बैशाख २७, २०८१, बिहीबार
               

एमाले र जसपाको वार्ता सकारात्मक, माग पूरा गर्न सरकार तयार !

नेपाल फ्ल्यास
फागुन २७, २०७७

ADVERTISEMENT

काठमाडौं । जनता समाजवादी पार्टीको माग पूरा गर्न केपी शर्मा ओली नेतृत्वको सरकार तयार भएपछि सत्तासीन नेकपा एमाले र जनता समाजवादी पार्टीको बैठक सकारात्मक बनेको छ ।

जसपाको माग पूरा गर्ने मोडालिटी बनाउने प्रारम्भिक सहमति पनि ती दुई दलबीच बनेको छ ।

जनता समाजवादी पार्टीले जेलमा रहेका आफ्ना निलम्बित सांसद रेशम चौधरीको रिहाइ र संविधान संशोधनलाई आफ्नो प्रमुख सर्त बनाएको छ । 

यी दुई दलबीच सहमति भएमा ओली सरकारको संकट टर्ने भएकोले नेपाली राजनीतिमा यो वार्ता अर्थपूर्ण रहेको छ । यद्यपि जसपाका नेताहरू उपेन्द्र यादव र डा. बाबुराम भट्टराई तत्कालै ओलीलाई प्रधानमन्त्रीमा स्वीकार गर्न नहुने अडानमा छन् । उता नेताहरू महन्थ ठाकुर र राजेन्द्र महतोलगायत भने सत्तासीन हुन आतुर छन् ।

दुई दलबीच आज बिहीबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारोहणको विषयमा वार्ता भएको हो ।

वार्तामा प्रधानमन्त्री ओली, एमाले महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल, नेताहरू सुवास नेम्वाङ, शंकर पोखरेल र प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई सहभागी थिए ।

जसपासँग थप वार्ता गर्न एमालेले सुवास नेम्वाङ, विष्णु पौडेल र राजन भट्टराईलाई जिम्मेवारी दिएको छ । आजको वार्तामा जसपाका अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादव, वरिष्ठ नेता राजेन्द्र महतो, अशोक राई र नेता लक्ष्मणलाल कर्ण सहभागी थिए ।

वार्ता सकारात्मक भएको जसपाका नेता कर्णले जानकारी दिए । उनले जसपाको वार्ता टोलीलाई पूर्णता दिने र सरकारसँग आफ्नो माग पूरा गर्न मोडालिटी बन्ने बताए । जसपाले मधेस आन्दोलनमा मुद्दा फिर्ता र पक्राउ परेका आफ्ना कार्यकर्ता रिहाइलाई पनि आफ्नो सर्त बताएको छ ।


कस्तो लाग्यो ?

यो पनि