बैशाख २६, २०८१, बुधबार
               

किन पटकपटक विवादमा पर्छन् बाबुराम ?

नेपाल फ्ल्यास
साउन ०८, २०७८

ADVERTISEMENT

काठमाडौं । जनता समाजवादी पार्टी संघीय परिषद्का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई यतिबेला विवादमा मुछिएका छन् । 

हिन्दु आस्थामाथि प्रहार गरेको भन्दै उनको विरोध भइरहेको छ । असहमतिका स्वर सबैतिर सुनिए पनि उनकै पार्टी जसपाकै तुलनात्मक रूपमा राम्रो जनाधार भएको मानिने प्रदेश २ मा विरोध बढी भइरहेको छ ।

प्रदेश २ को सदरमुकाम जनकपुरमा भट्टराईको पुत्ला दहनसमेत भएको छ । पर्सामा त उनकै दलका एक दर्जन युवाले पार्टी परित्याग नै गरे । सप्तरीलगायतका स्थानमा पनि विरोध भएको छ । 

कारण के ?

यसपटक भट्टराईको दुई दिनअघिको ट्विट विवादित बनेको हो । भाजपा नेता एवं उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलगायतले गंगामा दूध चढाएको फोटो राखेर हिन्दु संस्कारमाथि  भट्टराईले व्यङ्ग प्रहार गरेका थिए । उनले विश्वास खतरनाक भएको भन्दै 'विश्वासले दूध फ्याँकेर 'युरिन' (पिसाब) पिलाउने' टिप्पणी गरेका थिए ।

लगत्तै भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालेले पूर्वप्रधानमन्त्री भट्टराईले सामाजिक सञ्जालमा राखेको विषयलाई हिन्दु धर्ममाथिको प्रहारका रूपमा लिँदै आपत्ति जनाए ।

जवाफमा चौथाइवालेले लेखे- 'यो स्पष्ट छ कि तपाईँ र तपाईँको सहपाठीहरूले हिन्दु विश्वास र अनुष्ठानहरूको अपमान गर्नुहुनेछ।' 

पृष्ठभूमिको उपज

भट्टराई लामो समयसम्म वामपन्थी राजनीतिमा होमिएको सबैलाई थाहा नै छ । धर्मलाई अफिम भन्दै भाषण गर्दै हिँडेका भट्टराईले अहिले त्यो राजनीतिक बाटो गलत भएको स्वीकारे पनि उनको दिमागमा धर्म-संस्कारप्रतिको दृष्टिकोणमा अझै परिवर्तन आएको छैन । अझ बढी कुण्ठाले भरिपूर्ण छन् उनी ।

वामपन्थी राजनीतिक आन्दोलनका क्रममा हिन्दु सभ्यता विरोधीहरूसँगको उठबसले पनि भट्टराईलाई अझै प्रभावित बनाइरहेको छ । २०६२/६३ सालको जनआन्दोलनमा सडकमा कहीँ कतै आवाज नउठे पनि मुलुकले हिन्दु राष्ट्र मासेर धर्म निरपेक्षलाई अंगीकार गर्‍यो ।

जनआन्दोलनदेखि संविधान निर्माणसम्ममा उनी नायक साविवत नभए पनि त्यसका सक्रिय पात्र भने थिए । त्यसैले पूर्वप्रधानमन्त्री भट्टराई अहिले पनि हिन्दु सभ्यता र संस्कारप्रति तेजोवध गर्न लागिपरेको टिप्पणी सामाजिक सञ्जालहरूमा आउने गरेको छ ।

आफूलाई नचिन्दाको परिणाम

भट्टराईका पोस्ट र अभिव्यक्तिहरू हेर्दा उनले आफूलाई अझै चिनेका छैनन् । लाग्छ कि उनी नेपालको सामान्य नागरिक हुन् । तर उनी नेपालको पूर्वप्रधानमन्त्री हुन् भनेर सम्झाइरहनु नपर्ने हो । 

भारतको एउटा प्रदेशको मुख्यमन्त्रीले गरेको कर्म (जो नेपाल देश र भट्टराईप्रति लक्षित होइन) लाई उनले उछाल्ने प्रयास गरे । जुन काम देशको सुविधा र सुरक्षा प्राप्त गर्ने पूर्वप्रधानमन्त्रीबाट हुनु शोभनीय होइन । नेपाली राजनीतिमा पटकपटक प्रोटोकलको कुरा उठाउने भट्टराईले उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको धार्मिक अनुष्ठानप्रति प्रहार गर्न आवश्यक नै थिएन । 

त्यसो त भट्टराई स्वयं पनि हिन्दु संस्कारबाट प्रभावित त छन् नै । भट्टराईले दसैँमा टीका लगाउने गरेका छन् । कोटेश्वरस्थित माधव नेपाल निवासको नजिकै रहेको चेलीबेटीको घर पुगेर तिहारमा भाइटिका थापेर खामबन्दी दक्षिणा दिने गरेको भिडियो धेरै नेपालीले हेरिसकेकै छन् । तर पनि उनी बेलाबखत दिग्भ्रमित हुने गरेका छन् ।

भट्टराईको यो द्वैध चरित्र अज्ञान र विवशताको उपज भएको विश्वास गर्न सकिन्न । उनी जानाजान हिन्दु सभ्यता र संस्कारविरुद्ध उत्रिएका छन् । उनका अभिव्यक्तिहरूबाट उनी योजनाबद्ध रूपमा लागेको प्रमाणित गर्छ । उनी पूर्वीय दर्शन र सभ्यता एवं हिन्दु संस्कार समाप्त गर्ने डिजाइनमा फसेको आशंका धेरैले गर्दै आएका छन् ।

परिवार नै विवादमा !

भट्टराईमात्र होइन, उनको परिवार नै हिन्दु संस्कारको विरुद्धमा उत्रिएको देखिन्छ । यसबाट पनि उनीहरू योजनाबद्ध रूपमा उत्रिएको अनुमान जो कोहीले पनि लगाउन सक्छ । 

उनकी पत्नी हिसिला त हिन्दुमात्र होइन, बौद्ध धर्मप्रति पनि प्रहार गर्न उद्धत देखिएकी छन् । केही समयअघि हिसिलाले पशुपतिनाथ र बुद्ध भएको देशमा पनि कोरोनाले छोडेन भन्दै स्टाटस लेखेकी थिइन् । त्यसको तीव्र आलोचना भएपछि हिसिलाले त्यो स्टाटस डिलिट गरेकी थिइन् ।

भट्टराईकी छोरी मानुषीले पनि बेलाबखत पशुपतिनाथ, हिन्दु स्वयंसेवकलगायतलाई गलत अर्थमा जोडेर आफ्नो धारणा राख्दै आएकी छन् ।

क्रियापछिको प्रतिक्रिया ?

बाबुरामको क्रियापछि भारतीय जनता पार्टीका विदेश विभाग प्रमुखको आपत्ति त आयो नै । नेपाली नेताहरूले पनि भट्टराईप्रति आक्रोश पोखेका छन् ।

नेपाली कांग्रेस नेता रामचन्द्र पौडेलले भट्टराईको अभिव्यक्तिलाई सामाजिक मान्यता र आस्थामाथिको गम्भीर आघात भनेका छन् । उनले 'बाबुराम भट्टराईको उरन्ठ्याउलो बुद्धिले नेपाली समाजलाई कहीँ पुर्‍याउँदैन' भन्ने टिप्पणी पनि गरेका छन् ।

राप्रपा अध्यक्ष कमल थापाले त 'योगीले खोलामा दूध बगाउँदा तपाईँको टाउको दुख्छ तर तपाईँ आफूले खोलामा मान्छेको रगत बगाएको, मान्छेको लास बगाएको, जिउँदै मान्छेलाई नै बगाएको चाहिँ बिर्सिनुभयो ??' भनेर भट्टराईविरुद्ध कडा टिप्पणी गरेका छन् ।

यत्तिसम्मकी कुनैबेला भट्टराईकै नयाँ शक्ति पार्टीबाट राजनीतिमा लागेकी चर्चित नायिका करिष्मा मानन्धरले पनि यसप्रति आपत्ति जनाएकी छन् । उनले 'प्रकृतिले दिएको बस्तु एक दिन उनैमा चढाउनुमा किन यत्रो रोइलो ?' भनेर विरोध गरेकी छन् । 

हाल अमेरिकामा रहेकी लोकप्रिय टेलिभिजनकर्मी रमा सिंहले अरूको धर्ममाथि जथाभाबी गर्ने अधिकार नभएको भन्दै भट्टराईलाई चुनौती दिएकी छन् । उनले आफ्नो नाममा रहेको “राम” शब्द पनि हटाउन निवेदन हाल्न सुझाएकी छन् ।

पुत्ला दहन

विश्व हिन्दु परिषद् नेपालले भट्टराईविरुद्ध हिजो देशव्यापी प्रदर्शन गर्‍यो । हिन्दु धर्ममाथि प्रहार गरेको भन्दै परिषद्ले राजविराज, वीरगन्जलगायत देशका मुख्य सहरहरूमा प्रदर्शन गरेको हो ।

परिषद्का कार्यकर्ता एवं हिन्दुवादी युवाले डा.भट्टराईविरुद्ध नाराबाजी गर्दै पुत्ला समेत जलाएका थिए ।

बहुसंख्यक सनातन धर्माबलम्बीहरुको आस्थामाथि खेलबाड गरी अभिव्यक्ति दिइएको भन्दै त्यसले समस्त सनातनीहरूलाई मर्माहत बनाएको परिषद्ले जनाएको छ ।

परिषद्ले विदेशी विधर्मी शक्तिहरूद्वारा सञ्चालित व्यक्ति तथा संगठनहरूले पटक–पटक सनातन धर्माबलम्बीहरुको आस्थासँग खेलबाड गर्दै आएको पछिल्लो घटनाक्रमबाट उजागर भएको जनाएको छ ।

परिषद्ले भनेको छ- 'त्यस्ता असामाजिक तत्त्वहरूको समयमै कानुनी कारबाही हुन नसक्दा उनीहरूको मनोबल झनै बढेको देखिन्छ । हिन्दुविरुद्ध अभद्र टिप्पणी गर्नेलाई यथाशिघ्र कानुनी कारबाही गर्न सम्बन्धित निकाय समक्ष विश्व हिन्दु परिषद् नेपाल जोडदार माग गर्दछ ।'

यो पनि