जेठ ०४, २०८१, शुक्रबार
               

कृषकलाई अनुदानमा 'च्यापकटर'

रासस
फागुन ३०, २०७६

ADVERTISEMENT

झापाको बिर्तामोड नगरपालिकाले कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र प्रदान गरेको छ । आज एक कार्यक्रममा नगरपालिकाको पशुपक्षी तथा मत्स्य विकास शाखाले सहारा नेपाल साकोससँगको साझेदारी अनुदान कार्यक्रमअन्तर्गत नगर क्षेत्रका ७० कृषकलाई उक्त यन्त्र प्रदान गरेको हो ।

नगरप्रमुख ध्रुवकुमार शिवाकोटी, उपप्रमुख पवित्रा महतरा प्रसाईं, प्रमुख प्रशासकीय अधिकृत पशुपति खतिवडा, सहारा नेपाल साकोसका कार्यक्रम संयोजक किसन गौतमलगायतले संयुक्तरूपमा च्यापकटर कृषकलाई हस्तान्तरण गरेका थिए । नगरप्रमुख शिवाकोटीले नगरपालिकाले कृषकलाई प्रोत्साहन गर्ने उद्देश्यले यन्त्र प्रदान गरेको बताए।

‘कृषिमा आधुनिकीकरण र कृषकको दैनिकीमा सहजता ल्याउन मेसिन प्रदान गरिएको छ’, उनले भने, ‘नगरपालिकाले प्रदान गरेको मेसिनको सदुपयोग गर्नुहोस्, कृषकको जीवनस्तर उकासिनु भनेको राष्ट्रकै विकास हुनु हो ।’

कार्यक्रममा कृषक नन्दु उप्रेतीले यन्त्र प्रदान गरेकोमा  धन्यवाद दिँदै सही कृषकको पहिचान गरेर नगरपालिकाले सहयोग गर्नुपर्नेमा जोड दिए। उपप्रमुख प्रसाईंले नगरमा कृषि क्षेत्रको विकासका लागि नगरपालिका प्रतिबद्ध रहेको बताए ।

साझेदारी अनुदान कार्यक्रमअन्तर्गत कृषकलाई नगरपालिकाले ४५ र सहारा नेपाल साकोसले २५ च्यापकटर दिएको नगरपालिकाका पशु सेवा शाखा प्रमुख सावित्राकुमारी दाहालले जानकारी दिए  । छ लाख ४० हजारको लागतमा उक्त यन्त्र खरिद गरिएको हो । नगरपालिकाले आर्थिक वर्ष २०७६/७७ मा पशु सेवाअन्तर्गत  एक करोड १६ लाख बजेट विनियोजन गरेको प्रमुख दाहालले जानकारी दिए ।  
 

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि