बैशाख १४, २०८१, शुक्रबार
               

बहादुर भवनमा उपेन्द्र मख्ख : 'ठाकुर पक्षले आत्मालोचना गरे विचार गर्छौं'

नेपाल फ्ल्यास
साउन ११, २०७८

ADVERTISEMENT

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले अर्का अध्यक्ष महन्थ ठाकुरले सार्वजनिक रुपमा माफी माग्नुपर्ने बताएका छन् ।

बहादुर भवन (निर्वाचन आयोग) मा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष यादवले आत्मालोचना गरेमा ठाकुर पक्षका नेताहरुको विषयमा पार्टीले बिचार गर्ने बताए ।

उनले भने, ‘उहाँहरुलाई हामीले घोक्राएर पठाएको होइन, आफैं बाटो बिराउँदै बिराउँदै गलत ठाउँमा पुग्नुभयो । उहाँले बिराएको बाटो र लिएका गलत नीति सच्याएर, सार्वजनिक रुपमा आत्मआलोचना गरेर आउनेु भयो भने यो पार्टी हो पार्टीले विचार गर्छ ।’

असंवैधानिक प्रतिगमनकारी शक्तिलाई साथ दिएर ठाकुर पक्षले गलत गरेको भन्दै यादवले सो विषयमा सार्वजनिक रुपमा आत्मालोचना गर्नुपर्ने बताए ।

मौका दिनुपर्यो नि भन्ने पत्रकारहरुको प्रश्नमा अध्यक्ष यादवले भने, ‘मौका दिएकै हो, अध्यक्ष पनि बनाइदिएकै हो । अब कुन मौका बाँकी छर दिनलाई ?’ उनले ठाकुर पक्षका लागि गेटमा ताला नलगाएको प्रतिक्रिया दिए । ‘उहाँहरु पनि पार्टीकै पक्षमा रहनु हुन्छ भन्ने जानकारी पाएका छौं,’ यादवले भने ।

उनले ५१ जना केन्द्रीय कार्यकारिणी सदस्य रहेका ३४ जनाले आफ्नो पक्षमा सनाखत गरिसकेको जानकारी पनि दिए ।

मख्ख छन् उपेन्द्र

केपी ओली नेतृत्वको सरकारमा सहभागी हुँदा जसपाको महन्थ ठाकुर पक्ष संसदीय दलमा करीव दुईतिहाई बहुमतमा थियो भने कार्यकारिणी समितिमा पनि लगभग हाराहारी थियो । तर, सत्ता परिवर्तनसँगै उपेन्द्र यादव पक्ष दुई तिहाई नजिक पुगेको छ भने ठाकुर पक्ष निरीह बनेको छ ।

एक वर्षअघि राजपा र समाजवादी पार्टी एकीकरण हुँदाको शक्ति अब ठाकुरले गुमाएका छन् । पार्टीको आधिकारिकता उपेन्द्र यादव पक्षले पाउँदै गर्दा ठाकुरले केन्द्रीय कार्यकारिणी समिति र संसदीय दल दुवैतिर ४० प्रतिशत नपाउने अवस्था देखिएको छ ।

५१ सदस्यीय कार्यकारिणी समितिका ३४ जनाले उपेन्द्र पक्षमा सनाखत गरिसकेका छन् भने जेलमा रहेका रेशम चौधरीले पनि यादवलाई साथ दिने बताइएको छ । ठाकुर पक्षमा कार्यकारिणी समितिका १६ जना पनि नपुग्ने यादवनिकट नेताहरूको दावी छ ।

निर्वाचन आयोगले यादवलाई आधिकारिकता दियो भने ठाकुरलाई अर्को दल दर्ता गर्ने मौका दिन्छ । तर, ४० प्रतिशत पुगेन भने सांसद पद धरापमा पर्ने अवस्था हुन्छ र ठाकुर अझ कमजोर हुन्छन् । जसपाका ३२ सांसदमध्ये १९ जना यादव पक्षमा पुगिसकेका छन् ।

यो पनि