बैशाख १४, २०८१, शुक्रबार
               

गोपीको टुटेको टोकियो ओलम्पिक सपना

नेपाल फ्ल्यास
असार २३, २०७८

ADVERTISEMENT

अघिल्लो बिहीबार नेपालबाट टोकियो ओलम्पिकमा सहभागी हुने खेलाडीको सूचीमा रहेकामध्ये एक एथलेटिक्सका गोपीचन्द्र पार्कीका लागि जीवनकै ठूलो बज्रपात आयो ।

कोभिडका कारण एक वर्ष सरेको टोकियो ओलम्पिक मुखैमा आउँदा गोपीले ओलम्पिक खेल्न नपाउने थाहा पाउँदा कतिको नरमाइलो लाग्यो होला, त्यो उनलाई बढी महसुस भयो नै । तर यो अवस्था आउनुमा को मुख्य जिम्मेवार, कसले यसको जिम्मा लिने, खेलकुदको अभिभावक निकाय राखेपले के भएको भन्ने जानकारी लिनुपर्ने होइन ? खेलकुद मन्त्रालय अहिलेसम्म किन मौन छ ? यस्तै प्रश्नहरू खेलकुद क्षेत्रमा अहिले व्याप्त छन् । 

गोपीको नाम ओलम्पिक जाने सूचीमा नदेखेर पनि राखेपका सदस्यसचिव रमेश सिलवालले हस्ताक्षर गर्नु, खेलाडीलाई अन्तिम समयसम्म पनि गुमराहमा राख्नु, ओलम्पिक जस्तो प्रतियोगिता खेल्ने खेलाडीको सपना अन्तिम समयमा टुटाउनुमा को बढी दोषी छ त ? केस्रा केस्रो केलाउने बेला भएको छ । 

गोपीले ओलम्पिक खेल्न नपाउने भनेर सार्वजनिक खेलाडीको हकमा बोल्ने विभिन्न संस्थाले आपत्तिसहितको विज्ञप्ति निकाले । जबकि खेलाडीको हितमा बोल्ने राखेप नै चुप लागेर बसिरहेको छ । ओलम्पिकको सेभ दी मिसन बनेर जान लागेका रमेश सिलवाल आखिर किन मौन छन् ? खेलकुदको जिम्मेवार निकायमा बसेको व्यक्तिले पत्र लेख्नुपर्ने होइन ? 

यता गोपीको समाचार बाहिरिएको अघिल्लो दिनमात्र पछिल्लो पाँच वर्षमा संघले आधिकारिक एथलेटिक्स प्रतियोगिता नभएको देशको सूचीमा नेपाल पनि परेको थियो । यसको अर्थ पछिल्लो पाँच वर्षमा नेपालमा एथलेटिक्स संघले आधिकारिक कुनै पनि प्रतियोगिता गर्न सकेको छैन । यतिमात्र होइन, अन्तर्राष्ट्रिय प्रतियोगितामा पनि नेपालको सहभागिता शून्य जस्तै हुन थालेको छ । 

जब टोकियो ओलम्पिकका लागि खेलाडी छान्ने गरी संघले आफूले प्रतियोगिता गर्न सकेन, त्यो बेला नै कुन प्रतियोगितालाई ओलम्पिक छनोटको आधार मान्ने भन्ने विवाद भएको थियो । नेपाल ओलम्पिक कमिटी पोखरा म्याराथनलाई आधिकारिकता दिने लाइनमा थियो भने खेलाडी छान्ने पहिलो दायित्व संघको भएकाले नेपाल एथलेटिक्स संघले नेपालगन्ज म्याराथनलाई आधिकारिकता दियो र सो प्रतियोगिताको उपाधि गोपीले जितेर ओलम्पिक खेल्ने पक्का भनियो । 

तर उनी ओलम्पिकको सोलिडारिटी कोर्समा भने परेनन् । मासिक पाँच सय डलर भत्ता पाउने सो कोर्समा नपरेपछि ओलम्पिक कमिटीले उनलाई अरू नै सहयोग र प्रशिक्षणका लागि जापान पठाउने तयारी गरेको र कोभिडले सबै चकनाचुर भएको भनेर आश्वासन दियो । तर ओलम्पिकमा म्याराथनका लागि छनोट हुने समय छुट्याएको एक वर्ष भन्दा बढी भइसकेको छ । गोपीको समय र ओलम्पिकका लागि तय गरिएको समय हेर्दा गोपीको सम्भावना कति छ, त्यो फरक प्रश्न हो । तर पनि उनको आँखामा ओलम्पिकको सपना किन देखाइयो ? 

यदि गोपी ओलम्पिकमा जान कठिन भएको खण्डमा पहिले नै भनेर कुन विधाको खेलाडी फिट हुन्छ भन्ने कुरा फाइनल गर्नुपर्ने थियो । तर अन्तिममा कालेकाले मिलेर भाले खाए भनेजस्तै खेलकुदका तीन निकाय मिलेर यो घटनालाई यतिकै सेलाउने प्रयास गरेका थिए । परिषद्, ओलम्पिक कमिटी र एथलेटिक्स संघ सबै यसमा उतिकै दोषीको पात्र रहेको विज्ञको भनाइ छ । त्यसैले पहिलेबाट हुँदै आएको गल्तीलाई ढाकछोप गर्दा गर्दै अहिले तीनै निकाय दबाबमा पुगेका छन् । उनीहरूलाई थाहा छ, गल्ती भएको छ भनेर । यसको निराकरण पनि कठिन छ, त्यसैले पनि अहिले ती निकायहरू एउटै भाषा बोलिरहेका छन् । 

यो प्राविधिक कारणले भएको हो, आफूहरूको गल्ती होइन भनिरहेका छन् । प्राविधिक कारणले भए, उनीहरूले पहिले नै थाहा भएको कुरालाई किन सच्याउन चाहेनन् । 

अहिले गोपीको घटनालाई साम्य पार्न गोपीलाई ती निकायले बोलाएर विश्व च्याम्पियनसिप वा अरू कुनै प्रतियोगितामा सोझै खेलाउने र अहिलेका लागि चुप लाग्न भनेर आश्वासन दिन थालेका छन् । तर अहिले कोभिडको अवस्था छ ।प्रतियोगिताहरू भनेको बेला हुन सकेका छैनन् । उनीहरूले दिएको आश्वासनमा मक्ख परेर गोपी चुप बसेमा भविष्यमा पुन गल्ती दोहोरिने छ । 

यतिमात्र होइन, विश्व च्याम्पियनसिपमा सहभागिताका लागि पनि एउटा समय निर्धारण गरिएको हुन्छ । सन् २०१९ मा दोहामा भएको विश्व च्याम्पियनसिपका लागि दुई घण्टा १६ मिनेटको म्याराथनको छनोट समय राखिएको थियो । जुन २०१७ को भन्दा तीन मिनेट कम गरिएको थियो । अब म्याराथनमा गोपीको समय दुई घण्टा १८ मिनेट ५९ सेकेन्डका समय छ । यस्तोमा अब गोपीले के हिसाबले आश्वासनमा विश्वास गर्ने भन्ने पनि प्रश्न रहेको छ । उनले पाएका अरू आश्वासन पनि अहिलेको अवस्थामा यकिन हुन कठिन रहेको छ । ती प्रतियोगिताहरू कहिले हुने र त्यो बेला गोपीको प्रदर्शन के हुने भन्ने पनि गोपी आफैलाई थाहा छैन । 

घटना बाहिरिएपछि यतिबेला ओलम्पिकको तयारीमा रहेका अरू खेलाडीसँग कुरा गर्न पनि कठिन भइसकेको छ । आइतबार बिहान सुटिङ खेलाडीको रिपोर्टिङका लागि भिडियो क्यामरासहित पुगेका पत्रकारहरूले सहजै प्रवेश पाएनन् । एकले अर्कोलाई अर्कोले अर्कोको अनुमति चाहिने भन्दै अलमल्याउने काम गरियो । जुन यसअघि हुने गरेको थिएन । 

अब गल्ती गर्ने पदाधिकारी र निकायले यथार्थ बाहिर ल्याउनुपर्ने हो । सत्यतथ्य सार्वजनिक गर्नुपर्ने हो । तर ती निकाय र त्यसका पदाधिकारीहरू भिजेको बिरालो जस्तो बनिरहेका छन् । यस प्रवृत्तिले नेपाली खेलकुदमा खेलाडीको मेहनतको कदर हुँदैन भन्ने प्रमाणित गरेको छ ।


कस्तो लाग्यो ?

यो पनि