चैत १६, २०८०, शुक्रबार
               

संवैधानिक अङ्गहरूले स्वेच्छाचारिता नियन्त्रण नगरे मुलुक दुर्घटनामा पर्छ : अध्यक्ष लोहनी

नेपाल फ्ल्यास
माघ २८, २०७७

ADVERTISEMENT

विदुर । राप्रपा अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले संवैधानिक अङ्गहरूले सरकारका स्वेच्छाचारी निर्णयलाई नियन्त्रण नगरे मुलुक दुर्घटनामा पर्ने बताएका छन् ।

नुवाकोटको विदुरमा आज बुधबार पत्रकारहरूसँग अन्तर्क्रिया गर्दै अध्यक्ष लोहनीले सरकारले पछिल्लो समयमा गरेको राजनीतिक नियुक्तिप्रति आपत्ति जनाएका हुन् ।

उनले प्रश्न गरे- 'संविधानलाई उपेक्षा गरेर चुनाव गराउने भन्ने अनि सयौँको संख्यामा विकासको नाममा राजनीतिक नियुक्ति गर्ने ?'

सरकारले विकास खर्च कटौती गरेकोमा पनि अध्यक्ष लोहनीले आपत्ति जनाए । उनले भने- 'विकास खर्च कटाउने तर तीन सयभन्दा बढी मापदण्ड विना विकासको लागि भन्दै उपसचिवस्तरको राजनीतिक कार्यकर्ता भर्ती गर्ने कार्य गैरजिम्मेवारीको पराकाष्ठा हो ।' 

उनले सरकारका यस्ता क्रियाकलापलाई संवैधानिक अङ्गहरूले नियन्त्रण नगरे मुलुक दुर्घटनामा पर्ने ठोकुवा पनि गरे । उनले हिन्दु राष्ट्र मुलुकको पहिचान, संस्कृति र सभ्यता भएको तर्क गरे ।

उनले राप्रपाको चाहना संवैधानिक राजसंस्था रहेको भन्दै आफ्नो एजेन्डाको पक्षमा देशभर जनमत बन्दै गएको बताए । 

उनले निर्वाचनपछि सुशासन र गुणस्तरीय आर्थिक विकासप्रतिको जनताको आशामा कम्युनिस्ट सरकारबाट तुसारापात भएको आरोप लगाए । 

उनले भने- 'अब त्यो आशा चकनाचुर भएको छ । सरकार जनताप्रति इमानदार रहेन ।प्रमुख  प्रतिपक्षी नेपाली कांग्रेसले सरकारका जनविरोधी क्रियाकलापविरुद्ध आवाज उठाउन सकेन । यस अर्थमा सरकार र प्रतिपक्ष दुवै असफल भएका छन् ।'

अध्यक्ष लोहनीले प्रजातन्त्र बचाउन र देशलाई दुर्घटनाबाट जोगाउन राप्रपा जनताको विकल्प रहेको दाबी गरे ।

यो पनि