नेपाली राजनीतिका भद्र पुरुष कृष्णप्रसाद भट्टराईको आज नवौँ स्मृति दिवस । जीवनका ऊर्जाशील समय खर्चिएर ठड्याएको उनकै पार्टी नेपाली काँग्रेसले उनलाई सम्झने कोसिस गरेन ।
वर्तमान राजनीतिक शासन पद्धतिको सर्वाधिक जटिल मोडका साक्षी र सारथि किसुनजी कै पदमार्गमा हिँड्ने कसम खाएका काँग्रेस सभापति शेरबहादुर देउवाका लागि अब उनी आदर्श पुरुष रहेनन् होला । तर, नेपाली जनताले उनको सद् चरित्र र त्यागलाई कहिल्यै बिर्सने छैनन् । नत्र अरूले नभए पनि उनको पद चिन्ह पछ्याउँदै प्रधानमन्त्री र पार्टी सभापति समेत बनेका देउवाले उनलाई भुल्नु उनीप्रति अन्याय हो ।
जीवनको उत्तरार्द्धमा पार्टी नेतृत्वबाट अपमानित भएका किसुनजीको त्यागपूर्ण निष्कलंकित राजनीतिका सामुन्ने लोभ र लालचको चमक धमकमा हराएका आजका नेताहरू बाउन्ने साबित हुन्छन् । उनका त्यही त्यागको उदाहरण आजका पुस्ताका लागि पञ्चतन्त्रका कथा झैँ लाग्छन् होलान् ।
हुन पनि, आजका नेताहरूले बुझ्ने अर्थ शास्त्रको परिभाषालाई उनले कहिल्यै बुझेनन् । दुई पटक मुलुकको प्रधानमन्त्री हुँदा पनि आफ्नो र आफ्नाका लागि उनले कहिल्यै धन थुपारेर जीवन पर्यन्त अपनाएको राजनीतिक मर्यादालाई बलि चढाएनन् । बरु पार्टीको बहुमत नचाहेको अवस्थामा हाँसेर सत्ताको त्याग गर्न सक्ने तागत उनीसँग थियो ।
किसुनजी कै कारण २०४७ सालको संविधान षडयन्त्रका कुनै ताना बाना बिना सहज रूपमा जारी भयो । त्यो संविधान लागू गर्दा समान रूपले दरबार र जनतालाई रिझाउनु पर्ने दायित्वलाई उनले तोकिएकै समयमा पुरा गरेका थिए ।
पञ्चशीलका सिद्धान्तमा अडिग रहेर छिमेकी र अन्तर्राष्ट्रिय समुदायको भरोसा जित्न सफल किसुनजी भारतका तत्कालीन शीर्ष नेताहरूका पनि आदरका पात्र थिए । भारतलाई स्वतन्त्र बनाउन सकेको खण्डमा नेपाल पनि जहानियाँ राणा शासनबाट मुक्त हुन्छ भन्ने अठोटका साथ उनी पनि आफ्ना समकालीन नेताहरूका साथ भारतीय स्वतन्त्रता सङ्ग्राममा होमिएका थिए । त्यस बेला विपी कोइरालासँगै उनले देखेका सपना पुरा भयो । २००७ सालमा नेपालमा पनि प्रजातन्त्र आयो ।
जनताबाट चुनिएको संसद्का पहिलो सभामुख किसुनजीले आफ्नो राजनीतिक आस्थालाई व्यक्तिगत स्वार्थका खातिर कहिल्यै तिलाञ्जली दिएनन् । मुलुकको पछिल्लो परिवर्तनले अङ्गालेको शासन पद्धतिसँग उनी कहिल्यै सहमत हुन सकेनन् । बरु ठुलो छाती पारेर पार्टीबाटै अलग रहने निर्णय गरे । उनी साँचो बोल्न कहिल्यै डराउँदैन थिए । त्यसैले उनका बोलीले अराजकताका मतियारहरूलाई सधैँ चिमोटी रह्यो । तर पनि, उनी आफ्नो राजनीतिक आस्था र विश्वासमा सधैँ अडिग पनि रहे ।
हुन त जब उनी संविधान निर्माण गर्न बनेको अन्तरिम मन्त्रिमण्डलमा प्रधानमन्त्री बने त्यसै बेलादेखि उनी विरुद्ध पार्टीभित्र षडयन्त्रका ताना बाना बुन्न थालिएको थियो । त्यही षडयन्त्रका कारण मुलुकलाई प्रजातान्त्रिक संविधान उपहार दिएका किसुन जस्ता सन्त नेताले २०४८ सालको आम निर्वाचनमा पराजय व्यहोर्नु पर्यो ।
जसले उनलाई राष्ट्रिय राजनीतिभन्दा केही टाढा रहन बाध्य पारियो । मुलुकको राजनीति विषम बनेका बेला उनको आवश्यकता फेरी एक पटक महसुस गरियो । २०५६ सालमा फेरी एक पटक उनी प्रधानमन्त्री बने । तर, उनको सत्तारोहणलाई बाध्य भएर स्वीकारेका पार्टीभित्र कै विरोधी खेमाले उनलाई लामो समय प्रधानमन्त्री बन्न दिएनन् । दोस्रो पटक मात्र २ सय ९६ दिन उनले प्रधानमन्त्रीको कार्यभार सम्हालेका थिए । तर पनि उनले आफ्नो सन्त छविलाई त्यागेनन् । बरु राजनीतिबाट टाढिँदै ललितपुरको बाडेगाउँमा आश्रम बनाएर बाँकी जीवन बिताए ।
पार्टीबाट अपमानित हुन परे पनि उनले पार्टीमा फुटको बीजारोपण कहिल्यै गरेनन् । आफ्नै अनुयायी शेरबहादुर देउवाले नेपाली काँग्रेस फुटाएर छुट्टै पार्टी बनाउँदा पनि उनी माउ पार्टीबाट अलग भएनन् । आफ्नो राजनीतिक धरातललाई बिर्सिएनन् ।
नेपाली काँग्रेसका तत्कालीन नेतृत्वबाट अपमानित भएर साधु जीवन बिताउन बाध्य पारिएका सन्त नेता किसुनजीप्रति भएको अपमानलाई सम्मानमा बदल्ने दायित्व वर्तमान नेतृत्व कै हो । उनको राजनीतिक दर्शनका अनुयायीको हातमा पार्टीको बागडोर रहँदा समेत उनलाई सम्झने प्रयास गरिँदैन भने किसुनजीको आत्माले कहिल्यै शान्ति पाउँदैन । अनि उनी जस्ता त्यागी नेताहरूको आँसुले मुलुकलाई सधैँ पोलिरहने छ ।
त्यागका पर्यायवाची किसुनजीलाई नेपालफ्ल्यासको नमन !