बैशाख १५, २०८१, शनिबार
               

ढलेको अर्थतन्त्र उठ्ला तर, गडेको लास कहिल्यै उभिँदैन

नेपाल फ्ल्यास
बैशाख १३, २०७७

ADVERTISEMENT

कोरोना भाइरस वा कोभिड–१९ को कारण नेपाल मात्र होइन, विश्वका अधिकांश भूभाग लकडाउनमा छ । तर, पनि कोरोनाको कहर रोकिएको छैन । यो रोगले कहिले, कहाँ, कसलाई सिकार बनाउँला, अनुमान गर्न सकिँदैन ।

केही दिनअघि मात्र एउटा समाचार आयो । ‘र्‍यापिड टेस्टमा केन्द्रीय कारागारको अस्पतालमा कार्यरत दुई नर्समा कोरोनाको सङ्क्रमण पोजेटिभ देखियो ।’ धन्य पिसीआर परीक्षणमा त्यही नतिजा आएन । एउटा भयानक दुर्घटनाबाट मुलुक जोगियो । 

क्षमताभन्दा बढी अर्थात् ३ हजार १ सय ५० जना कैदी रहेको केन्द्रीय कारागारमा कार्यरत ती नर्समा खेदिएको सङ्क्रमण पिसीआर परीक्षणमा पनि सकारात्मक देखिएको भए अहिले कति भयावह अवस्था सिर्जना भइसक्ने थियो ? कल्पना गर्न कठिन छैन ।

र्‍यापिड टेस्टमा दुई जनामा सकारात्मक नतिजा देख्दा केन्द्रीय कारागारभित्र रहेका बन्दीको मनमा कति ढ्याङ्ग्रो ठोक्यो होला त्यो जवाफ सन सिटी अपार्टमेन्टका बासिन्दाले दिन सक्लान् ।

धन्य ! एउटा सम्भावित भयावह दुर्घटना टर्‍यो । तर, हिजो टेरेको जोखिम भोलि वास्तविकता बनेर अगाडि आउन नसक्ला भन्ने पनि छैन । त्यो सम्भावना अहिलेसम्म टरेको छैन ।

राजधानीमा मात्र होइन, नेपालका ७२ जिल्लाको ७४ कारागारमा रहेका झन्डै २५ हजार कैदी बन्दी अहिले पनि त्यही जोखिममा छन् । सरकारले मानव अधिकार कर्मीको मुख थुन्न झन्डै ५ सय जनालाई थुनामुक्त त गर्‍यो । तर, मात्र त्यति जना कैदी बन्दीले कारागारबाट बिदा पाउँदैमा जोखिम टर्‍यो भन्न मिल्दैन । नत कारागार नै सोचे जस्तो चापमुक्त बन्न सक्छ ।

र्‍यापिड टेस्टमा दुई जनामा सकारात्मक नतिजा देख्दा केन्द्रीय कारागारभित्र रहेका बन्दीको मनमा कति ढ्याङ्ग्रो ठोक्यो होला त्यो जवाफ सन सिटी अपार्टमेन्टका बासिन्दाले दिन सक्लान् । ‘मियाँ कि दौड मस्जिद तक’ भने झैँ हरेक दिन बालुवाटारको कान फुक्नेले कारागारका बन्दीको मनमा आएको भयको छाललाई बुझ्न सक्दैनन् कि ? नत्र उनीहरूको अधिकारका बारेमा पनि केही ठोस निर्णय आइसक्थे ।

हुन त अधिकांशको परिभाषामा कैदी भनेको अपराधी नै हुन्छन् भन्ने छ । अपराधी भए पनि उनीहरूको पनि निश्चित अधिकार छ । सबैभन्दा ठुलो त बाँच्न पाउने अधिकार नै छ । साथै त्यही कारागारमा पुर्पक्षमा रहेका हजारौँ बन्दी पनि हुन्छन् । जो भोलि अदालतको फैसलाले निर्दोष साबित हुने सम्भावना पनि त्यति नै छ, जति अपराधी करार हुने । तर, एउटा कुरा पक्का छ । अपराधी करार हुन् वा पुर्पक्षमा रहेका, सबै कैदीको मानव अधिकारको सुनिश्चितता भने सधैँ हुनै पर्छ । जुन अहिले हुन सकेको छैन ।

नेपालको कारागारको अवस्था बारे बेला–बेलामा चर्चा चुलिने गरेकै छ । त्यहाँ कैदीहरू कसरी कोचिएर बस्न बाध्य छन् । उनीहरूले प्रयोग गर्ने शौचालय तथा स्नान घरको अवस्था कति खराब छ भन्ने जस्ता । धेरैलाई अहिले पनि अचम्म लाग्न सक्ला, एउटा कारागारमा एउटा कैदी बन्दीले सुत्नका लागि उपयोग गर्ने क्षेत्रफलको चौडाइ मात्र ३ बित्ताको हुने गर्छ ।

अहिले सारा संसार सामाजिक दुरी अर्थात् सोसल डिस्टेन्टिङको कुरा गरेर थाक्दैनन् । त्यही सामाजिक दुरी कायम गर्न नेपाल सरकारले पनि लकडाउन गरेको छ । तर, कारागारभित्र सामाजिक दुरीको कल्पना मात्र पनि एउटा पूर्ण व्यंग बन्नसक्छ । सरकारको नीतिमाथि चड्कन बन्न सक्छ ।

हामीले बुझ्नु पर्छ । कारागारभित्रका प्राणी पनि यही समाजका बासिन्दा हुन्, भेँडा बाख्रा होइनन् । उनीहरू मध्ये कतिपय खराब आचरणका कारण, कतिपय बाध्यतावश, कतिपय झुटा आरोपमा, कतिपय आवेगलाई रोक्न नसक्दा त कतिपय अन्यायमा परेर कारागारका बासिन्दा बनेका होलान् । हुन त, यो धर्तीमा जनावरको पनि आफ्नै अधिकार छ । अनि कसरी मानिस अधिकार विहीन बन्न सक्ला र ? त्यसमाथि हाम्रो देशमा त कतिपय आमाको कोखदेखि नै बन्दी बनेका छन् ।

इरान जस्तो धार्मिक कट्टरता भएको मुलुकले कोरोना भाइरसका कारण कुनै पनि कैदी मर्नु हुँदैन भन्ने नीति लियो । कारागारमा रहेका कैदीलाई अस्थायी रूपमा खुल्ला पनि गरिसक्यो । तर, आफूलाई निकै सुसंस्कृत र दया भावले भरिएको देखाउन कहिल्यै पछाडि नपर्ने हामी भने ती कैदीहरूको जीवनप्रति निकै उदासीन बनिदिएका छौँ । एक लट कैदी छाडेर सारा कारागार अब कोरोनामुक्त बनिरहन्छ भन्ने भ्रममा छौँ । आगन्तुकलाई निषेधित गरेर कोरोना भाइरस छिर्ने सबै प्वाल टालेको भ्रममा छौँ । जसरी लकडाउन गरेर एउटै पनि सङ्क्रमित नेपाल पस्न पाउँदैन भन्ने भ्रममा थियौँ ।

हरेक ज्यानको मूल्य हुन्छ । चाहे धनी होस् वा गरिब । खुल्ला समाजको बासिन्दा होस् वा चार घेराभित्रको बासिन्दा । यस्तो महामारीबाट कसैको ज्यान जान हुँदैन भन्ने कसिलो मान्यता राज्यले बोक्नै पर्छ ।

पाका र बाल कैदी मात्र होइन । आत्मसमर्पण गरेका, कैदको सट्टा धरौटी लिन मिल्ने, आचरण राम्रा भएका कैदीहरूलाई पनि कारागारमुक्त गर्ने गरेको खण्डमा त्यहाँभित्र सामाजिक दुरीको नियम पालना गराउन केही सजिलो पर्ला नै ? साथै राज्यले पालेर राखेका आचरण राम्रा भएका कैदीबाट बरु राज्यले धरौटी लिएर अस्थायी उन्मुक्ति दिँदा मुलुकको ढुकुटीलाई नै फाइदा पुग्न सक्छ । साथै अपराधको प्रकृति अनुसार कैदी बन्दीले कारागार बाहिर बसेका हरेक दिनको शुल्क राज्यलाई बुझाउनु पर्ने नियम पनि लगाउन सकिन्छ ।

हरेक ज्यानको मूल्य हुन्छ । चाहे धनी होस् वा गरिब । खुल्ला समाजको बासिन्दा होस् वा चार घेराभित्रको बासिन्दा । यस्तो महामारीबाट कसैको ज्यान जान हुँदैन भन्ने कसिलो मान्यता राज्यले बोक्नै पर्छ । त्यसमाथि कारागार जस्तो जोखिमपूर्ण स्थानलाई कसरी सधैँ यो महामारीबाट मुक्त राख्ने भन्ने दरिलो सोच पनि बनाउनै पर्छ । नत्र चार घेराको पर्खाल नाघेर एउटै मात्र कोरोना भाइरस भित्र पसेको खण्डमा लासको बथान लिएर मात्र फर्कने छ । जति तितो लागे पनि सत्य यही हो ।

राज्यले हरेक तप्काका नागरिकका बारेमा केही न केही नीति बनाएको बेला कारागारका बासिन्दाका बारेमा पनि ठोस नीति बनाउनै पर्ने अवस्था छ । अन्यथा कोरोना भाइरस नामक शत्रुले ताण्डव सुरु गरेको खण्डमा त्यसलाई साम्य पार्ने तागत हामीसँग छैन । बलिया–बलिया मुलुकलाई घुँडा टेकाइ सकेको कोरोनाले हामीलाई त ऐया भन्ने मौका समेत दिँदैन ।

हामीले समय पाएका छौँ, समय मै समयको सदुपयोग गरौँ । हरेक नागरिकको जीवन रक्षालाई राज्यले दायित्वका रूपमा स्विकारोस् । कसैको ज्यान नजाओस् । ढलेको अर्थतन्त्र त उठ्न सक्ला तर गडेको लास कहिल्यै उभिँदैन ।  


कस्तो लाग्यो ?

यो पनि