बैशाख १६, २०८१, आइतबार
               

भारतीय क्वारेन्टाइनमा बसेका नेपाली जोखिममा

रासस
बैशाख ०१, २०७७

ADVERTISEMENT

 बैतडी । लकडाउनपश्चात सीमा बन्द भएपछि भारतको झुलाघाटका विभिन्न स्थानमा क्वारेन्टाइनमा बसेका नेपाली मजदूरलाई बसोबासको समस्या भएको छ । 

क्वारेन्टाइनमा बसेका नेपालीलाई खानपिनको व्यवस्था भारतीय प्रशासनले गरेको भए पनि उनीहरु एकै कोठाको भुइँमा बस्नुपर्ने बाध्यता रहिआएको छ । सीमानाका बन्द भएपछि अलपत्र परेका नेपालीलाई भारतीय प्रशासनले क्वारेन्टाइनमा राखेको हो । 

दुई सय ५१ नेपाली मजदूरलाई झुलाघाटको तालेश्वर धर्मशाला, खरक्युडा, रज्युडा र जामीरपानीका आधारभूत विद्यालयका क्वारेन्टाइनमा राखिएको छ । 

क्वारेन्टाइनमा राखिएका नेपाली मजदूर आफैँसँग भएको कपडा बिछ्याएर भुइँमै सुत्न बाध्य भएको भारतबाट फर्केका सुर्नया–८ का मानबहादुर बोहराले बताए । उनले भने, ‘क्वारेन्टाइनमा कोचाकोच गरेर बस्नुपर्ने अवस्था रहिआएको छ ।’ 

झुलाघाटका तीन ठाउँमा बसिरहेका नेपाली मजदूरले एकै कोठामा कोचाकोच गरेर बस्नुपरेको बताएका छन् । खानाको लागि भारत सरकारले व्यवस्था गरेको भए पनि बसोबासको भने निकै समस्या भएको पुरचौंडी नगरपालिका–३ न्वादेउका जोगे पार्कीले गुनासो गरे । 

‘एकै विद्यालयमा ८५ जना बस्नु परिरहेको छ’, उनले भने, ‘हामीसँग भएको कपडा बिछ्याएर रात काट्नुपर्ने बाध्यता छ ।’ स्वदेश फर्कन पाए एक महिना भने पनि क्वारेन्टाइनमा बस्न तयार भएको मजदूरले बताएका छन् ।

भारतमा क्वारेन्टाइनमा बसेका नेपाली मजदूरलाई समस्या भएको भारतीय पत्रकार प्रमोदकुमार भट्टले जानकारी दिए । 

क्वारेन्टाइनमा बसेका नेपालीको खानपिन तथा बसोबास व्यवस्था मिलाउन पिथौरागढ प्रशासनलाई आग्रह गरिएको सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले बताए । 
 
उद्धार गर्न सरकारलाई आग्रह 

नेपाल तरुण दल बैतडीले सीमानाकामा फसेका नेपाली मजदूरलाई तत्काल उद्धार गर्न सरकारलाई आग्रह गरेको छ । 

सीमामा अलपत्र परेका नागरिकको पीडा बुझेर तत्काल उद्धार गरी नेपालमै क्वारेन्टाइनमा राख्न तरुण दलले आग्रह गरेको हो ।

तरुण दल बैतडीका उपाध्यक्ष महेश भट्टद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा सीमापारि नेपालीले ठूलो कष्ट भोगिरहेकाले उनीहरुलाई स्वदेश फर्काई क्वारेन्टाइनमा राख्न आग्रह गरिएको छ ।
 
दूधे बालकसहित महिला तथा पुरुष झुलाघाट र धार्चुलालगायतका सीमामा फसेकाले उनीहरूको उद्धार गरी स्वदेश फर्काउन पनि तरुण दलले आग्रह गरेको छ । 

अवैध प्रवेश रोक्न सीमामा सशस्त्र प्रहरी परिचालन 

भारतसँग सीमा जोडिएको बैतडीका सीमाक्षेत्रमा आवागमनमा कडाइ गरिएको छ । लकडाउनका बेला महाकाली नदीबाट अवैधरूपमा नेपाल भित्रिने क्रम नरोकिएपछि भारतसँग सीमा जोडिएका बैतडीका विभिन्न नाकामा सशस्त्र प्रहरी परिचालन गरी आवागमनमा कडाइ गरिएको हो । 

जिल्लाका विभिन्न १० भन्दा बढी नाका ९घाट०मा सशस्त्र प्रहरी परिचालन गरिएको हो । सशस्त्र प्रहरी बल नम्बर ५१ गुल्म बैतडीबाट सीमा क्षेत्रमा पाँच टोली परिचालन भएको सशस्त्र प्रहरी नायब उपरीक्षक अमित सिंहले जानकारी दिए । 

जिल्लाको शिवनाथ गाउँपालिका, पञ्चेश्वर गाउँपालिका र दशरथचन्द नगरपालिकाका विभिन्न सीमा क्षेत्रमा ६३ जनाको टोली परिचालन गरिएको उनले बताए ।  

शिवनाथको कुस्मतघाट र नागार्जुनघाट, पञ्चेश्वरको रोलघाट, हल्दुविनायक, धर्मघाट, विनायकघाट, रोडिदेवल र गिरेगडा र दशरथचन्द नगरपालिकाको बारोकोट र तिरखडेनीमा गरी पाँच टोली परिचालन गरिएका छन् । 

लकडाउनमा सीमानाका बन्द भएपछि भारतबाट अवैधरूपमा महाकालीमा ट्युबमार्फत नेपाल भित्रिने क्रम नरोकिएपछि सशस्त्रको टोली परिचालन गरिएको बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले जानकारी दिए । 

अवैधरूपमा नेपाल भित्रिने क्रम रोक्न सीमामा अस्थायी चेक पोइन्ट स्थापना गरी उच्च सतर्कता अपनाइएको उनले बताए । 

सशस्त्र प्रहरी परिचालनले सीमानाकाको आवागमनमा कडाइ भएको छ । लकडाउनका बेला अवैधरूपमा भारतबाट आएका सुदूरपश्चिमका नागरिकमा कोरोना सङ्क्रमण देखा परेपछि सीमा क्षेत्रमा आवागमनमा कडाइ गरिएको हो । सीमा क्षेत्रका आवागमनमा कडाइ गर्न आवश्यकताअनुसार थप सुरक्षाकर्मी परिचालन गरिने जनाइएको छ । 

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि