बैशाख २१, २०८१, शुक्रबार
               

कोरोनाका कारण विदेशमा थप तीन जनाको मृत्यु

नेपाल फ्ल्यास
माघ १८, २०७७

फाइल फोटो
ADVERTISEMENT

काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट विदेशमा थप तीन जना नेपालीको मृत्यु भएको छ ।

गैरआवासीय नेपाली संघका अनुसार यो साता युकेमा तीन जनाको संक्रमणका कारण मृत्यु भएको हो । यो सहित विदेशमा कोरोना संक्रमणका कारण मृत्यु हुने नेपालीको संख्या ३३० पुगेको छ ।

गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिका संयोजक सञ्जिव सापकोटाका अनुसार शनिबार साँझसम्म विभिन्न ५० देशमा रहेका ५८ हजार ६९५ जना नेपालीमा कोरोना संक्रमण देखिएको छ । तीमध्ये ५५ हजार ७९३ जना कोरोनामुक्त भएका छन् । यो कुल संक्रमितको ९४ प्रतिशत हो ।

गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका अनुसार यो साता बेलायत, मलेसिया, साउदी अरब, पोर्चुगल र नाइजेरियामा रहेका थप नेपालीहरुमा कोरोना संक्रमण देखिएको छ ।

यस्तै कोरोना भाइरसका कारण नेपालमा दुई हजार २७ जनाको मृत्यु भएको छ । नेपालमा कोरोना भाइरसबाट संक्रमण हुनेको संख्या २ लाख ७० हजार ८५४ जना छ भने दुई लाख ६६ हजार ४८ जना अर्थात ९८.२ प्रतिशत कोरोनाबाट मुक्त भएका छन् ।

साक्षरतासम्बन्धी निर्देशिका जारी

गैरआवासीय नेपाली संघ अन्र्तगतको स्वास्थ्य समितिले खोप साक्षरता सम्बन्धी निर्देशिका जारी गरेको छ । आम नेपालीलाई खोपको बारेमा सचेत र सतर्क बनाउने उद्देश्यका साथ जारी यो निर्देशिका सबैले बुझ्ने गरी सरल नेपाली भाषामा छ ।

सो निर्देशिकामा खोप, खोप लगाउँदा, लगाइसकेपछि अपनाउनुपर्ने सावधानी, खोप लगाइसकेपछि देखिनसक्ने सम्भावित असर वा स्वास्थ्य समस्या र त्यसपछिको स्वास्थ्य मापदण्ड लगायतका विषयहरु समेटिएका छन् ।

यसैबीच स्वास्थ्य समितिले छिट्टै स्वास्थ्य सम्बन्धि एक सचेतनामूलक प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने जनाएको छ । त्यसको आवश्यक तयारी र लक्षित समूह पहिचानको काम भइरहेको छ ।

खोप लिएको व्यक्तिबाट अन्यलाई भाइरस सर्न सक्ने

स्वास्थ्य समितिका संयोजक डा. सञ्जिव सापकोटाले कोभिड–१९ विरुद्धको खोप लिइसकेको व्यक्तिबाट पनि अन्यलाई भाइरस सर्न सक्ने भन्दै सतर्क रहन सुझाब दिएको छ ।

हालसम्म कुनै पनि खोपको प्रभावकारिता शत्प्रतिशत नदेखिएकाले खोप लगाइसकेपछि पनि संक्रमण हुँदैन वा आफूबाट अरुलाई सर्दैन भन्नेमा ग्यारेन्टी नहुने उनको भनाइ छ ।

खोपको दुबै मात्रा प्राप्त गरेका व्यक्तिलाई पनि पुनः संक्रमण भएको देखिएकाले स्वास्थ्य सावधानी अपनाउनुको विकल्प नभएको डा सापकोटाले बताए ।


कस्तो लाग्यो ?

यो पनि