जेठ ०४, २०८१, शुक्रबार
               

आफूनिकट नेताहरुको भेलामा प्रचण्डले के भने?

नेपाल फ्ल्यास
पुस ०३, २०७७

ADVERTISEMENT

काठमाडौं । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको परिस्थितिविरूद्ध सबै एकजुट भएर लड्नुपर्ने बताएका छन् ।

शुक्रबार पार्टी कार्यालय पेरिस डाँडामा प्रदेश-१ का प्रचण्ड-नेपाल समूह निकट जिल्ला अध्यक्ष र सचिवहरुको भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीको एकलौटीपन र पछिल्लो परिस्थितिविरूद्ध सबै एकजुट भएर लड्नुपर्ने धारणा राखेका हुन् ।

प्रचण्डले आफूहरुले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई निषेध नभई नियन्त्रण गरेर जान खोजेको बताएका छन् । प्रधामनत्री ओली पार्टी निर्णयभन्दा बाहिर गएकाले नियन्त्रण गर्नुपर्ने अवस्था आएको प्रचण्डले बताए । उनले पार्टी निर्णयमा मान्न अध्यक्ष ओलीलाई आग्रह समेत गरे ।

‘अध्यक्ष ओलीलाई निषेध होइन नियन्त्रण गर्न खोजेका हौँ, उहाँले पार्टीको निर्णय मान्नुभएन्, निर्णय मानेर अगाडि बढ्नुहोस् भन्न खोजेका हौँ’, प्रचण्डको भनाइ उद्धृत गर्दै भेलामा सहभागी केन्द्रीय सदस्य जगन्नाथ खतिवडाले भने ।

भेलाले ओलीले अध्यादेश फिर्ता नलिए थप कदम चाल्ने निष्कर्षसमेत निकालेको छ ।

'अध्यादेश फिर्ता नभए हामीले थप कदम चाल्छौं र आजको भेलामा पनि त्यही विषयमा कुराकानी भयो', खतिवडाले सञ्चारकर्मीहरूसँग भने, 'प्रधानमन्त्री ओलीबाट विधि, पद्धति र नेकपाको राजनीति स्खलन भइरहेको छ ।'

पार्टीको अवस्था र अहिलेको परिस्थितिबारे जानकारी गराउन भेला आयोजना गरिएको खतिवडाले जानकारी दिए ।

प्रचण्डले आफ्नो प्रतिवेदन विधि र विधानको लागि भएको बताएका थिए ।

भेलामा मुख्यगरि पार्टीभित्रकै सवालहरुका बारेमा छलफल भएको थियो । पछिल्लो अवस्थाका बारेमा हामीले के कस्तो भूमिका खेल्ने हो भनेर नेताहरुले ओरिन्टेसन गरेको उनले जानकारी गराए ।

भेलामा वरिष्ठ नेताहरु झलनाथ खनाल र माधवकुमार नेपालले पनि बोलेका थिए । 

वरष्ठि नेता माधवकुमार नेपालले प्रधानमन्त्री ओली गोयबल्स शैलीमा कू प्रचारमा उत्रिएको बताए । उनले सबै समस्याको जड नै प्रधानमन्त्री ओली भएको आरोप लगाए ।

अर्का वरिष्ठ नेता झलनाथ खनालले सैद्धान्तिक विषयमा आफ्ना धारणा राखे । उनले विवादित अध्यादेश तत्काल फिर्ता लिन सरकारसँग माग गरे ।

भेलामा प्रदेश १ का १४ जिल्लाका नेकपा इन्चार्ज, अध्यक्ष, सचिव र सो क्षेत्रबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यसमेत सहभागी भएका थिए ।

भेलामा सहभागीहरुले आफूहरु पाँच सचिवालयका तर्फबाट कार्यकारी अध्यक्षले प्रस्तुत गरेको प्रतिवेदनका पक्षमा रहेको बताएको केन्द्रीय सदस्य खतिवडाले जानकारी दिए ।

पार्टी विभिाजित हुन पनि नदिने र गलत प्रवृत्ति हावी हुन पनि नदिने निष्कर्ष भेलाले निकालेको समेत केन्द्रीय सदस्य खतिवडाले बताए ।

आफूहरुले कुनै गुटबन्दी नगरेको दाबी गर्दै उनले विधान उल्लंघन गर्नेले गुटबन्दी गरेको आरोप लगाए । 


कस्तो लाग्यो ?

यो पनि