जेठ ०५, २०८१, शनिबार
               

ओलीमा ज्ञानेन्द्र प्रवृत्ति देखा पर्‍यो : नेता नेपाल

नेपाल फ्ल्यास
पुस १४, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा प्रचण्ड माधव समूह)का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीमा ज्ञानेन्द्र प्रवृत्ति देखिएको बताएका छन् । 

संसद विघटनसँगै विकसित राजनीतिक घटनापश्चात् मंगलबार काठमाडौंमा भएको विरोध तथा प्रदर्शनलाई संबोधनका क्रममा नेता नेपालले सो  कुरा बताएका हुन् । ‘ज्ञानेन्द्रकालमा मलाई बोलाएर माधवजी देश हाँक्ने जिम्मा अब तपाईंहरुमा आयो, कांग्रेसमा त्यो क्षमता छैन भन्थे त्यसैगरी, गिरिजालाई बोलाएर पनि त्यसै भन्दा रहेछन् ,’ उनले भने, ‘तर, जब गिरिजा र म एकै ठाउँमा भएर राजाले के भने भनी एकअर्कालाई सोध्थौँ तब पोल खोलाखोल हुन्थ्यो ।’

यसका अलवा उनले  व्यक्तिवाद तथा निरंकुश शैली अपनाउने प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गर्ने समय सकिएको बताएका छन् । 

प्रधानमन्त्री ओलीले एकपछि अर्को अलोकतान्त्रिक कदम चालेको बताउँदै नेता नेपालले जनमतविरुद्ध लागेकाले नेपाली जनता सडकमा उत्रिएको बताए ।

नेकपामात्र होइन प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, जनता समाजवादी पार्टीलगायतका दल सडकमा उत्रिएका छन् । यसले ओलीको कदमलाई प्रश्न गरिरहेको बताए ।

ओली एन्ड कम्पनीको आयु पूरा

अध्यक्ष नेपालले निरंकुशताको बाटो समातेका केपी ओली एन्ड कम्पनीको आयु पूरा भएको दाबी गरेका छन् ।

ओलीले एकपछि अर्को प्रतिगमनकारी कदम चालेको आरोप लगाउँदै अध्यक्ष नेपालले ओलीले संसद विघटन गर्न पार्टीमा केही सहमति नलिएको समेत बताए ।

‘पार्टीमा बसेर स्वच्छाचारी रुपमा काम गर्न पाइन्छ ? पार्टी भनेको के हो ? अनुशासन भनेको के हो ? केपी ओलीलाई पार्टीसँग, अनुसानसँग मतलब छैन, व्यक्तिवाद, फुटवाद हावी भएको छ,’ नेपालले भने, ‘ओलीसँग कम्युनिष्टमा हुनुपर्ने गुण छैनन्, लोकतन्त्रवादीमा हुनुपर्ने आचारण पनि छैन त्यही भएर उहाँको कदमलाई अस्वीकार गर्नुबाहेक अरु विकल्प थिएन ।’

अन्तिम मौका

यसैबीच, अध्यक्ष नेपालले प्रधानमन्त्री ओलीलाई सच्चिनका लागि अन्तिम मौका रहेको बताएका छन् । पार्टी अनुशासनको उल्लंघन गर्दै स्वेच्छाचारी कदम चालेपछि अध्यक्ष पदबाट हटाएपनि केन्द्रीय सदस्य र पार्टी सदस्यबाट नहटाएको उनले बताए ।

नेपालले भने, ‘सुध्रिनिहुन्छ कि भनेर आशा गरेका छौं । केन्द्रीय सदस्य, पार्टी सदस्यबाट हटाएका छैनौं । अन्तिम मौका दिएका छौं ।’ पार्टीका कतिपय नेतालाई पनि ओलीलाई सुधार्न सकिन्छ कि भन्ने लागेको उनले बताए ।

ओलीतिर लागेका नेताहरुतर्फ संकेत गर्दै उनले भने, ‘बालुवाटारको बालुवा पेल्दा तेल निकाल्न सक्नुभयो भने स्याबास भन्छु । बाङ्गो पुच्छरलाई तोरीको तेल घस्दा सोझो बनाउन सक्नुभयो भने स्याबास भन्छु ।’

उनले प्रधानमन्त्री ओली पश्चाताप गरेर आए छलफल गर्न समेत तयार रहेको ताए ।


कस्तो लाग्यो ?

यो पनि