बैशाख १४, २०८१, शुक्रबार
               

के सरकार परिवर्तन होला ? को बन्ला प्रधानमन्त्री !

नेपाल फ्ल्यास
बैशाख १५, २०७७

ADVERTISEMENT

काठमाडौं । पछिल्लो समयमा नेकपाभित्र विवादको ज्वारभाटा देखापरेसँगै प्रधानमन्त्री केपी शर्मा ओलीको सत्ताआयुको प्रश्न प्रधान बनेर आएको छ ।

स्वयं प्रधानमन्त्री निकटस्थहरूले सरकार परिवर्तनको 'चलखेल'को रूपमा यसलाई हेरेका छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले नै सरकार घेराबन्दीमा परेको भनिसकेका छन् । उनले 'हङ पार्लियामेन्ट' नभए पनि 'हङ' पार्टी भएको भन्दै सरकार परिवर्तनतिर संकेत पनि गरेका छन् ।

प्रभावशाली नेता वामदेव गौतमले त ओलीलाई प्रधानमन्त्री र अध्यक्षबाट राजीनामा गरेर बाल्कोटस्थित निवासमा गएर आराम गर्न सुझाव दिइसकेका छन् । जनार्दन शर्मालगायतका नेकपाका धेरै नेता सरकारको आयु सकिएको धारणा सार्वजनिक गरिसकेका छन् ।

राष्ट्रियसभा सदस्यमा वामदेव गौतमलाई मनोनीत गर्ने सचिवालयको निर्णय कार्यान्वयन नगर्ने ओलीको कदमपछि पन्पिएको नेकपाको विवाद दल विभाजन र संवैधानिक परिषद् सम्बन्धी विवादास्पद दुई अध्यादेश ल्याएपछि उत्कर्षमा पुगेको हो । भलै प्रधानमन्त्री दल र नागरिक तहबाट भएको विरोधको सामना गर्ने अवस्थामा रहेनन् । उनले समाजवादी पार्टी फुटाउने मृगतृष्णा पूरा गर्न पनि पाएनन् । अनि अध्यादेशबाट ब्याक भए । तर उनले छोडेको बाणले अहिले बन्दाबन्दीको अवस्थामा उनै ओलीलाई स्वाभाविक रूपमा 'घेराबन्दी'मा पारेको छ ।

हट्लान् त ओली ?

यतिबेलाको सर्वाधिक महत्त्वको प्रश्न ओली सरकारले निरन्तरता पाउँला त ? भन्ने नै हो । के ओलीलाई प्रधानमन्त्रीबाट हटाउला त नेकपाले ? यो प्रश्नको स्पष्ट जवाफ आई नसके पनि ओलीलाई हटाउने कसरत भने जारी छ ।

नेकपाका एक स्थायी समिति सदस्यका अनुसार अब सरकारमा ओलीको औचित्य सकिएकै हो । उनलाई निरन्तरता दिएमा पार्टीले जनस्तरमा अझै विरोध र बदनामीको सामना गर्नु पर्ने हुन्छ । यो बुझाइ स्थायी समितिका सबैजसो सदस्यहरूमा छ ।

संख्यात्मक रूपमा दलका हरेक तहमा ओली कमजोर भइसकेको ती स्थायी समिति सदस्यको दाबी छ । ९ सदस्यीय सचिवालयमा ओलीलाई साथ दिने ईश्वर पोखरेलबाहेक देखिएका छैन । विगतमा हरेक कदममा ओलीको पक्षमा कडा ढंगले प्रस्तुत हुँदै आएका पोखरेल पनि यसपटक उदासीन जस्तै देखिएका छन् । नेकपामा एकता, विश्वास र समझदारीमा सदैव विशिष्ट भूमिका खेलेका महासचिव विष्णु पौडेलसमेत ओलीको एकांकी व्यवहारका कारण टाढिनु परेको छ ।

स्थायी समितिमा समेत ओली कमजोर देखिएका छन् । अर्का अध्यक्ष पुष्पकमल दाहालका एक विश्वासपात्र नेताका अनुसार स्थायी समिति र केन्द्रीय समिति कहीँ पनि ओली पक्षको उपस्थिति ३५ प्रतिशतभन्दा तलै हुने छ ।

गणितीय आधारमा ओली कमजोर भएकै बेला पार्टी स्थायी समिति बैठक बसेर ओलीलाई फिर्ता बेलाउनुपर्ने रणनीतिमा प्रचण्ड, माधव नेपाल र वामदेव गौतमहरूको योजना रहेको ती नेताको दाबी छ ।

यसबीचमा अप्रत्याशित रूपमा कुनै नयाँ सहमति नभएमा ओलीलाई फिर्ता बोलाइने उनको दाबी छ । तर स्थायी समितिको बैठक बोलाउने सुरसारमा ओली देखिँदैनन् । दलकै बैठक नै नबसे कसरी प्रधानमन्त्री फिर्ता होलान् । यो प्रश्न पनि उत्तिकै जीवन्त छ । यसबीचमा २० जनाले स्थायी समितिको बैठक बोलाउन लिखित माग गरे पनि ओलीले त्यसलाई सुनेका छैनन् ।

भावी प्रधानमन्त्री को ?

ओली सरकार पतन भयो भने भावी प्रधानमन्त्री को होलान् भन्ने जिज्ञासा पनि उठेको छ । प्रतिनिधिसभामा नेकपा दइतिहाइनजिक छ । यो अवस्थामा अरू दलबाट प्रधानमन्त्री हुने अवस्था देखिँदैन । ओलीको बहिर्गमन भएमा नेकपाभित्रबाटै प्रधानमन्त्री हुने हो । त्यसका लागि अर्का अध्यक्ष प्रचण्ड, पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र झलनाथ खनाल सम्भावित नाम हुन् । उपाध्यक्ष वामदेव गौतम प्रतिनिधिसभा सदस्य नभएका कारण प्रधानमन्त्रीको रेसबाट बाहिर छन् । यसबाहेकका नेता अहिल्यै प्रधानमन्त्रीको कुर्सी नजिक पुगिसकेका छैनन् ।

यीमध्ये को होला त प्रधानमन्त्री ? कसरत र एकखालको सहमति ओली इतर पक्षमा भएको नेताहरूको दाबी छ । ओली विरोधी खेमाभित्र एकसेएक नेता छन् । उनीहरूको आआफ्नै गुट छ । ती सबैको स्वार्थलाई मिलाएर हिँड्न त्यो खेमालाई धेरै सहज छैन । त्यसैले उनीहरूले राजकीय पदहरूमा मोटामोटी विभाजन गर्न थालेका छन् ।

यसका लागि हिजो आइतबार कोटेश्वरस्थित वरिष्ठ नेता नेपालको निवासमा ओलीविरोधी खेमाको बैठक बसेको थियो । भेलामा प्रचण्डले ओलीले बिगारेको परिस्थिति सम्हाल्न नेपालले नेतृत्वदायी भूमिका लिनुपर्ने बताएका थिए । यसमा सहभागी नेताहरूले पनि समर्थन गरेका थिए । उनीहरूको बुझाइ पनि नेता नेपाल सम्भावित प्रधानमन्त्री भन्ने नै थियो ।

प्रचण्ड स्रोतका अनुसार पनि परिस्थितिमा नाटकीय परिवर्तन नभए आगामी सरकारको नेतृत्व नेता नेपालले नै गर्नेछन् । यसबारे भित्री सहमति भइसकेको छ ।

के होला राष्ट्रपति ?

ओलीविरोधी खेमा राष्ट्रपति विद्यादेवी भण्डारीको भूमिकाप्रति असन्तुष्ट छ । पटकपटक पार्टी राजनीतिमा राष्ट्रपतिले हात हालेको उसको बुझाइ छ । पछिल्ला विवादास्पद दुई अध्यादेश हठात जारी गरेबाट पनि त्यो खेमाको पारो तातेको छ । यो खेमाले राष्ट्रपति जनस्तरमा पनि आलोचित भएको बुझेको छ ।

त्यसैले सरकार परिवर्तन भएमा राष्ट्रपतिसमेत फेरबदल गर्ने सकिने उसको निष्कर्ष छ । तर यो निर्णय भने होइन । कदाचित राष्ट्रपति परिवर्तन गरिए अर्का नेता झलनाथ खनाललाई त्यहाँ पठाउने यो खेमाको रणनीति छ । तर राष्ट्रपति परिवर्तन हुन सक्ने सम्भावना भने न्यून रहने नेकपाका ती स्थायी समिति सदस्यले बताए । उनले भने- 'यो समय र परिस्थितिमा पनि भर पर्छ । भोलिका घटनाक्रम कसरी अघि बढ्छ, यसै भन्न सकिन्न ।'

यो अहिलेको अवस्था हो । नेपाली राजनीतिका चतुर खेलाडी हुन् ओली । मधेसवादी दल विभाजनको प्रयास उनले आफ्नो राजनीतिक भविष्यसमेतका लागि गरेको विश्लेषण पनि भएको छ । असहज अवस्थामा एक कदमपछि हटेर वा कुनै नयाँ अश्त्र फ्याकेर उनी अहिलेको परिस्थितिलाई सहज बनाउन पनि सक्छन् । नेकपा र प्रधानमन्त्री ओ‌लीको भावी दशा र दिशा हेर्न अझै केही दिन कुर्नुपर्ने हुन सक्छ ।

 

यो पनि