बैशाख १२, २०८१, बुधबार
               

संविधानको सर्वोच्चता कायम गर्न सर्वोच्चलाई ऐतिहासिक अवसर : डा. लोहनी

नेपाल फ्ल्यास
माघ ०७, २०७७

ADVERTISEMENT

राजविराज । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले सत्ता लिप्सा र भ्रष्टाचारका कारण देश अराजकतातर्फ धकेलिएको बताएका छन् । उनले सरकार चौतर्फी रूपमा असफल भएकोले मुलुक विदेशीको क्रिडास्थल बनेको टिप्पणी गरेका छन् ।

ओली सरकारले संविधानमा कतै नभएको काल्पनिक प्रावधान प्रयोग गरी विघटन गरेको संसद् पूर्णत असंवैधानिक रहेको डा. लोहनीले जनाएका छन् । सर्वोच्च अदालतलाई संविधानको सर्वोच्चता कायम गर्ने ऐतिहासिक अवसर आएको तर्कसमेत उनले गरेका छन् ।

राजविराजमा राप्रपाको सप्तरी जिल्ला स्तरीय भेलालाई अध्यक्ष लोहनीले नेपालको राष्ट्रियताको जग बलियो बनाउन राज्यका विभिन्न अंगमा आदिवासी, जनजाति, दलित, मधेसी र खसआर्यको समानुपातिक उपस्थिति अनिवार्य रहेको बताए ।

उनले हालसम्मका स्वघोषित क्रान्तिकारी सरकारहरूको ध्यान त्यसतर्फ नगएको भन्दै आश्चर्य व्यक्त गरे ।

साथै डा. लोहनीले राष्ट्रिय एकतालाई बल पुर्‍याउन संविधानअन्तर्गतको राजसंस्था र नेपाली पहिचानको निमित्त हिन्दुराष्ट्र कायम गर्न संविधानको संशोधन आवश्यक रहेको बताए ।

कार्यक्रममा राप्रपाका अर्का नेता श्याम तिमिल्सिनाले आन्दोलनको जगमा राजसंस्था र हिन्दुराष्ट्र फर्काउने उदघोष गरे । 

कार्यक्रममा राप्रपा नेताहरू रामचन्द्र राय, जनकराज पाठकलगायतले राजसंस्था र हिन्दुराष्ट्रको आवश्यकता र औचित्यताबारे धारणा राखेका थिए । 

यो पनि