बैशाख १२, २०८१, बुधबार
               

के माधव नेपालको दल राष्ट्रिय पार्टी बन्ला ? समानुपातिकमा यस्तो हुँदै छ प्रतिनिधित्व

नेपाल फ्ल्यास
मंसिर १४, २०७९

ADVERTISEMENT

एमालेबाट फुटेर बनेको नेकपा एकीकृत समाजवादी (जसलाई धेरैले नेकपा एस नामले चिन्दछन्) राष्ट्रिय पार्टी बन्ला ? यो प्रश्न यतिबेला सर्वाधिक चासो विषय बनेको छ ।

कारण हो राष्ट्रिय पार्टी बन्नासाथ उसले प्रतिनिधिसभामा समानुपातिक सिट पाउँछ । ११० सदस्य हुने प्रतिनिधिसभाको समानुपातिकमा राष्ट्रिय पार्टी बन्नासाथ चार जनाको प्रतिनिधित्व सुनिश्चित छ । त्यो सिटमध्ये एउटा कांग्रेसको भाग खोसिएर पर्ने भए पनि चार जना सांसद थपिँदा गठबन्धनलाई बहुमतका लागि अझ सहज हुने छ ।

अर्कोतर्फ माधव नेपालको दल राष्ट्रिय पार्टी हुँदा बाम ध्रुवीकरणको मुद्दा तत्काल नउठ्ने विश्वास प्रधानमन्त्री शेरबहादुर देउवा पक्षधरहरूको छ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पटकपटक माधव नेपालको दल राष्ट्रिय पार्टी नबन्ने भविष्यवाणी र ठोकुवा गरेका कारण पनि यो मतगणना बढी चर्चामा छ ।

नेपालको दलको कलम चिन्हमा समानुपातिक मत सुधार हुँदै गएपछि केही दिनअघि ओलीले देशभरका मतगणनामा रहेका कार्यकर्तालाई चनाखो रहन निर्देशन दिएपछि यसप्रतिको चासो अझ बढेको हो ।

नेकपा एस राष्ट्रिय दल बनेसँगै अहिले समानुपातिकमा परेका दलहरू भित्रैबाट उसले सिट पाउने हो । त्यसैले नेकपा एसले तीन प्रतिशत मत कटाए क कसको सिट घट्ला भनेर पनि यसलाई चासोपूर्वक हेरिएको छ ।

बुधबार साँझ सवा पाँच बजे यो सामग्री तयार गर्दासम्म नेकपा एसले २ लाख ९० हजार एक सय ७४ मत ल्याएको छ । जुन कुल समानुपातिकतर्फ गणना भएको सदर मतको २ दशमलव ८५ प्रतिशत हो ।

यतिबेलासम्म कुल एक करोड एक लाख ६७ हजार मत गणना भइसकेको छ । पाँच प्रतिशतको हाराहारीमा मत बदर भएको निर्वाचन आयोगले जनाएको छ । समानुपातिकतर्फ एक करोड ९ लाख हाराहारीमा मतदान भएको छ । अब करिब चार लाख भोट गन्न बाँकी छ ।

बाँकी चार लाख भोटबाट नेकपा एसले राष्ट्रिय पार्टी बन्न कम्तीमा ६ प्रतिशत अर्थात् २४ हजार मत ल्याउनु पर्ने अवस्था छ । बिहीबार पुन: मतदान हुने दोलखाको बुथहरूमा करिब ८ हजार मतदाता रहेका छन् । त्यहाँ ६० प्रतिशत मतदान भएमा गठबन्धनका सबै दलको शतप्रतिशत मत कलममा परेको अवस्थामा तीन हजार मत आउने सम्भावना छ । बाँकी क्षेत्रमा कलमको मत तीन प्रतिशतभन्दा बढी आउने आधार भेटिएको छैन । अन्तिम क्षणमा राष्ट्रिय पार्टी नजिक पुगिसकेको नेकपा एस रिङ बाहिर पुगेमा आश्चर्य नमाने हुन्छ ।

माधव नेपालको दल राष्ट्रिय पार्टी नबनेमा अहिलेकै अनुपातमा मत कायम रहे समानुपातिकमा यस्तो हुनेछ सिट विभाजन:

एमाले- ३३

कांग्रेस- ३२

माओवादी- १४

रास्वपा- १४

राप्रपा- ७

जसपा- ५

जनमत- ५

मंगलबार मध्यान्नदेखि बुधबार मध्यान्हसम्म जसपा र जनमत पार्टीको मत प्रतिशत बढेको थियो । तराईका केही क्षेत्रको मत जोडिएपछि जनमतको मतमा ह्वात्तै सुधार आएर राष्ट्रिय दल बन्ने निश्चित भएको हो । सो अनुपात पुनः घटेको छ । सोही अनुपात कायम रहको भए ती दुवै दलको सिट संख्या अझ बढ्ने थियो । तर अब सुनसरीको एक क्षेत्रमा बाहेकमा जनमत र जसपाको मत उनीहरूले पाएको औषतभन्दा माथि जाने अवस्था छैन ।

सुरुमा ९ सिट सुरक्षित गरेको राप्रपाले भने अब समानुपातिकमा ७ स्थान मात्र पाउने अवस्था बनेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी पनि १९ सिटबाट १४ सिटमा झरेको छ ।

यी सबै उपलब्ध तथ्यांकका आधारमा प्राविधिक विश्लेषण हुन् । अन्तिम परिणाम आएपछि मात्र निश्चित संख्या निर्धारण गर्न सकिने छ ।

  

यो पनि