मंसिर ०७, २०८१, शुक्रबार
               

वामदेवको अपिल : नेकपा एकताका लागि जुलुस निकाल्नुहोस्

नेपाल फ्ल्यास
पुस २५, २०७७

ADVERTISEMENT

काठमाडौं । नेकपा एकता अभियानमा लागेका नेता वामदेव गौतमले पार्टीका दुवै पक्षलाई लडाइँ बन्द गरेर पुन: एकठाउँमा आउन आह्वान गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले यही पुस ५ गते प्रतिनिधि सभा विघटन गराएपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) औपचारिक रूपमै प्रचण्ड-नेपाल समूह र ओली समूहमा विभाजन भएकाे छ ।

दुवै समूहले एकअर्कालाई अवैधानिक र आफूलाई वैधानिक नेकपा भन्दै अलग-अलग कार्यक्रम गरिरहेका छन् । यी कुनै पनि पक्षमा नलागी ‘नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एकता राष्ट्रिय अभियान’ सुरु गरेका गौतमले यसमा साथ दिन पार्टीका दुवै पक्ष र देश-विदेशमा रहेका नेकपा नेता/कार्यकर्तालाई आह्वान गर्दै लामै अपिल जारी गरेका हुन् ।

यस्तो छ उनले गरेको अपिलको पूर्ण पाठ :

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)
एकता राष्ट्रिय अभियान
अपिल

आदरणीय कमरेडहरू,
आज नेपालको कम्युनिस्ट आन्दोलन गम्भीर संकटको मोडमा पुगेको छ। यो संकटले जुर्मुराउँदै उठेको नेपालको कम्युनिस्ट आन्दोलनलाई विभाजन तर्फ धकेलिरहेको छ । नेपालको मात्र होइन एसियाको इतिहासमा पहिलोपटक बहुदलीय प्रतिस्पर्धाको राजनीतिक प्रणालीअन्तर्गत कम्युनिस्ट पार्टीले निर्वाचनबाट दुईतिहाइ नजिकको बहुमत प्राप्त लोकतान्त्रिक सरकार निर्माण हुनु आफैँमा गौरवमय उपलब्धि थियो। यो उपलब्धि मार्क्सवाद-लेनिनवादको मार्गदर्शनमा विकसित जनताको बहुदलीय जनवादको अभ्यासका क्रममा प्राप्त भएको हो भन्दा अतिशयोक्ति हुने छैन ।

तर सरकार सञ्चालनको एउटा कार्यकाल पूरा नहुँदै र पार्टी एकीकरणको तीन वर्ष पनि व्यतीत नहुँदै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजनबाट क्षेतविक्षत हुने दिशातर्फ अग्रसर हुनु अत्यन्त दु:खद् र पीडादायी भएको छ । नेपाली जनताको यति धेरै आशा र भरोसाको केन्द्रका रुपमा रहेको यो पार्टी, राजनीतिक कार्यदिशा, मार्गदर्शक सिद्धान्त, विचार, बहुदलीय समाजवाद निर्माणको कार्ययोजना, पार्टीको रणनीतिक लक्ष्य र वर्ग दृष्टिकोणका सम्बन्धमा होइन पदीय जिम्मेवारी र व्यक्तिवादी कार्यशैली, सरकार सञ्चालन, पार्टी र सरकारको सम्बन्ध कस्तो हुने भनेर उत्पन्न अन्तरविरोधहरुको समाधान गर्न नसक्नाका कारण विभाजन उन्मुख हुनु पार्टीका शिर्षस्थ नेताहरुको अयोग्यताको द्योतक हो ।

हामी सबैलाई थाहा हुनुपर्छ- चार दशकदेखि शान्तिपूर्ण संघर्षका विभिन्न रुपहरु प्रयोग गर्दै राष्ट्रिय राजनीतिक केन्द्रको अग्रभागमा उपस्थित एउटा शक्ति र दश वर्षसम्म सशस्त्र संघर्ष सञ्चालनको पृष्ठभूमिबाट विकसित भएको अर्को शक्तिका विच भएको एकीरणले नेपालको राजनीतिक जगतमा नयाँ आयाम थपेको थियो। राष्ट्रिय राजनीतिमा महत्वपूर्ण हैसियत राख्ने दुई कम्युनिस्ट पार्टीको एकीकरण भए तापनि दुवैमा रहेको फरक-फरक विचार, भावना र कार्यशैलीका कारण नेता र कार्यकर्ताहरुको बीचमा अन्तरघुलन हुन केही समय समस्या देखिनु स्वाभाविक हो । तर तात्कालिक नीतिगत क्षेत्रमा संविधानको सर्वोच्चता, कानुनी राज्य, आवधिक निर्वाचन र बहुदलीय प्रतिस्पर्धात्मक राजनीतिक प्रणालीलाई दुवैले सहर्ष स्वीकार गरिसकेपछि मतभिन्नता त्यति जटिल हुने देखिँदैन ।

सिद्धान्त र कार्यक्रमका सन्दर्भमा केही असमझदारी रहेका थिए, तिनलाई महाधिवेशनबाट टुंगो लगाउने भनी सहमति भएकै थियो । तबसम्म सबै कामहरु अपेक्षाकृत सहमतिका आधारमा सम्पन्न गर्ने सहमति पनि भएकै थियो । पार्टी एकीकरणका नीम्ति गरिएको पछिल्लो सहमतिअनुसार पार्टी र सरकारको नेतृत्व आलोपालो गर्ने भनिएकै थियो । अरु कुनै विकल्पमा जानसक्ने अवस्था नहुँदा दुई अध्यक्ष प्रणालीमा स्वेच्छाले सहमति भएकै थियो । यस्तो हुँदाहुँदै पनि एकीकरणमा सामेल भएका दुई पार्टीका मुख्य नेताहरुमा रहेको व्यवस्थापकीय पक्षको कमजोरीले गर्दा प्रधानमन्त्रीका विरुद्ध अविश्वासको प्रस्ताव लैजाने र प्रतिनिधिसभा भंग गर्ने तथा भर्खर एकीकरण भएको पार्टी विभाजन गर्नेसम्मका दुर्घटना राष्ट्रले बेहोर्नपर्ने अवस्था सिर्जना भएको छ । पार्टीभित्र उत्पन्न हुने समस्या पार्टीभित्रै समाधान गर्न नसकेर सिंगो राष्ट्रलाई प्रभावित गर्ने संस्था प्रतिनिधि सभालाई दुरुपयोग गर्नेसम्मका घटना घट्नु राष्ट्रकै निम्ति अत्यन्तै पीडादायी अवस्था हो ।

पार्टीभित्र उत्पन्न उपरोक्त समस्या समाधान गर्नुको बदला एकीकरणपछिको यो एक वर्ष नेतृत्वको ध्रुवीकरणमा बित्यो । पार्टीभित्र कुनै पनि तहमा संस्थागत छलफल र निर्णय नगरी छापामार शैलीमा एक अध्यक्षले पार्टीका अध्यक्षसमेत रहेका प्रधानमन्त्रीका विरुद्ध प्रतिनिधिसभामा अविश्वासको प्रस्ताव दर्ता गराउनु र त्यसको सामना गर्ने वा नसक्ने भए राजीनामा दिनुको बदला प्रतिनिधिसभा भंग गर्नेसम्मका दुर्घटना अहिले पार्टीले बेर्होन परेको छ । यतिबेला कार्यकर्ताहरुलाई तानातान गर्दै क. केपी शर्मा ओलीको नेतृत्वमा एउटा समूह र क. पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा अर्को समूह देखापरेका छन् । प्रतिनिधिसभा विघटनका विरुद्ध प्रचण्ड समूहका कतिपय व्यक्ति पुनर्स्थापनाको माग गर्दै सर्वोच्च अदालत पुगेका छन् । साथै निजी क्षेत्रका दर्जनभन्दा बढी कानुनविदहरु पनि विघटनका विरुद्ध रिट निवेदनसहित सर्वोच्च अदालत प्रवेश गरेका छन् । नेकपाको प्रचण्ड समूह भने सडक आन्दोलनमा गएको छ। दुवै समूह नेपाल कम्युनिस्ट पार्टीलाई आफ्नो हक दाबी गर्दै निर्वाचन चिह्नसमेत आफ्नो दाबी गरिरहेका छन् ।

उपरोक्त सम्पूर्ण अवस्थालाई सूक्ष्मतम विश्लेषण गर्दै पार्टीको एकता जोगाउन वा पुन:एकीकरण गर्ने उद्देश्य लिएर नेकपाको उपाध्यक्ष रहेको म वामदेव गौतम दुवै समूहलाई समर्थन नगरी नेपाल कम्युनिस्ट पार्टी एकता राष्ट्रिय अभियानको संयोजक बनेर देश र विदेशमा रहेका सम्पूर्ण पार्टी सदस्य, समर्थक, शुभचिन्तकहरुलाई हार्दिक हार्दिक अपिल गर्दै तपाई‌हरुका अगाडि खडा भएको छु ।

यो पार्टी विभाजनमा सामेल हुने र विभाजनलाई नेतृत्व गर्ने कुनै पनि नेतालाई यदि पुन:एकीकरणको अवस्थामा सामेल हुनुभएन भने लोकतान्त्रिक मूल्य/मान्यतामा आधारित समृद्ध समाजवाद निर्माणलाई समर्थन गर्ने नेपाली जनताले कहिल्यै माफी दिने छैनन् ।

उपरोक्त दुवै समूहमा सामेल हुनुभएका कमरेडहरु, 
एकअर्कालाई दोष दिँदै सामान्य मानमर्यादा उल्लघंन गर्दै आफ्ना ऐतिहासिक योगदानहरुलाई च्याँखे थापेर देश र विदेशका कम्युनिस्टविरोधीहरुलाई हसाउँदै सुरु गर्नुभएको लडाइँ बन्द गनुहोस् र फर्कनुहोस्, पुनर्मिलन गर्नुहोस् र हजारौं सहिदहरुको रगतबाट विकसित भएको हाम्रो प्यारो पार्टीलाई मिलेर पुनर्गठन गरौं, ऐतिहासिक शिक्षा लिएर पार्टीलाई व्यवस्थित सञ्चालन गरौं र पार्टीमा उत्पन्न भएका सबै अन्तरविरोधहरुलाई पार्टी पद्धतिअनुरुप सम्मानजनक ढंगबाट हल गरौं ।

देश र विदेशमा रहनुभएका हाम्रो पार्टीका प्रिय कमरेडहरु, 
नेकपा एकता राष्ट्रिय अभियानमा संगठित रुपमा जुट्नुहोस। तपाईहरु जुन ठाउँमा हुनुहुन्छ त्यही नेकपा एकता अभियानको नाम संगठन खडा गर्नुहोस् र विभाजनमा ढल्केका कमरेडहरुलाई सम्झाउनुहोस् । कुनै पनि समूहका नेता कमरेडहरुको गालीगलौजको शैलीमा विरोध नगर्नुहोस् । घरमा आउने कमरेडहरुलाई सक्दाे सहयोग गर्नुहोस् । सबैलाई सम्मान गर्ने कसैलाई पनि अपमान नगर्ने समाजवादी शैली अपनाउनुहोस् ।

कहिलेकाहीँ कोरोना महामारीबाट बच्न सामाजिक दूरी कायम गर्दै प्रत्येकले नाक र मुख ढाक्ने मास्क लगाएर नेकपा एकताको आह्वानमा जुलुस सञ्चालन गर्नुहोस्, एकताको सन्देश दिने पर्चा पोस्टर छापेर बाँड्नुहोस् । यसो गर्नुभयो भने प्रिय कमरेडहरु हाम्रो प्यारो पार्टी र पार्टीका सबै आदरणीय नेताहरुलाई एकै ठाउँमा ल्याउन सकिनेछ र पार्टीलाई पुनः एकीकरण गर्न सकिनेछ ।

लालसलामसहित एकताको क्रान्तिकारी अभिवादन
धन्यवाद

वामदेव गौतम
संयोजक
नेपाल कम्युनिस्ट पार्टी नेकपा एकता राष्ट्रिय अभियान


कस्तो लाग्यो ?

यो पनि