बैशाख १५, २०८१, शनिबार
               

प्रधानमन्त्री देउवाविरुद्ध उभिए गगन, झलनाथलाई उपचार खर्च नदिन खबरदारी

नेपाल फ्ल्यास
साउन ०६, २०७८

ADVERTISEMENT

काँग्रेस केन्द्रीय सदस्य गगन थापा आफ्नै पार्टी सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध उभिएका छन् । देउवाले दिल्लीमा उपचार गराइरहेका पूर्वप्रधानमन्त्री झलनाथ खनालको उपचार खर्च सरकारले बेहोर्ने बताएपछि उक्त निर्णयविरुद्ध थापा उत्रिएका हुन् । पूर्वस्वास्थ्य मन्त्री समेत रहेका थापाले जनस्वास्थ्य ऐनअनुसार विदेशमा उपचार गराइरहेका व्यक्तिलाई उपचार खर्च बेहोर्न नमिल्ने भन्दै देउवालाई सचेत गराएका छन् ।

मङ्गलवार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको खुमलटारस्थित निवासबाट प्रधानमन्त्री देउवाले खनाललाई फोन गरेर उपचार खर्च सरकारले बेहोर्ने बताएका थिए । यो खबर बाहिरिएसँगै थापाले कानुनअनुसार खनालको उपचार खर्च सरकारले बेहोर्न नमिल्ने बताएका हुन् । 

यसअघि केपी शर्मा ओली सरकारले पनि झलनाथ खनालको उपचार बेहोर्ने बताएको थियो सो निर्णयपछि पनि थापाले विरोध जनाएका थिए । २०७४ सालमा बनेको जनस्वास्थ्य ऐनमा ‘प्रचलित कानुनमा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै व्यक्तिलाई विदेशमा उपचार गर्नु परेमा सोको लागि लाग्ने खर्च नेपाल सरकारबाट उपलब्ध गराइने छैन’ भन्ने उल्लेख छ । पूर्वस्वास्थ्य मन्त्री थापाले उक्त कानुन २०७५ असोज २ गतेदेखि लागू भइसकेको बताएका छन् ।

थापा भन्छन् ‘यो कानुन कार्यान्वयनमा आइसकेको अहिलेको अवस्थामा नेपालको बहालवाला राष्ट्रपति, प्रधानमन्त्रीदेखि अन्य कसैको पनि विदेशमा भएको उपचारको खर्च नेपाल सरकारले व्यहोर्न पाउँदैन । कानुनको यो व्यवस्थाको सम्बन्धमा प्रधानमन्त्री प्रस्ट हुनुहुन्छ भन्ने मलाई विश्वास छ ।’

खनाललाई उपचार गराउन परिवार, पार्टी नै लागिरहेको पनि थापाले बताए । ‘उहाँलाई उपचार खर्च जुटाउनु पर्ने अवस्था नै आएमा त्यसको लागि देश विदेशमा रहेका हामी सबै नेपाली हरदम तयार छौँ र रहन्छौँ नै । यस्तो बेलामा उहाँको विदेशमा गरेको उपचारको खर्च सरकारले व्यहोर्ने भन्ने विषय उठाइ उहाँको बारेमा अनावश्यक टीकाटिप्पणी गर्ने वातावरण बनाएर उहाँ र उहाँको परिवारलाई दुःखी नबनाऊँ,’ थापाले भनेका छन् ।

थापाले प्रधानमन्त्री देउवालाई ध्यानाकर्षण गराउँदै विदेशमा उपचार गराउने व्यक्तिलाई सरकारले खर्च बेहोर्न नपाउने भनेका छन् ।

 

यो पनि