बैशाख २४, २०८१, सोमबार
               

गफै हाँकेर तीन बर्ष बित्याे, ओलीले मरिचमानले जति पनि काम गरेनन् : खनाल

नेपाल फ्ल्यास
पुस १४, २०७७

ADVERTISEMENT

काठमाडौं । नेकपा (प्रचण्ड–माधव पक्ष) का वरिष्ठ नेता झलनाथ खनालले केपी ओली नेतृत्वको सरकारले मरिचमान सिंहले जति पनि काम नगरेको बताएका छन् । 

प्रधानमन्त्री केपी ओलीको संसद विघटन गर्ने कदमको विरोधमा भृकुटीमण्डमा गरेको विरोध सभालाई सम्बोधन गर्दै खनालले १४ वर्ष जेलमा बसेर आएको मान्छे केपी ओलीलाई पार्टी नेताका रुपमा खडा गरेपनि उनले पार्टीलाई भर्‍याङमात्रै बनाएकाले देश नै तहसनहस भएको आरोप लगाए ।

पटक–पटक जनताका पक्षमा काम गर्न सुझाव दिएपनि पार्टीले भनेका कुरा सुन्न छाडेको भन्दै उनी तानाशाही बन्न थालेको बताए । ‘गफ नै गफ हाँकेर तीन बर्ष बिताउनुभयो,’ खनालले भने, ‘केपी ओलीलाई पार्टी अध्यक्ष बनाइयो, प्रधानमन्त्री बनाइयो । पार्टीको कार्यक्रम अनुरुप अघि बढाउने अपेक्षा गर्‍यौँ तर बालुवाटारमा पुगेदेखि उहाँले सबै बिर्सनुभयो । पार्टीलाई भर्‍याङमात्रै बनाउनु भयो ।’

सम्बोधनका क्रममा खनालले ओलीले पार्टी विरोधी र जनविरोधी गुटको नेतृत्व गरेको भन्दै आफैले बनाएको संविधानमाथि विश्वासघात गरेको बताए ।

खोइ पानी जहाज ? खोइ घरघरमा ग्यास पाइप ?

साथै नेता खनालले बालुवाटार पुगेकै दिनदेखि केपी शर्मा ओलीले पार्टी बिर्सिएको आरोप लगाएका छन् ।

‘कहिले पानी जहाजको कुरा गर्नुभयो, कहिले घरघरमा पाइपबाट ग्यास ल्याउने कुरा गर्नुभयो । खोइ पानी जहाज ? खोइ घरघरमा ग्यास पाइप ?’ उनले अघि भने ।

काम गर्न नसकेको भनेर आफूहरुले प्रश्न गर्दा प्रधानमन्त्री ओलीले विश्व चकित हुने काम गरेको दाबी गरेको सुनाए । ओलीले सडक र पुललाई समाजवाद देखेको र पछिल्लो समय त मैले रानी पोखरी बनाएँ भन्न थालेको उनले बताए ।


कस्तो लाग्यो ?

यो पनि