शक्ति समूहहरू अरबको खाडी र बेलायती साम्राज्यलाई समदूरीमा राख्दै कतारलाई अगाडि बढाए।

उनी सन् १८७६ मा कतारको डेपुटी गभर्नरका रूपमा नियुक्त भए र सन् १८८८ मा सुलतान अब्दुल हमिदको पद पाए। सन् १८७८ मा उनी शक्तिमा आएसँगै कतारले स्वतन्त्रताको मान्यता पाउन थालेको थियो।

सोही समयमा कतारमा शेख जसिम नेतृत्वको सेना र अटोमन सेनाबीच युद्ध भयो। कतारी सेनाले अटोमन सेनालाई पराजित गर्नु नै कतारको राजनीतिक इतिहासमा एउटा कोसेढुंगाको रूपमा लिइन्छ।

भव्य उद्घाटन

फिफा विश्वकपको २२औँ संस्करणको उद्घाटन नै भव्य भएको थियो। कतारस्थित अल बायत स्टेडियममा झकिझकाउ, भव्य एवं  उल्लासमय थियो।

उद्घाटन सत्रमा कतारी संस्कृतिसहितको झाँकी प्रस्तुत गरिएको थियो । कतारका राजा शेख तामिम बिन हमाद अल थानीले औपचारिक सम्बोधनसहित विश्वकपको उद्घाटन गरेका थिए।

४० मिनेट चलेको उद्घाटन सत्रमा विश्व प्रसिद्ध दक्षिण कोरियाली ब्यान्ड बिटीएसका जुङ कुक र कतारी गायक फाहाद अल कुबाइसीको प्रस्तुतिले उद्घाटन सत्रलाई तताएको थियो ।

उद्घाटन अवसरमा विश्वकपमा सहभागी ३२ राष्ट्रको संस्कृति, विगतका आयोजक देश र कतार विश्वकपका स्वयंसेवकको प्रतिनिधित्वसहितको प्रस्तुति देखाइएको थियो। प्रसिद्ध कलाकार मोर्गन फ्रिम्यान तथा स्थानीय कलाकार घनीम अल मुफ्ता र दानाले आशा, एकता र धैर्यताबारे फरक प्रस्तुति दिएका थिए।

उद्घाटन समारोहमा कतार विश्वकपको छुट्टै मस्कट पनि सार्वजनिक गरिएको थियो।

कतारले सन् २०१० मा विश्वकप आयोजनाको अधिकार पाएपछि विश्वकप सफल पार्न पूर्वाधार लगायत क्षेत्रमा ठूलो लगानी गरेको थियो । जसका लागि कतारले सातवटा अत्याधुनिक नयाँ रङ्गशाला, होटेल, सडकलगायत पूर्वाधार निर्माणमा ठूलो लगानी गरेको थियो । हालसम्मकै सर्वाधिक धेरै लगानी भएको विश्वकपका लागि कतारले दुई खर्ब २० अर्ब अमेरिकी डलर खर्च गरेको जनाइएको छ।

कतारले उद्घाटन समारोहमा स्टेडियमको तापक्रम औसत २५ डिग्री सेल्सियसमा सीमित राख्ने प्रविधिको समेत जडान गरेको छ । मध्यपूर्व एसियाले पहिलोपटक विश्वकप आयोजना गरेको हो।

कतार विश्वकपको विजेता टोलीले ट्रफीसहित ४२ मिलियन अमेरिकी डलर करिब ५ अर्ब ४५ करोड रुपियाँ पुरस्कार पाएको छ। यो रकम सन् २०१८ को २१औँ संस्करणभन्दा चार मिलियन अमेरिकी डलरले बढी हो।

यस्तै उपविजेताले ३० मिलियन अमेरिकी डलर र तेस्रो हुनेले २७ मिलियन अमेरिकी डलर र चौथो हुनेले २५ मिलियन अमेरिकी डलर पुरस्कार पाएका छन्।

फिफाले भन्यो अहिलेसम्मकै उत्कृष्ट

अन्तर्राष्ट्रिय फुटबल महासङ्घ फिफाका अध्यक्ष जियानी इन्फान्टिनियोले कतार विश्वकप अहिलेसम्मकै उत्कृष्ट भएको बताएका छन्।

फिफा काउन्सिलको बैठकपछि अध्यक्ष इन्फान्टिनियोले आयोजना, दर्शकको उपस्थिति, टिम व्यवस्थापन र अन्य  हिसाबले यो विश्वकप निकै उत्कृष्ट रहेको बताएको बीबीसीले जनाएको छ। उनले अहिलेसम्मकै उत्कृष्ट विश्वकप आयोजना गरेकोमा कतार सरकारलाई धन्यवाद पनि दिएका छन्।

महिला रेफ्रीले खेल खेलाएको र लाखौँ विदेशीले कतार बसाइका क्रममा खुसी मनाएको लगायतका कारण विश्वकप अविस्मरणीय भएको उनको भनाइ छ। यो विश्वकपले फुटबललाई अझै विश्वव्यापी बनाउन ठूलो भूमिका खेलेको अध्यक्ष इन्फान्टिनियोले बताएका छन्।


कस्तो लाग्यो ?

यो पनि