प्रधानमन्त्रीसमेत रहेका सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी बैठकमा आफू उपस्थित हुन नसक्ने जानकारी पत्रमार्फत पठाएका छन् । कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रस्तावमाथि औपचारिक रूपमा छलफल गर्न नसकिने उल्लेख गर्दै अध्यक्ष ओलीले पत्र पठाएका हुन् ।
अध्यक्ष ओलीको उक्त पत्र सचिवालय सदस्य ईश्वर पोखरेलले पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको स्थायी कमिटी बैठकमा वाचन गरेर सुनाएका थिए । पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले अध्यक्ष ओलीले बैठकलाई सम्बोधन गरेर आफ्नो अनुपस्थितिको कारण देखाउँदै पत्र पठाएको जानकारी दिए ।
‘बैठकको सुरुमै सचिवालय सदस्य ईश्वर पोखरेलले उक्त पत्र वाचन गरेर बैठकलाई जानकारी गराउनुभयो । अध्यक्ष ओलीले अध्यक्ष प्रचण्डको प्रस्तावलाई औपचारिक रूपमा बैठकमा छलफल गर्न नसकिने धारणा रहेको र त्यसै कारणले आफू बैठकमा नआएको उल्लेख गर्नुभएको छ,’ प्रवक्ता श्रेष्ठले भने । प्रधानमन्त्री ओलीले लेखेको पत्रमा पार्टीका पार्टी गम्भीर सङ्कटमा रहेको र विभाजन उन्मुख रहेको उल्लेख छ ।
ओलीले पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाललाई लक्षित गर्दै पत्रमा भनेका छन् ‘खेलको अन्तिमतिर आएर गर्न खोजिएको यो नियम परिवर्तन नैतिकता र राजनीतिक दृष्टिले गलत मात्रै होइन विभाजनकारी समेत छ, भन्ने कुरा म स्पष्ट पार्न चाहन्छु । आज पनि म दोहोर्याउन चाहन्छु - महाधिवेशनसम्मका लागि अन्तरिम हैसियतमा बनेका र महाधिवेशन सम्पन्न गर्नुपर्ने मुख्य दायित्व बोकेको हाम्रो कमिटीहरू त्यसै अनुरूप सहमतिको आधारमा चल्नुपर्छ ।’
त्यसपछि कार्यकारी अध्यक्ष प्रचण्डले बैठकमा बोलेका थिए । उनले पार्टी सङ्कटमा रहेको बताएका थिए ।
यस्तो छ प्रधानमन्त्री ओलीले लेखेको पत्रको पूर्ण पाठ