जेठ ०६, २०८१, आइतबार
               

संविधानको संरक्षकबाटै संविधानको अपव्याख्या

नेपाल फ्ल्यास
पुस ०६, २०७७

ADVERTISEMENT

राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा संविधानको प्रावधानसँग बाझिने गरी संविधानको धाराको अपव्याख्या गर्दै संसद् विघटन गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीको व्यवस्थापिका संसद् विगठन गर्ने निर्णय विवादास्पद र असंवैधानिक भन्दै आलोचित प्रस्तावलाई राष्ट्रपति भण्डारीले सदर गरेकी हुन् ।

भण्डारीले संविधानको धारा ७६ को उपधारा  १ र ७ तथा धारा ८५ बमोजिम संसद् विघटन गरेको राष्ट्रपति कार्यालयले जनाएको छ । जारी गरेको वक्तव्यमा संविधानको धारा ७६ को उपधार १ र ७ को उल्लेख गरिएको छ । संविधानको धारा ७६ को उपधारा १ मा 'राष्ट्रपतिले प्रतिनिधिसभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्नेछ र निजको अध्यक्षतामा मन्त्रिपरिषद्को गठन हुनेछ' भन्ने उल्लेख  छ ।

सोही धाराको उपधारा ७ मा उपधारा ५ बमोजिम नियुक्त प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्न नसकेमा वा प्रधानमन्त्री नियुक्त हुन नसकेमा प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरी छ महिना भित्र अर्को प्रतिनिधिसभाको निर्वाचन सम्पन्न हुने गरी मिति तोक्ने व्यवस्था छ ।

धारा ७ मा उल्लेख भएको उपधारा ५ मा उपधारा ३ बमोजिम नियुक्त प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्न नसकेमा उपधारा २ बमोजिम कुनै पनि सदस्यले प्रतिनिधि सभामा विश्वासको मत प्राप्त गर्न सक्न आधार प्रस्तुत गरेमा राष्ट्रपतिले त्यस्तो सदस्यलाई प्रधानमन्त्री नियुक्त गर्नेछ भन्ने उल्लेख छ ।

त्यस्तै राष्ट्रपति कार्यालयबाट जारी वक्तव्यमा धारा ८५ को उल्लेख छ । धारा ८५ मा 'संविधान बमोजिम अगावै विघटन भएकोमा बाहेक प्रतिनिधिसभाको कार्यकाल ५ वर्षको हुने' उल्लेख छ ।

राष्ट्रपति कार्यालयबाट जारी वक्तव्यमा जुन धाराको हवाला दिइएको छ । त्यस किसिमको परिस्थिति भने अहिलेको अवस्थामा छैन । धारा ७६ मा १ मा भएको प्रावधान अनुसार ओली प्रधानमन्त्री भएका हुन् ।

साथै धारा ७ बमोजिम प्रधानमन्त्री ओलीले संसद्मा विश्वास गुमाइसकेको अवस्था पनि होइन ।  तर राष्ट्रपति कार्यालयले भने सोही धाराअनुसार विगठन गरिएको भनेको  छ ।

 

संविधानविद् भीमार्जुन आचार्य भन्छन्,

अघिल्लो २०४७ सालको संविधानले प्रधानमन्त्रीलाई संसद् विघटन गर्ने अधिकार दिएता पनि वर्तमान संविधानले बहुमत प्राप्त दलको प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार दिएको छैन ।

कुनै पनि दलले बहुमत प्राप्त गर्न नसकेमा मिलीजुली सरकार गठन हुन नसकेमा वा कुनै पनि प्रधानमन्त्री संसद्मा विश्वासको मत पाउन नसकेको अवस्थामा मात्र संसद् विघटन गर्न पाइने छ ।

तर, प्रधानमन्त्री र राष्ट्रपतिले संविधानमै व्यवस्था नभएको कुरा स्वेच्छाचारी व्याख्या गरेका छन् ।

वरिष्ठ अधिवक्ता शम्भु थापा भन्छन्, 

‘संसद् विघटनको अधिकार प्रधानमन्त्रीलाई छैन । २०७२ को संविधानअनुसार संसदले मात्र विघटन गर्न सक्छ । 

संसदले सरकार दिन सकेन भने मात्र विघटन हुन सक्छ । प्रधानमन्त्रीलाई संसद् विघटन गर्ने अधिकार नै छैन । 

संसद् विघटनको यो सिफारिस हिटलरको भन्दा बढी खतरनाक हो ।

संविधानले संसद् विघटनको सिफारिस गर्ने कल्पना नै गरेको छैन । सांसदबाट सरकार गठन हुन नसकेको अवस्थामा संसद् विघटनको प्रावधान छ ।

त्यो सरकारलाई अधिकार दिइएको छ । तर अहिले  जबसम्म सांसदबाट सरकार बन्न सक्छ तबसम्म संविधानमा संसद् विघटनको कुनै प्रावधान छैन ।

यसरी संसद् विघटन गर्नु भनेको संविधानको हत्या हो ।’


कस्तो लाग्यो ?

यो पनि