बैशाख २१, २०८१, शुक्रबार
               

क्वारेन्टाइनबाट गोठमा राखेपछि स्थानीय सरकारमाथि प्रश्न उठ्यो

रासस
जेठ १९, २०७७

ADVERTISEMENT

दैलेख । दैलेखको भैरवी गाउँपालिकामा भारतबाट आएका व्यक्तिलाई क्वारेन्टाइनबाट गोठमा सारिँदा स्थानीय सरकारप्रति प्रश्न चिह्न खडा भएको छ ।

गाउँपालिका–३ स्थित देउती आधारभूत विद्यालयको क्वारेन्टाइनमा राखिएका चार जनामा शनिबार आरडीटी परीक्षण गर्दा कोरोना रिपोर्ट पोजेटिभ आएपछि उनीहरुलाई गोठमा सारिएको हो । 

आरडिटी रिपोर्ट पोजेटिभ आएपछि क्वारेन्टाइनबाट अलग गरेर सावधानी अपनाउन र अन्यलाई नसरोस् भनेर तत्कालका लागि नजिकैको गोठमा सारिएको गाउँपालिकाले जनाएको छ । 

तत्काल कुनै वैकल्पिक व्यवस्था नभएकाले सावधानीका लागि गोठ सुरक्षित हुँदा त्यहाँ राखिएको गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर बुढाले जानकारी दिए । यद्यपि उनीहरुलाई गाउँपालिकाको कार्यालय नजिकै एकजनाको घर भाडामा लिएर व्यवस्थापन गर्न लागिएको उनको भनाइ छ । ‘भारतबाट आएका सयौँ दाजुभाइलाई क्वारेन्टाइनमा राख्दा हाम्रा सबै सामुदायिक भवन भरिभराउ भइसके’, उनले भने, ‘बाध्य भएर कोरोना संक्रमण अरूलाई नफैलियोस् भनेर यहाँ राखेका हौँ ।’ 

गोठमा राखिएको तस्वीरलाई सामाजिक सञ्जालमा राखेर थप पीडा थप्ने काम भइरहेको उनको भनाइ छ । ‘हामीले सक्दो प्रयास गरेकै छौँ, बाहिरबाट आउनेलाई व्यवस्थापनमा हामी लागिरहेकै छौँ’, अध्यक्ष बुढाले भने । 

उनका अनुसार संक्रमितहरुलाई स्वास्थ्यकर्मीको निगरानीमा राखेर उपचारको व्यवस्थापन भइरहेको र पिसिआर परीक्षणका लागि स्वाब संकलनको काम भइरहेको छ ।

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि