जेठ ०३, २०८१, बिहीबार
               

सरकारविरुद्ध काँग्रेसको शक्ति प्रदर्शन, सम्बोधनका लागि कुन नेता कहाँ ?

नेपाल फ्ल्यास
मंसिर २९, २०७७

फाइल फोटो
ADVERTISEMENT

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले आज (सोमबार) देशव्यापी सडक प्रदर्शन गर्दै छ । प्रदर्शनपछिको सभालाई सबोधन गर्न काँग्रेसका शीर्ष नेताहरु विभिन्न जिल्लामा खटिएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारविरुद्ध काँग्रेसले सडक आन्दोलन गरेको हो । २०७४ को निर्वाचनमा सहज बहुमत ल्याएर ओलीले सत्ता सम्हालेपछि काँग्रेसले सरकारविरुद्ध गरेको पहिलो आक्रामक आन्दोलन हो ।

ओली सरकारप्रति पछिल्ला दिनमा आलोचना बढिरहँदा मौन बसेको काँग्रेस आफ्नो सम्पूर्ण शक्ति लगाएर सडकमा उत्रिएको हो  ।

देशभर हुने प्रदर्शनपछिको सभालाई सम्बोधन गर्न शीर्ष नेताहरु तथा केन्द्रीय सदस्यहरू ७७ जिल्लामा पुगेका छन् । काँग्रेस सभापति शेरबहादुर देउवाले मकवानपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दैछन् ।

त्यस्तै नेता रामचन्द्र पौडेलले काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दैछन् ।

त्यस्तै उपसभापति विमलेन्द्र निधिले भक्तपुरमा सहभागी हुँदै छन् । महामन्त्री डा. शशांक कोइराला गृह जिल्ला मोरङ पुगेका छन् ।

कोषाध्यक्ष सितादेवी यादवले ललितपुर, अर्जुननरसिंह केसीले पोखरा, डा.रामशरण महतले चितवन र प्रकाशमान सिंहले धनुषामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने काँग्रेसले जनाएको छ ।

नेता कृष्णप्रसाद सिटौला भने कोभिड संक्रमति भएका छन् । सिटौलाले महोत्तरीमा सम्बोधन गर्न कार्यक्रम यसअघि भए पनि कोभिड संक्रमित भएपछि उनी नजाने भएका छन् ।

त्यस्तै उपसभापति विजयकुमार गच्छदार र महामन्त्री पूर्णबहादुर खड्काले पनि कतै सम्बोधन नगर्ने बताइएको छ ।

यस्तै प्रखर वक्ता गगन थापाले कैलालीको विरोध सभालाई सम्बोधन गर्दै छन् । केन्द्रीय सदस्य चन्द्र भण्डारी नुवाकोटमा सम्बोधनको लागी पुगेका छन् ।

त्यस्तै केन्द्रीय सदस्यद्वय एनपी साउदलाई अछाम, प्रदीप पौडेल कञ्चनपुर, केन्द्रीय सदस्य शङ्कर भण्डारी सिराहा, सुरेन्द्र पाण्डे रुपन्देही, वीरबहादुर बलायर डोटी, कल्याण गुरुङ नवलपरासी, धनराज गुरुङ स्याङ्जाको विरोध सभालाई सम्बोधन गर्दै छन् । त्यस्तै रामहरि खतिवडा इलाम, नैनसिंह महरले दोलखामा सम्बोधन गर्दै छन् ।

पुल उद्घाटन गर्न जाँदा तनहुँमा वरिष्ठ नेता  पौडेलमाथि दुर्व्यवहार भएको घटनापछि काँग्रेस कार्यकर्ता एकाएक तातिएर सडक प्रदर्शनमा उत्रिएका थिए । कार्यकर्ता आफैँ सडकमा उत्रिएपछि लगत्तै बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकले देशभर एकैसाथ, एउटै नाराका साथ सोमबार सरकारका विरुद्ध प्रदर्शन गर्ने कार्यक्रम बनाएको हो ।

काँग्रेसले पौडेलमाथि दुर्व्यवहारसहित सर्वसत्तावादी चरित्र देखाएको, भ्रष्टाचार बढेको र प्रधानमन्त्री स्वयं भ्रष्टाचारीको संरक्षणमा लागिपरेको, कोरोना नियन्त्रण र न्यूनीकरणमा बेवास्ता गरेको, जनताको स्वास्थ्य सुरक्षामाथि खेलबाड र महिला हिंसा तथा बलात्कारका घटना वृद्धिजस्ता दर्जनौँ मुद्दा देखाएर विरोध प्रदर्शन गर्दै छ ।

काँग्रेसले कोरोना सङ्क्रमण फैलिन नदिन भौतिक दूरी कायम गर्दै मास्क लगाएर सडक प्रदर्शन गर्न कार्यकर्तालाई निर्देशन दिएको छ  ।


कस्तो लाग्यो ?

यो पनि