बैशाख २४, २०८१, सोमबार
               

खाँदै नखाएको विषयमा विरोध भएपछि राजीनामा दिएँ : गोकुल बास्कोटा

नेपाल फ्ल्यास
माघ १८, २०७७

ADVERTISEMENT

काभ्रे । पूर्वमन्त्री गोकुल बास्कोटाले आफूमाथि व्यक्तिगतरूपमा विरोधको भाषामा नाराबाजी गरेकोमा आपत्ति जनाउँदै सबै दलका हरेक नेताको बैंक खाता हेर्नुपर्ने माग राखेका छन् ।

उनले शनिबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) काभ्रेपलाञ्चोकको पनौती नगर कमिटी बैठक एवं विस्तारित भेलामा उक्त माग राखेका हुन् । ‘खाँदै नखाएको विषयमा विरोध आउँदा राजीनामा दिएँ, अब जिम्मेवार व्यक्तिले नेता र पूर्वमन्त्री भ्रष्टाचारका बोलेको विषयमा आरोप लागेकाले के गर्छौँ, त्यसो भए सबैको बैंक खाता हेरौँ’, उनले भने ।

साथै, बास्कोटाले अहिले विदेशी हस्तक्षेपविरुद्धको अन्तिम लडाइँ भइरहेको बताएका । उनले नेपालको वास्तविक भूगोलबारे विदेशी हस्तक्षेपविरुद्ध अहिलेको लडाइँ अन्तिम नै हुने दाबी गरे।

‘हामी विदेशी हस्तक्षेपविरुद्ध राष्ट्रवादको पक्षमा अन्तिम लडाइँ लडिरहेका छौँ, यो लडाइँमा सहयात्री बनेकाले त्यो लडाइँमा साथ नदिएर व्यक्तिगत स्वार्थमा लागे, यसले राष्ट्रवादमाथि खतराको संकेत दिएको छ’, बास्कोटाले भने ।

सहयात्रीको व्यक्तिगत स्वार्थले ‘चुच्चे नक्शा’ भनेर खिल्ली उडाउनेलाई साथ दिइरहेको उनको दाबी थियो । ‘१४६ वर्षदेखि लुकाएर राखिएको नेपालको विस्तारित राज्यको नक्शा वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक गर्दा पाएको प्रशंसा सहन सकेनन् र अविश्वासको प्रस्ताव दर्ता गर्नसम्म भ्याए, यसलाई कसरी लिने तपाईँहरु आफैँ बुझ्नुस्’, बास्कोटाले भने ।

नेता बास्कोटाले फरक प्रसङ्गमा आजको ठीक तीन महिनापछि संसदीय निर्वाचन हुने बताउँदै निर्वाचनले सिन्दुर र माला लगाएर विजयी जुलुस मात्रै होइन, विदेशीसामु कहिल्यै नझुक्ने नेतृत्व दिलाउने दावी गरे । उनले भने, ‘गत चुनावमा पनि हामी उपरखुट्टी लगाएर बस्न होइन, काम गर्न आएका थियौँ, काम गरिरहेका छौँ, अब पनि गर्नेछौँ ।’

उनले वर्तमान सरकारले पुनर्जागरणको युग सुरु गरेको उल्लेख गर्दै निर्माण, गरिबी विरुद्ध र सुख, शान्तिको नवीनतम युगको थालनी गरेको बताए । उनले सबै नेता कार्यकर्तालाई चुनावी रणनीतिमा लाग्न आग्रह गरे । सो अवसरमा बास्कोटाले विभिन्न पार्टी परित्याग गरी नेकपा प्रवेश गरेका नवप्रवेशीलाई सदस्यता वितरणसहित स्वागत गरे ।

कार्यक्रममा नेकपा केन्द्रीय सदस्य रामहरि सुवेदी, रेसम लामा, भीम न्यौपाने, नारायण पाण्डे, कुमार थापा, अम्बुभवानी कार्की तथा जिल्ला नेता सुरेश हुमागाईँ, गीता बञ्जारालगायतले वर्तमान अवस्थामा निर्वाचनको तयारीमा लाग्नु पार्टी हितमा हुने विचार व्यक्त गरेका थिए । भेलाले २९९ सदस्यीय नेकपा पनौती नगर कमिटी गठन गरेको छ ।


कस्तो लाग्यो ?

यो पनि