जेठ ०५, २०८१, शनिबार
               

जब प्रचण्डले भने- ‘बोल्ने पक्षमा थिइन, ओलीको पत्रले बोल्नैपर्ने भयो’
सर्वदलीय बैठक नै आवश्यक

नेपाल फ्ल्यास
मंसिर २१, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकमा पनि आरोप-प्रत्यारोप सुरु भएको छ ।

प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले पत्र पठाएर पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध विभिन्न आरोप लगाएपछि प्रचण्डले पनि बैठकमा आरोपको खण्डन गरेका छन् ।

ओलीको पत्र सचिवालय सदस्य ईश्वर पोखरेलले वाचन गरेपछि प्रचण्डले भने, ‘आजको बैठकमा म बोल्ने पक्षमा थिइन, प्रस्तावहरु वितरण गर्ने र स्थगित गर्ने भन्ने थियो । अध्यक्ष कमरेड ओलीको पत्रले बोल्नैपर्ने भयो, त्यसैले केही बोल्नु उचित लागेको छ ।’

प्रचण्डले आफ्नो प्रस्ताव औपचारिकरुपमा बैठकमा ओली आफैले छलफल गरिसकेको जानकारी गराए । उनले भने, ‘उहाँ आफैँले प्रस्तावमाथि छलफल गरिसक्नु भएको छ । छलफल गर्न मिल्दैन भन्ने कुरामा कुनै तुक नै छैन । बरु, यहाँ आएका हाम्रा प्रस्तावहरुमा छलफल गरेर निष्कर्ष निकाल्ने प्रयास गर्नुपर्छ ।’

ओलीले फायर खोलेपछिमात्रै आफूहरुले जवाफ दिएको प्रचण्डको भनाइ छ । उनले बैठकमा भने, ‘स्थायी कमिटीको निर्णयविरुद्ध उहाँले पटक पटक काम गर्नुभयो, अपानीमा पनि उहाँको असहमति, कार्यदलको प्रतिवेदनमा पनि असहमति देखियो । सचिवालय बैठक माग गरेर प्रवक्ताले दुई दुई पटक पत्र पठाउँदा पनि मान्नु भएन । हामीले बैठकका लागि लिखित आग्रह गरेपछि उहाँले फायर खोल्नुभयो । हामी सबैजनाको अपमान गरेर उहाँले फायर खोलेपछि प्रतिउत्तर दिइएको हो ।’

प्रचण्डले अब प्रस्तावहरु फिर्ता नहुने बताए । उनले भने, ‘अब छलफल गरेर सार्थक निष्कर्षमा पुग्नुपर्छ । ओली कमरेडकै कारण पार्टी संकटमा परेको हो । अब उहाँले र मैले पेश गरेका प्रस्तावहरु फिर्ता लिन मिल्दैन, यी जनताको मनमनमा गइसकेका छन् । सकरात्मक तरिकाले अर्को निष्कर्ष निकालेरमात्रै हामी अगाडि बढ्न सक्छौँ । उहाँलाई पार्टीका कुनै पनि कमिटीप्रति विश्वास नै छैन ।’

सर्वदलीय बैठक नै आवश्यक : प्रचण्ड

अध्यक्ष प्रचण्डले मुलुकमा देखिएका केहि गम्भीर समस्याका विषयमा जनआन्दोलन र संविधान निर्माणमा सहभागी राजनीतिक दलहरुको एक सर्वदलीय बैठक आयोजना गर्नुपर्ने समेत बताएका छन् ।

अहिले कोरोना महामारीको कारण उत्पन्नल संकटदेखि सडकमा अहिले संविधानका मुलभूत विषयकै विरोधमा भइरहेको विरोधबारे छलफल गर्न सर्वदलीय बैठक आवश्यक देखिएको उनले बताएका हुन् ।

‘गणतन्त्र र संघीयताको विरोधमा सडकमा भैरहेको प्रदर्शनको विषयमा बैठकमा कुरा उठेपछि प्रचण्डले जनआन्दोलन र संविधान जारी गर्ने दलहरुको बैठक राख्ने बताउनु भयो,’ बैठकमा सहभागी एक स्थायी कमिटी सदस्यले भने, ‘ठ्याक्कै मिति नभने पनि अर्को स्थायी कमिटीको बैठकअघि नै यस्तो बैठक गरिने उहाँको आशय थियो ।’

बैठकमा स्थायी कमिटी सदस्य जनार्दन शर्माले सडकमा गणतन्त्रको विरोधमा भैरहेको आन्दोलनको विषयमा छलफल हुनुपर्ने र बैठकले भर्त्सना गर्नुपर्ने माग राखेका थिए ।

तर अन्य सदस्यहरुले भने अहिले भइरहेको सडक आन्दोलनलाई धेरै महत्व दिन आवश्यकता नरहेको बताएका थिए ।


कस्तो लाग्यो ?

यो पनि