बैशाख २४, २०८१, सोमबार
               

पूर्वमाओवादी पक्षको सहानुभूति बटुल्न विप्लव कार्ड

नेपाल फ्ल्यास
माघ २०, २०७७

ADVERTISEMENT

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपामा प्रधानमन्त्री केपी शर्मा ओली पक्षले भूमिगत नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहलाई राजनीतिक मूलधारमा ल्याउने प्रयास थालेको छ । पार्टीमा आएको विभाजनपछि ओली समूहले पूर्वमाओवादी समूहको सहानुभूति बटुल्ने प्रयासस्वरूप विप्लव समूहलाई मूलधारमा ल्याउने रणनीतिमा जुटेको छ ।

प्रतिबन्धित विप्लव समूहलाई राजनीतिको मूलधारमा ल्याउन सकेमा पूर्वमाओवादी खेमाका नेता कार्यकर्ता आफ्नो पक्षमा आउन सक्ने ओली पक्षको आँकलन छ । यसअघि अयोग्य ठहर भएका माओवादी पूर्वलडाकु ओली पक्षमै आइसकेका छन् ।

पछिल्लो समय त्यही उद्देश्यले सरकार र विप्लव समूहबीच अनौपचारिक माध्यमबाट छलफल अघि बढेको छ ।  विप्लव समूहसँग वार्ताका ओलीको प्रयास जारी छ। यसका लागि पूर्वमाओवादीका नेताले जिम्मेवारी पाएका छन् । 

सोहीअनुसार खानेपानीमन्त्री मणि थापाले मंगलबार बिहान नख्खु जेल पुगेर विप्लव समूहका नेता हेमन्तप्रकाश वली ‘सुदर्शन’ सँग छलफल गरेका छन् । तर, सरकारी पक्षले भने मन्त्री थापा कारागारको खानेपानीसम्बन्धी अनुगमनका लागि मात्रै गएको दाबी गरेको छ । मन्त्री थापाले कारागारको निरीक्षण गर्दै विप्लव नेता ओलीसँग संवाद गरेको कारागार स्रोतले जनाएको  छ।

काभ्रेबाट ९ चैत २०७५ मा पक्राउ पर्नुअघि ओली पक्राउ भूमिगत विप्लव समूहका मध्यकमाण्ड इञ्जार्च थिए । उनलाई महानगरीय अपराध महाशाखाले नख्खुमा एनसेल प्रालिको मुख्यालयअगाडि भएको विस्फोटमा संलग्न रहेको आरोपमा पक्राउ गरेको थियो ।

जिल्ला अदालत, ललितपुरले उनलाई १० वैशाखमा पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो । र, ओलीलाई नख्खु कारागार चलान गरिएको थियो । यद्यपि, हालसम्म सरकार र विप्लव समूहबीच पटक-पटक छलफल भए पनि वार्ताका लागि स्पष्ट मिलनबिन्दु भेटिइसकेको छैन ।

पक्राउ परेका छाडे मात्र वार्ता हुन्छ :  विप्लव समूह

विप्लव समूहले पक्राउ परेका आफ्ना नेता कार्यकर्ता रिहाइ गरेमात्र वार्ता गर्ने सर्त राखेको छ । यता सरकारले भने हिंसात्मक बाटो छाड्न आग्रह गरेको छ ।  हिंसात्मक बाटोमा लागेको भन्दै सरकारले २८ फागुन २०७५ मा विप्लव समूहमाथि प्रतिबन्ध लगाएको थियो । 

विप्लव समूहका एक नेताले भने, ‘सरकारले छलफल सुरु गरे पनि अहिल्यै पूर्ण विश्वास गरिहाल्ने अवस्था छैन । प्रतिबन्ध फुकुवा गर्ने मौखिक आश्वासन दिइएको छ । तर, ठोस प्रस्ताव सरकारी तहबाट आएको छैन ।’

यता सरकारी पक्षले भने विप्लव समूहले हिंसाको बाटो छाडेर शान्तिपूर्ण प्रवाहमा आए स्वागत गर्ने जनाएको छ । ओली समूहका नेता तथा शिक्षामन्त्री कृष्ण गोपाल श्रेष्ठ भन्छन्, ‘शान्तिपूर्ण राजनीतिमा आउनका लागि हामीले पहिल्यैदेखि उहाँहरूलाई आह्वान गरिरहेका छौँ, फेरि पनि प्रयास गरिरहेका छौँ ।’ कतिपय ठाउँमा ज्यादतिपूर्ण गतिविधि गरेकाले अहिलेसम्म प्रतिबन्ध लगाउनुपरेको श्रेष्ठको भनाइ छ । 

दुवै पक्षलाई छैन, विश्वास

विप्लव समूह साँच्चै शान्तिपूर्ण बाटोमा आउन चाहेको हो कि होइन विषय नै स्पष्ट भइसकेको सरकारी पक्षको बुझाइ छ । यसअघि सरकारले भूमिगत समूहहरूसँग वार्ताका लागि सोमप्रसाद पाण्डेको नेतृत्वमा वार्ता समिति बनाएको थियो । टोलीलाई दिइएको समय सकिइएको छ । 

त्यसयता औपचारिकरुपमा वार्ताका लागि पहल नभएका होइनन् । तर,  वार्ताको निहुँमा विप्लव समूहले शक्ति सञ्चय मात्र प्रयोग गरेकf कारणले अहिले पनि सो समूहको योजना स्पष्ट थाहा नभइसकेको सरकारी पक्षको बुझाइ छ । 

विप्लव समूहका नेताहरू भने सरकारले वार्ताको प्रस्ताव गर्दैमा अगाडि जाने वातावरण नभएको बताउँछन् । किनकि, विगतमा वार्ताको बहाना देखाउँदै समूहका नेता, कार्यकर्तामाथि धरपकडलाई जारी राखिएको विप्लव समूहका नेताहरूको आरोप छ । धर्मेन्द्र बास्तोला ‘कञ्चन’, माइला लामा, मोहन कार्की ‘जीवन्त’ लगायत नेता वार्ताको प्रयास हुँदाहुँदै पक्राउ परेको उनीहरू बताउँछन् ।


कस्तो लाग्यो ?

यो पनि