बैशाख २३, २०८१, आइतबार
               

काेभिड – १९ बाट विश्वभर ७३ नेपालीको मृत्यु,  पाँच हजारभन्दा बढी संक्रमित

नेपाल फ्ल्यास
बैशाख २१, २०७७

ADVERTISEMENT

विश्वभर महामारीका रूपमा फैलिरहेको कोभिड–१९ संक्रमणका कारण मृत्यु हुने गैरआवासीय नेपालीको संख्या ७३ पुगेको छ  । गैर आवासीय नेपाली संघ (एनआरएनए), स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकानुसार बेलायतको ग्रेटर लन्डनमा २७,  मिडल्यान्डमा आठ, साउथ इष्टमा ११ र साउथ बेष्टमा ती गरी ४९ जनाको मृत्यु भएको छ । 

यस्तै, संयुक्त राज्य अमेरिकामा कोरोना भाइरस संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १५ पुगेको छ । तीमध्ये, मध्य न्युयोर्कमा १२, कोलोराडोमा दुई र भर्जिनियामा एकजनाको मृत्यु भएको हो । यस्तै, युएई मा पाँच तथा आयरल्याण्ड, जापान, टर्की र नेदरल्याण्ड्समा एक–एकजनाको संक्रमणका कारण ज्यान गएको समितिका संयोजक डा. सञ्जीव सापकोटाले जानकारी दिए ।    

डा. सापकोटाका अनुसार नेपालबाहेक विश्वभर ५ हजार २ सय ४७   गैरआवासीय नेपाली कोरोनाबाट संक्रमित छन् । संक्रमितमध्ये एक हजार ५ सय ७० जना संक्रमणमुक्त भएको जनाइएको छ । 

उनका अनुसार मध्यपूर्वका केही देशमा कोरोना भाइरस संक्रमणका कारण प्रभावित हुनेको संख्या झनै बढिरहेको देखिएको छ ।  ती देशले दुई हजार तीन सय नेपाली श्रमिकमा कोरोना संक्रमण भएको तथ्यांक सार्वजनिक गरेका छन् ।

 विश्वभर छरिएका गैरआवासीय नेपाली विज्ञ चिकित्सकको समूहले तयार पारेको सो आँकडानुसार २७ देशमा रहेका नेपाली कोरोना भाइरसबाट संक्रमित छन् ।

स्वास्थ्य समितिका अनुसार विभिन्न मध्यपूर्वका देशमा दुई हजार तीन सय, अमेरिकामा एक हजार पाँच सय, बेलायतमा एक हजार, बहराइनमा १ सय २६, युएईमा एक सय, कुवेतमा ७८, नेपालमा ५९, साउदी अरबमा ३४, पोर्चुगलमा २६, आयरल्याण्डमा २२, स्पेनमा १२, अष्टे«लियामा १० रहेका छन् ।

त्यस्तै, बेल्जियम र  जापानमा ६–६, स्वीडरल्याण्ड र  क्यानडामा पाँच–पाँच, जर्मनीमा चार, साइप्रस, मलेसिया र  न्युजिल्याण्डमा तीन–तीन, माल्दिभ्स, माल्टा र  हङ्गकङ्गमा दुई–दुई तथा म्यानमा र फ्रान्समा एक–एक गैरआवासीय नेपालीलाई कोरोना संक्रमण भएको  एनआरएन, कोडिभ– १९, उच्चस्तरीय समितिका प्रेस संयोजक चिरन शर्माले जानकारी दिए । 

एनआरएले कोरोना भाइरसको महामारीबाट प्रभावितको सहयोगार्थ ४५ देशका राष्ट्रिय समितिमा राहत वितरणको काम गरिरहेको एनआरएका महासचिव डा‍‍‍. हेमराज शर्माले बताए । उनका अनुसार विभिन्न देशमा कोरोना महामारीबाट प्रभावित ३५ हजारभन्दा बढी नेपालीलाई राहत वितरण गरिएको छ ।  


 


कस्तो लाग्यो ?

यो पनि