रोल्पा । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य वर्षमान पुनले दोस्रो पुस्ता पार्टी तथा सरकार चलाउन सक्षम रहेको बताएका छन् ।
ऊर्जामन्त्री समेत रहेका पुनले दुवै अध्यक्षहरु पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्री केपी शर्मा ओलीले औपचारिक रुपमा हट्ने निर्णय गरे दोस्रो पुस्ता पार्टी तथा सरकार चलाउन सक्षम रहेको बताएका हुन् ।
रोल्पा नगरपालिका–३ लाँकुरीमा ३३र११ केभी सबस्टेशनको उदघाटन कार्यक्रमलाई सोमबार बिहान सम्बोधन गर्दै मन्त्री पुनले यस्तो अभिव्यक्ति दिएका हुन् ।
‘पार्टीका दुवै अध्यक्ष तथा प्रधानमन्त्रीले पनि छाड्छु भन्नुहोस् । हामी दोस्रो पुस्ताका दुवै पद लिन र चलाउन सक्षम र तयार छौँ’, पुनले भने, ‘तर यो विषय आवेश र उत्तेजनाको आधारमा नभई पार्टीको विधि र प्रक्रियागत रुपमा औपचारिक रुपमा निर्णय हुनुपर्छ ।’
हाल नेकपाभित्रको पछिल्लो बहसले सिंगो देशको राजनीति नै प्रभावित भएको जस्तो देखिएको भन्दै उनले यसबाट पार्टी एकता कमजोर नहुने दाबी गरे । यसले एकतालाई झन् बलियो बनाउने उनको विश्वास छ ।
सत्तारुढ दल नेकपाभित्र शक्तिसंघर्ष तथा विवाद बढ्दै गर्दा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व दोस्रो पुस्तामा हस्तान्तरण गर्ने बताउँदै आएका छन् ।
यसअघि पनि महासचिव विष्णु पौडेलले सचिवालयको अहिलेको विवादको कारण भएको भन्दै सबैले राजीनामा दिएर नयाँ पुस्तामा जानुपर्ने बताएका छन् ।
कार्यक्रममा ऊर्जामन्त्री पुनले नेकपाभित्र देखिएको विवादको प्रति देशभर नै चासो रहेको बताए ।
‘नेकपा विभाजित हुन्छ र देशमा फेरि राजनीतिक रुपमा अस्थिर हुन्छ कि चित्ता छ । सत्तारुढ दलभित्र विवाद भएको कारण चासो पनि छ’, पुनले भने, ‘त्यस्तो अवस्थामा आउन नदिनका लागि हामी सबैले प्रयास गरिरहेका छौँ ।’