काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले पिसिआर परीक्षण बढाउन र आइसियु तथा भेन्टिलेटरसहित बेड व्यवस्था गर्न माग गरेका छन् । शुक्रबार पत्रकार सम्मेलन गरी देउवाले सरकारसामू ११ बुँदे माग अघि सार्दै सो माग गरेका हुन् ।
पत्रकार सम्मेलनका क्रममा सभापति देउवाले महामारीको प्रकोप नेपालमा पनि तीव्र रुपमा फैलिरहेकाले सरकारलाई यसप्रति संवेदनशील बन्न आग्रह पनि गरेका छन् ।
साथै उनले अहिलेको अवस्थामा जनताको सामाजिक र आर्थिक जीवन पनि प्रभावित बन्दै गएकोले सरकारले निम्न स्तरका जनताका लागि राहत र सहयोगका प्याकेज ल्याउन पनि माग गरेका छन् ।
‘गत वर्ष पनि कोरोनाकै कारण जनताको दैनिकै निकै प्रभावित बन्यो । अहिले पनि सबै प्रकारका कामहरु ठप्प हुने अवस्थामा छन् । यसैकारण सरकारले त्यस्ता वर्गका लागि राहत तथा उद्धारका कार्यक्रमहरु ल्याउन सरकारसँग गर्दछु,’ देउवाले भने ।
कोरोनाको फैलावट बढ्दै गएपछि सरकारले गरेको निषेधाज्ञाका कारण जनताहरु कोभिड परीक्षण नै नगरी घर गएकाले उनीहरुको सुरक्षाको जिम्मेवारी लिनुपर्ने बताए ।
देउवाले शहरकेन्द्रित मात्रै नभएर ग्रामीण क्षेत्रमा पनि कोभिड परीक्षण, कन्ट्राक्ट ट्रेसिङ र औषधोपचारको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।
कोभिडकै महामारीमा पनि नेपालीहरु विदेश जाने क्रम नरोकिएकाले उनीहरुका लागि सबै अस्पतालहरुमा सहज परीक्षणको व्यवस्था मिलाउन कांग्रेसले सरकारसँग माग गरेको छ ।
यस्तै सीमा नाकामा बढी जोखिम भएकाले सीमा पारीबाट आउनेका लागि नाकामै प्रभावकारी परीक्षणको व्यवस्था गरी उनीहरुलाई केही समय होल्डिङ सेन्टरमा बस्ने व्यवस्था मिलाउन पनि देउवाले सरकारसँग माग गरेका छन् ।
कांग्रेसले गतवर्ष फ्रन्ट लाइनमा खटिएका स्वास्थ्यकर्मीहरुले अहिलेसम्म जोखिम भत्ता नपाएको भन्दै यसवर्ष उनीहरुका लागि प्राथमिकतामा राख्न पनि माग गरेको छ ।