बैशाख ११, २०८१, मंगलबार
               

जसपा फुट्दा सरकार झनै बलियो, अध्यादेशको सहारा नचाहिने

ADVERTISEMENT

निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) को आधिकारिकता अध्यक्ष उपेन्द्र यादव पक्षलाई दिएसँगै शेरबहादुर देउवा नेतृत्वको सरकार थप बलियो भएको छ । देउवा नेतृत्वको सरकार निर्माणमा निर्णायक भूमिकामा रहेको एमालेको माधव नेपाल समूहविनै पनि संसदमा सरकारको बहुमत पुग्ने भएपछि थप बलियो भएको हो । यसअघि सत्तारुढ एमाले विभाजित हुँदा प्रधानमन्त्रीमा विश्वासको मत पाएका देउवालाई अब जसपा फुटलेसमेत संसदमा विधेयक पास गर्न सहज बहुमत पुग्ने देखिन्छ । 

यसअघि सत्ता समीकरणमा नेकपा एमालेको माधवकुमार नेपाल पक्ष निर्णायक देखिएको थियो । अब भने आधिकारिकता पाएको यादव नेतृत्वको जससाको निर्णायक देखिएको छ । जसपाको विवादमा यादव पक्षले आधिकारिकता पाएपछि अध्यक्ष महन्थ ठाकुर पक्ष आफ्ना जनप्रतिनिधि जोगाउने वा नयाँ दल दर्ता गर्ने अन्योलमा परेको छ । आयोगले ठाकुर पक्षलाई पार्टीभित्रै रहने वा नयाँ दल बनाउने विकल्प दिएको छ । आफ्ना जनप्रतिनिधि जोगाउने हो भने ठाकुरले सांसदहरूलाई यादव पक्षमै पठाउनुपर्ने छ ।

जसले गर्दा पार्टीको ह्विप मान्नुपर्ने हुन्छ । यदि नयाँ दल बनाएर अघि बढेमा उनको पक्षमा लाग्ने जनप्रतिनिधि कानुनी रूपमा पदमुक्त हुनेछन् । ठाकुर पक्षमा रहेका सांसद पदमुक्त हुँदा पनि देउवा पक्षमा सहज बहुमत पुग्ने समीकरण छ । त्यसबाट प्रधानमन्त्री देउवाका लागि गणितीय शक्ति प्राप्त हुनेछ ।

ठाकुर पक्षले संसद् र केन्द्रीय कार्यकारिणीमा ४० प्रतिशत नपुर्‍याई नयाँ पार्टी गठन गरे उनीहरूमा रहेका सांसद पद मुक्त हुनेछन् । यो समूहसँग रहेका १२ सांसद निष्काशनमा परी घटेमा संसदमा १३० को अङ्क बहुमत हुन्छ । जब कि सत्ता गठबन्धनसँग फेरि पनि १३१ सांसद रहन्छन् ।

संसदमा कुल दुई सय ६६ सांसद छन् । त्यसमध्ये प्रधानमन्त्री देउवाले एक सय ६५ मत प्राप्त गरी विश्वासको मत प्राप्त गरेका थिए । मतदान प्रक्रियामा दुई सय ४९ सांसद सहभागी थिए । बाँकी १७ जना अनुपस्थित  थिए । देउवालाई काँग्रेस, माओवादी, एमालेको नेपाल पक्षका, जसपा र जनमोर्चाका सांसदले मत दिएका थिए ।

एमाले ओली पक्ष विपक्षमा अभियो भने राप्रपा र नेमकिपा तटस्थ बसेका थिए । अहिले जसपामा रहेका ठाकुर पक्षमा १२ सांसद छन् । यदि उनीहरूले ठाकुरले खोल्ने नयाँ दलमा आए भने उनीहरूको पद स्वतः गुम्ने छ । यति हुँदा १ सय ५४ जना सांसद संसदमा हुने छ । यो अङ्कगणितको बलमा सरकारले संसदमा बहुमतबाटै विधेयक पास गर्न बहुमत सङ्ख्या १ सय २८ पुग्ने छ । संसद बैठक अन्य गरेर कुनै अध्यादेशको भर पर्नुपर्दैन । 

ठाकुर पक्षका सांसदले पद नछाड्दा यस्तो हुनेछ अङ्कगणित

यदि महन्थ ठाकुर पक्षका सांसद पद जोगाउन यादव पक्षमै रहे पनि देउवा बलियो नै हुनेछन् । विश्वासको मत लिँदा देउवाले एमालेको माधव  नेपाल समूहका २२ सांसदको मत पाएका थिए । तर  त्यो समूहले संसदमा विद्ययक पास गर्न साथ नदिएपनि काँग्रेस, एमाले र जसपा मिलेर बहुमत पुग्ने छ । कांग्रेसका ६१, माओवादीका ४८, जसपाका ३२ तथा जनमोर्चा र स्वतन्त्र एक-एक गरी १४३ सांसद पुग्छन् ।

यस्तो अवस्थामा जान्छ सांसदको पद

राजनीतिक दलसम्बन्धी ऐनको दफा ३२ (१) अनुसार कसैले सम्बन्धित दलको सदस्यबाट लिखित रूपमा राजीनामा दिए, अर्को दलको सदस्यता लिए वा आफैँले वा स्वयं संलग्न भई अर्को दल गठन गरेमा दल त्याग गरेको मानिन्छ र स्वतः उसको सांसद पदसमेत जान्छ ।

आयोगले ठाकुर पक्षलाई पार्टीभित्रै रहने वा नयाँ दल बनाउने विकल्प दिएको छ । नयाँ दल बनाएर अघि बढेमा उनको पक्षमा लाग्ने जनप्रतिनिधि कानुनी रूपमा पदमुक्त हुने संविधानविद् भीमार्जुन आचार्य बताउँछन् । उनका अनुसार नयाँ दल दर्ता प्रक्रियामा नगई जसपामै रहेमा भने सांसद पद जोगिन सक्छ ।

पत्रकार पुडासैनी राजनीति एवं समसामयिक क्षेत्रमा कलम चलाउँछन् ।

कस्तो लाग्यो ?

यो पनि