जेठ ०२, २०८१, बुधबार
               

झाँक्रीलाई तत्काल रिहा गर्न कांग्रेस र विवेकशील साझाका अध्यक्ष मिश्रको माग

नेपाल फ्ल्यास
माघ २९, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाली कांग्रेस र साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले नेकपा प्रचण्ड–नेपाल समूहकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीलाई तत्काल रिहा गर्न माग गरेका छन् ।

बिहीबार कांग्रेसले एक विज्ञप्ति जारी गर्दै नेकपा दाहाल-नेपाल समूहकी नेतृको रिहाइको माग गरेको छ भने साझाका अध्यक्ष मिश्रले समाजिक सञ्जालमार्फत् सो माग गरेका हुन् । 

जारी विज्ञप्तिमा नेपाल संविधानले सुरक्षित गरेको अभिव्यक्ति स्वतन्त्रताको मर्यादा राख्न नेकपाको दुवै पक्ष आग्रह गरिएको छ । राज्यविरुद्धको अपराध करार गरेर अधिनायक चिन्तन साथ प्रतिशोधपूर्ण राजनीति नगर्न विज्ञप्तिमार्फत सरकारलाई सजग गराएको छ  ।

‘संविधानले सुरक्षित गरेको अभिव्यक्ति स्वतन्त्रताको मर्यादा राख्न हामी दुवै थरिलाई आग्रह गर्छौँ । साथै एकपक्षीय रूपमा पूर्वाग्रहपूर्ण ब्यवहार गरेर अभिव्यक्तिलाई नै राज्यविरुद्धको अपराध करार गरेर अधिनायक चिन्तन साथ प्रतिशोधपूर्ण राजनीति नगर्न सरकारलाई सजग गराउँदछौँ,’ जारी विज्ञप्तिमा उल्लेख छ । 

‘अहंकारयुक्त, अमर्यादित र अशोभनीय अभिव्यक्तिहरु जो जसबाट प्रकट भएका हुन् सबै आलोच्य छन् । यस्ता अभिव्यक्तिले त्यस्ता दल र ब्यक्तिप्रति समाजमा नकारात्मक प्रभाव त पार्छ नै सिंगो राजनीतिप्रति वितृष्णा जन्माउन योगदान गर्छ’, विज्ञप्तिमा भनिएको छ, ‘नेपाली कांग्रेस संयमपूर्वक यसको समाधान पहिल्याउन अपिल गर्दै नेकपाकी नेतृ रामकुमारी झाँक्रीलाई अविलम्ब रिहा गर्न माग गर्छ ।’

राष्ट्रपतिविरुद्ध अशोभनीय अभिव्यक्ति दिएको अभियोगमा झाँक्रीलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो । 

त्यसैगरी, विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले रामकुमारी झाँक्रीलाई विनासर्त रिहा गर्न माग गरेका छन् । मिश्रले बिहीबार एक ट्विट गर्दै सो माग गरेका हुन् । 

झाँक्रीका शब्दभन्दा ओलीका कर्म बढी आपत्तिजनक र दीर्घकालीन रुपमा घातक हुने उल्लेख गर्दै उनलाई कानुन लाग्छ कि लाग्दैन भनेरसमेत मिश्रले प्रश्‍न गरेका छन् ।

मिश्रले सामाजिक सञ्जालमा लेखेका छन्, 'जब देशको नेतृत्व गर्नेहरूले राजनीतिको समग्र स्तरलाई रसातलमा पुर्‍याउँछन्, न तिनको शब्दमा शिष्टता हुन्छ, न कर्ममा कानुन हुन्छ। रसातलको राजनीतिलाई सफा नगरेसम्म घटना बदलिन्छ, प्रवृत्ति बदलिँदैन। झाँक्रीका शब्दभन्दा ओलीका कर्म बढी आपत्तिजनक र दीर्घकालीन रुपमा घातक छन् । उनलाई कानुन लाग्छ कि लाग्दैन?’

यो पनि