बैशाख १५, २०८१, शनिबार
               

ओली समूहतिरै गृहमन्त्रीको 'ग्रिन सिग्नल'

नेपाल फ्ल्यास
पुस ०९, २०७७

ADVERTISEMENT

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दुई समूहमा विभाजन हुँदा तटस्थ बस्दै आएका गृहमन्त्री रामबहादुर थापा अन्ततः प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको नेकपामै रहने निष्कर्षमा पुगेका छन् ।

पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल अध्यक्ष रहेको नेकपाको वरिष्ठ उपाध्यक्ष बन्ने प्रयास असफल भएपछि गृहमन्त्री थापा ओली नेतृत्वको नेकपामै रहने निष्कर्षमा पुगेका हुन्।

बुधबारसम्म पनि गृहमन्त्रीबाट राजीनामा नगरी प्रचण्ड र ओलीसँग भेट गरेका थापाले साँझ भने ओलीतिरै लाग्ने ग्रिन सिग्नल दिएका हुन् ।

बुधबार ओलीसँग बालुवाटारमा एक घण्टा भेटेर प्रचण्डसँग भेट्न खुमलटार पुगेका थापाले वरिष्ठ उपाध्यक्ष पद माग गरेका थिए, जसमा प्रचण्ड सहमत नभएको स्रोतले बताएको छ ।

प्रचण्ड निकट एक नेताका अनुसार थापाले वरिष्ठ नेता झलनाथ खनालपछिको मर्यादा क्रममा रहने गरी वरिष्ठ उपाध्यक्ष बनाउन आग्रह गरेका थिए ।

‘ओलीले उपाध्यक्ष बनाउने अफर गरेकाले थापाले प्रचण्डसँग वरिष्ठ उपाध्यक्ष पद भए आफू आउने बताउनु भयो तर प्रचण्डले त्यो स्वीकार गर्नु भएन’, थापा निकट एक नेताले भने, ‘गृहमन्त्री रहिरहने र उपाध्यक्ष पनि हुने भएपछि उहाँ ओलीतिरै लाग्ने निष्कर्षमा पुग्नु भएको छ ।’

उनका अनुसार बिहीबार प्रचण्ड–नेपाल पक्ष र ओली पक्ष दुवैको केन्द्रीय समिति बैठक भएकाले सम्भवतः थापा ओलीतिरको बैठकमा सहभागी हुने बताइएको छ ।


कस्तो लाग्यो ?

यो पनि