बैशाख १५, २०८१, शनिबार
               

क्यानमा भाँडभैलो, अध्यक्ष चन्दको राजीनामा कहिले ?

नेपाल फ्ल्यास
माघ १८, २०७९

ADVERTISEMENT

नेपाल क्रिकेट संघ (क्यान) को विवाद चुलिएको छ । सात जना केन्द्रीय सदस्यले नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्दको राजीनामा माग गरेपछि विवादले नयाँ रूप लिएको हो ।

पोखरामा मंगलबार भएको बैठक सुरुमै ऋषिराम गौतम नेतृत्वको टोलीले अध्यक्ष चन्दको राजीनामा मागेको थियो ।

मंगलबार पोखराको ड्यामसाइडस्थित होटेल एलो प्यागोडामा क्यानको बैठक बसेको थियो । अनौपचारिक छलफल चल्दै गर्दा ऋषिराम गौतमसँगै छुम्बी लामा, करण महतारा क्षेत्री, दाउद अन्सारी, अमितवीर पाण्डे, धर्मराज गिरी र सञ्जयराज सिंहले अध्यक्ष चन्दको राजीनामा मागेका थिए । त्यसपछि उनीहरूले बैठकमा सहभागी नहुने घोषणा गरेका थिए ।

अध्यक्ष चन्दले हालै सम्पन्न नेपाल टी–२० लिगमा भएको स्पट फिक्सिङमा गल्ती भएको स्वीकारेपछि राजीनामा दिएर क्यानलाई मार्गप्रशस्त गर्नुपर्ने असन्तुष्ट पक्षका केन्द्रीय सदस्य छुम्बी लामाले बताए।

क्यान अध्यक्ष चन्दका कामकारबाही र गतिविधिले नेपाली क्रिकेटको साख गिर्दै गएको छ । यस्तै विवादबिच क्यानका कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लले राजीनामा दिएका छन् । विवादास्पद अध्यक्षले राजीनामा नगरी कुर्सी ओगटेर बसेका छन् ।

क्यानभित्र उत्पन्न विविध विवादबिच मल्लले जिम्मेवारीबाट अलग हुने निर्णय लिएका हुन् । नेपाल टी–ट्वान्टी लिगको गर्भनिङ काउन्सिलका अध्यक्षसमेत रहेका मल्लले बोर्ड बैठकमा राजीनामा दिएका हुन् । मल्लले यो जिम्मेवारी गत वर्ष पाएका थिए । 

बैठकले क्रिकेटर सन्दीप लामिछानेमाथिको निलम्बन फुकुवा गर्ने निर्णयसमेत गरेको छ । एक किशोरीले आफूमाथि जबरजस्ती करणी गरेको जाहेरी प्रहरीमा दिएपछि निलम्बन गरेको क्यानले अदालतबाट धरौटीमा रिहा गर्ने आदेश दिएसँगै यस्तो कदम चालेको हो । 


कस्तो लाग्यो ?

यो पनि