कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट विदेशमा थप ९ जना नेपालीको मृत्यु भएको छ ।
गैरआवासीय नेपाली संघका अनुसार यो साता युकेमा चार जना, कुवेतमा तीन जना, पोर्चुगलमा एक जना र मलेसियामा एक जनाको मृत्यु भएको हो ।
गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिका अनुसार योसँगै विदेशमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या (२० देशमा) ३२७ पुगेको छ ।
संघको स्वास्थ्य समितिका संयोजक सञ्जिव सापकोटाका अनुसार शनिवार साँझसम्म विभिन्न ५० देशमा रहेका ५६ हजार २६ जना नेपालीमा कोरोना संक्रमण देखिएको छ । ती मध्ये ५३ हजार ४३२ जना कोरोना मुक्त भएका छन् । यो कुल संक्रमितको ९५ प्रतिशत हो ।
गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका अनुसार यो साता बेलायत, प्रोतुगल, स्पेन, पोल्याण्ड, मलेसिया, जापान लगायत मध्यपूर्वमा रहेका थप नेपालीहरुमा कोरोना संक्रमण देखिएको छ ।
यस्तै कोरोना भाइरसका कारण नेपालमा एक हजार ९९४ जनाको निधन भएको छ । नेपालमा कोरोना भाइरसबाट संक्रमण हुनेको संख्या दुई लाख ६९ हजार १८० छ भने दुई लाख ६३ हजार ७३४ जना अर्थात ९७.५ प्रतिशत कोरोना मुक्त भएका छन् ।
एक सातामा दुई हजार नेपालीहरु संक्रमित
गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिले एक सातामा औसतमा दुई हजार नेपालीहरु संक्रमित हुने गरेको जनाएको छ ।
सो आधारमा एक महिनामा औसतमा आठ हजार नेपाली संक्रमित हुने गरेको समितिका संयोजक सञ्जिव सापकोटाले जानकारी दिए । सोही अवधिमा औसतमा एक महिनाको अवधिमा चार हजार जना संक्रमणमुक्त हुने आंकलन गरेको डा. सापकोटाले बताए ।
स्वास्थ्य समितिले विश्वका विभिन्न मुलुकमा खोप अभियान सुरु भइसके पनि नेपाल लगायतका नेपाली भएका कयौँ मुलुकमा खोप अभियान सुरु नभएकोले सावधानी अपनाउन आग्रह गरेको छ ।