असोज ०६, २०८१, आइतबार
               

कोरोनाबाट पत्रकार महासंघ पाँचथरका उपाध्यक्ष भण्डारीको मृत्यु

नेपाल फ्ल्यास
जेठ १६, २०७८

ADVERTISEMENT

पाँचथर । नेपाल पत्रकार महासंघ पाँचथर शाखाका उपाध्यक्ष एकराज भण्डारीको मृत्यु भएको छ । गत वैशाख ३१ गते कोरोना संक्रमण भई झापाको पूर्णटुङ्ग बिर्तासिटी अस्पतालमा उपचाररत ५२ वर्षीय भण्डारीको शनिबार अपराह्न ४ः३० बजे मृत्यु भएको हो ।

श्वासप्रश्सावमा समस्या देखिएका भण्डारीलाई भेन्टिलेटरमा राखी उपचार भइरहेकामा शनिबार मृत्यु भएको उनको उपचारका लागि सहयोग संकलनमा सक्रिय नेपाल प्रेस युनियन पाँचथरका अध्यक्ष जितेन्द्र भण्डारीले जानकारी दिए । उनको पार्थिव शरीरलाई गए राति नै फिदिम–४ माझीटारस्थित हेवाघाटमा नेपाली सेनाको फिदिमस्थित रणशेर गणको टोलीले अन्त्येष्टि गरेको छ ।

नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले हिजो बेलुकी शोक वक्तव्य जारी गर्दै भण्डारीको निधनले पत्रकारिता क्षेत्रमा अपूरणीय क्षति पुगेको बताएको छ ।

पाँचथरको हिलिहाङ गाउँपालिका–५ सुभाङ स्थायी घर भई विगत डेढ दशकभन्दा लामो समयदेखि फिदिममा रहेर भण्डारी पत्रकारिता, साहित्य र प्राध्यापन क्षेत्रमा क्रियाशील थिए । नेपाल ट्रेड युनियन कांग्रेस पाँचथरका उपाध्यक्षसमेत रहेका भण्डारी फिदिमस्थित कञ्चनजङ्घा एकेडेमी माध्यमिक विद्यालयमा प्राध्यापनरत थिए ।

नेपाल पत्रकार महासंघ पाँचथर शाखाका उपाध्यक्ष भण्डारी यसअघि शाखाकै कार्यसमिति सदस्य भई सक्रियतापूर्वक महासंघ र पत्रकारिता पेशामा क्रियाशील थिए । उनी यसअघि नेपाल प्रेस युनियन पाँचथरको उपाध्यक्षसमेत रहेका थिए ।

भण्डारीका श्रीमती, एक छोरा र दुई छोरी छन् । निडर, हक्की र स्पष्ट स्वभावका भण्डारीको निधनले पाँचथरको पत्रकारिता क्षेत्रमा ठूलो क्षति पुगेको र जिल्लाको समग्र सञ्चार क्षेत्रले एक नक्षत्र गुमाएको महासंघ पाँचथर शाखाका अध्यक्ष गिरिराज बास्कोटाले बताए । 

यो पनि