बैशाख २५, २०८१, मंगलबार
               

विप्लव समूहलाई पक्राउ नगर्न सरकारले दियो प्रहरीलाई निर्देशन

नेपाल फ्ल्यास
फागुन २०, २०७७

ADVERTISEMENT

काठमाडौं । सरकारले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेत्र बिक्रम चन्द  (विप्लव) समूहका नेता, कार्यकर्तालाई पक्राउ नगर्न प्रहरीलाई निर्देशन दिएको छ ।

केही पहिलादेखि सरकारद्वारा प्रतिबन्धित उक्त समूहमाथिको विभिन्न धरपकडलाई रोक्न सरकारले प्रहरीलाई निर्देशन दिएको हो । बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा वार्ता सुरु भएलगत्तै गृह मन्त्रालयले समूहका नेता, कार्यकर्तालाई पक्राउ नगर्न निर्देशन दिएको बताइएको छ ।

प्राप्त स्रोतले दिएको जानकारी अनुसार विप्लव समूहसँग वार्ता गर्न समिति गठन गर्ने तयारी हुने वित्तिकै गृहसचिव महेश्वर न्यौपानेले प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई समूहका नेता, कार्यकर्तालाई पक्राउ नगर्न निर्देशन दिएका छन् ।

सरकारले २८ फागुन २०७५ मा  प्रतिबन्ध लगाएसँगै प्रहरीले विप्लव समूहका नेता तथा कार्यकर्तालाई जहाँ भेट्यो, त्यही पक्राउ गर्ने नीति अख्तियार गर्दै आएको थियो ।

विप्लव समूहले वार्तामा बस्नु अगावै प्रतिबन्ध फुकुवा र जेलमा रहेका नेता, कार्यकर्ताको रिहाइ हुनुपर्ने माग राखेको थियो । समूहले वार्ताका लागि आउँदा विगतमा जस्तो नेता, कार्यकर्ताको गिरफ्तारी नहुने ग्यारेन्टी खोजेको स्रोतले जनाएको छ ।
 


कस्तो लाग्यो ?

यो पनि